खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याइएको छ। कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणका लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो।
सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो।
गत आर्थिक वर्षमा विनियोजित १८ लाख ४४ हजार रुपैयाँ र चालु आव २०८०/८१ मा विनियोजन गरिएको १९ लाख ९४ हजार ८३१ रुपैयाँ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। यससँगै नगरपालिका भित्रका कृषकले उत्पादन गरेका कृषिउपज कृषि मार्टमा लगेर बिक्री गर्नेछन्।
केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो। सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषिउपज कृषि मार्टमा बिक्री हुने बताइएको छ।
कृषकले उत्पादन गरेर ल्याएका कृषिउपज संकलन गरेर बिक्री गर्नसमेत सुरु गरिएको छ। कृषकले आलु, साग, धनियाँ, कोभी, मुलालगायत तरकारी बिक्री गर्न कृषि मार्टमा ल्याएका थिए।
आफूले उत्पादन गरेर ल्याएको कृषिउपज एकै ठाउँमा बिक्री गर्न पाउँदा खुसी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताइन्। (रासस)
प्रतिक्रिया