संसदले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

संसदले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छः अध्यक्ष तिमिल्सिना


काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले प्रश्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताएका छन् ।

शुक्रबारको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले सरकारले संसदले प्रस्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्न नहुने बताए।

अध्यक्ष तिमिल्सिनाले सरकारले आर्थिक अवस्थालाई ध्यान दिने हो भनेपनि संसदसँग सल्लाह र छलफल गरेर सहमतिका आधारमा केही तलमाथि गर्न सकिने स्पष्ट पारे । उनले अरु सबै प्रक्रिया रोक्नसके पनि संसदीय प्रक्रियालाई रोक्न नमिल्ने भएकाले सरकारले संसदको बजेट प्रश्तावअनुसार विनियोजित गर्नुपर्ने बताए। अध्यक्ष तिमिल्सिनाले कर्मचारीहरुले बढी समय काम गरेको कुरालाई पारिश्रमीकमा नियन्त्रण गर्नु नहुने भनाइ राखे ।

उनले भने , ‘हाम्रो जोड जहिले पनि के हो भने संसदले प्रश्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छ । उसले सिलिङ भनेर तोक्ने होइन । सरकारको अहिलेको आर्थिक अवस्थाले कमी हुन्छ भने बसेर केही तलमाथि गर्न सकिन्छ । छलफल गरेर मात्रै । अरु सबै कुरा रोकेर पनि संसदीय प्रक्रिया रोक्न सकिँदैन । पैसा पुगेन विधेयक निर्माण प्रक्रिया रोकौँ भनेर सम्भव हुँदैन । त्यसैले सडक बरु घटाउन सकिन्छ, खानेपानीका योजनाहरु केही कम गर्न सकिन्छ । अर्को वर्ष गर्न सकिन्छ । तर संसदका गतिविधि घटाउन सकिँदैन । विधेयक पास गर्नेकुरा कम गरौँ भनेर हुँदैन । यहाँका लागि बजेट आवश्यक हिसावले गर्नुपर्छ । रातदिन काम गर्दा कर्मचारीले पाउने सेवा सुविधा नियन्त्रण गर्नु हुँदैन । ओभर टाइम काम हुन्छ भने त्यो अनुसारको पारिश्रमीक दिनुपर्छ । हामीले प्रयास गरिरहेका छौँ । आगामी बजेटबाट त्यो पूरा होला ।’

मन्त्रीहरुले दिएका आश्वासन मन्त्रीहरुलाई स्मरण गराउन समिति जागरुक हुनुपर्ने बताए। (न्युज एजेन्सी नेपाल)