व्यवस्थित शहरीकरण आयोजना बनाउन विदेशी लगानीकर्ता ल्याउने वातावरण बनाउनुपर्छः अध्यक्ष लोहनी

व्यवस्थित शहरीकरण आयोजना बनाउन विदेशी लगानीकर्ता ल्याउने वातावरण बनाउनुपर्छः अध्यक्ष लोहनी

लगानी सम्मेलनका लागि भेषराज लोहनीका ५ सुझाव


काठमाडौं– नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले लगानी सम्मेलनमा व्यवस्थित शहरीकरण आयोजनामा विदेशी लगानी आउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष लोहनीले मुलुकभित्र व्यवस्थित शहरीकरण योजनामा स्वदेशी लगानी कम हुने भएकोले विदेशी लगानी आवश्यक रहेको बताएका हुन् ।

आगामी लगानी सम्मेलनमा व्यवस्थित शहरीकरणका आयोजनाहरु प्रश्तुत गर्न आवश्यक रहेको समेत उनले बताए । लोहनीले व्यवस्थित शहर बनाउने विदेशी लगानीमैत्री वातावरण नभएको भन्दै लगानीमैत्री वातावरण बनाउने गरी सरकारले तयारी गर्नुपर्ने सुझाव दिए । विदेशी र स्वदेशी लगानीकर्ताले ठूला शहरीकरण आयोजनाहरुमा लगानी गर्ने वातावरण बनाउन नीतिगत व्यवस्थाको खाँचो रहेको उनले बताए ।

अध्यक्ष लोहनीले नेपालमा हदबन्दीको समस्या जटिल रहेको भन्दै व्यवस्थित शहरीकरणको लागि हदबन्दी छुट दिने व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिए।उनले विदेशीहरुलाई नेपालमा अपार्टमेण्ट खरिद गर्ने व्यवस्थाबारे नेपाल सरकारको प्रतिवद्धता छिटो पूरा गर्न आग्रह गरे । अध्यक्ष लोहनीले ठूला–ठूला ल्याण्ड पुलिङका आयोजनाहरु निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुलाई सहभागिता जनाउने वातावरण बनाउन आवश्यक रहेको धारणा राखे। उनले टुक्रे आयोजनाहरुले मात्रै व्यवस्थित शहरीकरण हुन नसक्ने भन्दै ठूला शहरहरु बनाउन आवश्यक रहेको बताए । उनले यस्ता आयोजनाहरु लगानी सम्मेलनमा प्रस्तुत गर्दा मात्रै विदेशी लगानीकर्ता आकर्षित हुनसक्ने दाबी गरे ।


अध्यक्ष लोहनीले लगानी सम्मेलनका लागि दिएका सुझावः

१. लगानी सम्मेलन गर्नु मात्रै ठूलो कुरा होइन । मुलुकभित्र विदेशी लगानी गर्ने वातावरण सिर्जना गर्ने,नेपाली लगानीकर्ता र घरजग्गा डेभलपरहरुलाई पनि कसरी विकास गर्ने र ठूला आयोजना,व्यवस्थित शहर कसरी बनाउन सकिन्छ भन्ने विषयमा सरकारले नीतिहरु बनाउन जरुरी छ ।


२. नेपालमा हदबन्दीको समस्या जटिल छ । तराईमा ११ बिगाह,पहाडमा ७५ रोपनी र काठमाडौं उपत्यकामा ३० रोपनीसम्मको व्यवस्थाले ठूला शहरहरु बन्ने अवस्था छैन । व्यवस्थित शहरीकरणको लागि हदबन्दी छुट दिने व्यवस्था गर्नुपर्छ ।


३.विदेशीहरुलाई अपार्टमेण्ट खरिद गर्ने व्यवस्था गर्ने पटक–पटक नेपाल सरकारले घोषणा गरेको छ । त्यसलाई पनि कार्यान्वयनको लागि ऐनको रुपमा आउन सकेको छैन । यो ऐन बनाउने प्रतिवद्धता गर्न आवश्यक छ ।


४. ल्याण्ड पुलिङको क्षेत्रमा ठूला–ठूला ल्याण्ड पुलिङका आयोजनाहरु निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुलाई गर्न नदिने हो भने साना टुक्रे आयोजनाहरुमा विदेशी लगानीको लागि आकर्षित हुँदैनन् । टुक्रे आयोजनाहरुले मात्रै व्यवस्थित शहरीकरण हुन सक्दैन । ठूला शहरहरु बनाउन आवश्यक छ । सरकारले आयोजनाहरु मात्रै घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था रहँदै आएको छ । ती आयोजनाहरुमा लगानी गर्ने वातावरण नबनेको कारणले गर्दा विदेशी र स्वदशी लगानीकर्ताहरु ठूला आयोजना बनाउन नसक्ने परिस्थिति छ । यसमा पनि नीतिगत र कानूनी व्यवस्था गर्न आवश्यक छ ।


५. भूमि सम्बन्धि ऐनहरुमा विभिन्न आयोजनाहरुमा गुठी जग्गा,मोही बाँडफाँडको समस्या,दर्ता छुटका समस्याहरु छन् । ठूला आयोजना सञ्चालन गर्नको लागि सहज रुपमा दर्ताको व्यवस्था गर्न आवश्यक छ । विदेशी लगानीमा बनाउने आयोजनाहरुमा जग्गा सम्बन्धि मुद्दा नपर्ने परिस्थिति सरकारले बनाउनुपर्छ ।