काठमाडौं – नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एकै व्यक्ति वा समूहको बैङ्क वित्तीय संस्थामा स्वामित्व र व्यवसायी हुँदा अर्थतन्त्र धराशायी बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न–उत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गर्दै सचिव विष्टले सो विषय उठान गरेका हुन् ।
मुलुकमा एउटा मात्र पारिवारिक समूहको स्वामित्वमा बैङ्क, बिमालगायत वित्तीय संस्था रहने र त्यही समूह नै आयात व्यापार, उद्योग, घरजग्गा, धितोपत्र कारोबारको काम गर्दा ऋणको हिस्सा एकै ठाउँमा केन्द्रित हुने उनको भनाइ छ । सचिव विष्टले प्रधानमन्त्रीलाई जिज्ञासा गर्दै भने, ‘एक अमुख पारिवारिक स्वामित्वमा सबै कायम रहँदा निक्षेपकर्ताको निक्षेप डुब्ने, अन्य लगानीकर्ताले लाभांश नपाउने, श्रमिकको रोजगारी गुम्ने र सरकारले राजस्व गुमाउने परिस्थिति बन्छ ।’
उनले यस्तो सम्भावित जोखिमबाट देशलाई जोगाउन आगामी दिनमा सरकारले कस्तो कदम चाल्दैछ ? जिज्ञासा राखे । उनले मुलुकको समग्र आर्थिक क्रियाकलाप बहुसङ्ख्यक जनताको सहभागिता र हिस्सेदारी वृद्धि गर्न तथा संविधानको मर्म र भावनाअनुरूप समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
अर्थतन्त्रमा सीमित पारिवारिक समूहको केन्द्रीकरणलाई निरन्तरता दिएर सामाजिक न्यायसहितको आर्थिक समृद्धि प्राप्त गर्न र समतामूलक समाज निर्माण गर्ने संविधानको सङ्कल्प पूरा नहुने उनले बताए ।
प्रतिक्रिया