ग्रेडअनुसार तोकियो खेलाडीको तलब, कुन ग्रेडकाले कति पाउने ?

ग्रेडअनुसार तोकियो खेलाडीको तलब, कुन ग्रेडकाले कति पाउने ?


काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्र्याक्ट) मा ३० जना खेलाडी समेटेको छ । जसअन्तर्गत खेलाडीलाई विभिन्न ग्रेडमा विभाजन गरिएको छ । ग्रेडअनुसार खेलाडीको तलब समेत तोकिएको छ ।

क्यानको सोमबार बसेको बैठकले क्रिकेट खेलाडीको वर्गीकरण गर्दै नयाँ तलबमान तोकेसँगै शीर्ष ग्रेडका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ तलब पाउने भएका छन् । एक लाख तलब पाउने खेलाडीमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् ।

ग्रेड बीमा परेका खेलाडीले मासिक रु. ७० लाख पाउने छन् । ७० लाख पाउने खेलाडीको सूचिमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहोरा परेका छन् । ग्रेड सीमा भने विनोद भण्डारी परेका छन् । उनीसँगै अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसीलाई पनि ग्रेड सीमा राखिएको छ । उनीहरुको मासिक तलब रु. ५५ हजार रहेको छ ।

यसैगरी ग्रेड डीका खेलाडीले रु. ३५ हजार मासिक पाउनेछन् । जसमा पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ परेका छन् ।

क्यानले इमर्जिङ क्याटगरी पनि बनाएको छ । जसमा कोशी प्रदेशबाट दिपेश कँडेल, मधेशबाट रुपेश सिंह, बागमतीबाट रिजन ढकाल, गण्डकीबाट विपिन खत्री, लुम्बिनीबाट देव खनाल, कर्णाली प्रदेशबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्त धामी रहेका छन् । यी खेलाडीहरुका लागि मासिक २५ हजार छुट्याइएको छ ।

खेलाडीहरु विभागमा जाने क्रम बढेकाले प्रदेशलाई बलियो बनाउन इमर्जिङ क्याटगरी छुट्याइएको हो । यस्तै पछिल्लो एक वर्षमा गरेको प्रदर्शन, प्रशिक्षक तथा टिम म्यानेजरको मूल्यांकन लगायतका आधारमा खेलाडीहरुको ग्रेडिङ गरिएको क्यानले बताएको हो ।