वित्तीय अपराधहरूको घटना कम गराउन सकिएन भने ठूलो दुर्घटना निम्तन सक्छ : डिसीईओ रेग्मी

वित्तीय अपराधहरूको घटना कम गराउन सकिएन भने ठूलो दुर्घटना निम्तन सक्छ : डिसीईओ रेग्मी


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पवन रेग्मीले वित्तीय साक्षरतामा वित्तीय अपराधहरुको घटना कम गराउन सकिएन भने ठूलो दुर्घटना निम्त्याउने बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को दोस्रो सत्र ‘वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’ लाई सम्बोधन गर्दै उनले वित्तीय अपराधका घटनाहरु न्यूनिकरणका लागि सम्पूर्ण सरोकारवाला एक हुनुपर्ने बताएका हुन्।

‘पछिल्लो समय डिजिटल प्रडक्टहरुबाट जुन कारोबार भइरहेको छ त्यसमा वित्तीय साक्षरताको कमीले गर्दा ओटीपी शेयर गर्न हुँदैन भन्ने कुरा जानकारी नहुँदा ठगीमा पर्ने गरेको देखिन्छ’ उनले भने, ‘यस्ता घटनाहरु बढेपछि बैंकहरुले कसरी मिलाउने त भनेर विभिन्न किसिमका च्यानलहरुको प्रयोग गर्दै आएका छौं ।’ उनले ओटीपी शेयर गर्नुहुँदैन बैंकले कहिल्यै पनि कसैको पनि ओटीपी माग्दैन तपाईले ओटीपी दिनुपर्दैन भन्ने कुराहरु मिडियामार्फत सचेत गराएको जानकारी गराए । उनले आफुपनि सचेत हुनुपर्ने कुराहरु पनि ग्राहकहरुलाई सचेत गराउँदै आएको बताए ।

डिसीईओ रेग्मीले सामान्य रुपको वित्तीय साक्षरता ग्रामीण लेभलमा जानुपर्ने बताए। उनले राष्ट्रिय वाणिज्य बैंकले ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रमहरु गर्ने गरेको बताए। उनले वित्तीय साक्षरता कार्यक्रम निरक्षर व्यक्तिलाई मात्रै प्रदान गर्नुपर्दछ भन्ने खालका भ्रम तत्काल चिर्नुपर्ने बताए। उनले वित्तीय साक्षरता हरेक लेभलमा मानिसलाई आवश्यक पर्ने बताए । डिसीईओ रेग्मीले सरकारलाई वित्तीय साक्षरता आवश्यक छ भन्ने महशुस भएपछि मात्रै सहजै अगाडी बढ्ने धारणा राखे ।

उनले वित्तीय साक्षरता र आर्थिक समृद्धिबिच प्रत्यक्ष सम्बन्ध हुने उल्लेख गर्दै वित्तीय रुपमा साक्षर व्यक्तिले जसरी आफ्नो कर्म गर्न सक्छ त्यो वित्तीय रुपमा साक्षर नभएको व्यक्तिले गर्न नसक्ने बताए । उनले विकसित देशहरुमा वित्तीय साक्षरताको दर बढि भएको बताउँदै वित्तीय साक्षरताका कारण त्यहाँको अर्थिक उन्नती प्रगति भएको दावी गरे । डिसीईओ रेग्मीले नेपाल र अन्य विकसिल देशलाई दाज्ने हो भने नेपालमा वित्तीय साक्षरताको दर पनि कम भएको र आर्थिक विकास पनि कम भएको बताए । उनले कुनैपनि देश माथि जान त्यहाँको नागरिकले गर्ने कर्म, संस्थाले गर्ने कर्म, नीति निर्माताहरुले गर्ने कर्मले त्यस देशको अर्थतन्त्र बलियो हुने उल्लेख गरे । उनले साक्षर व्यक्तिले वित्तीय रुपमा सक्षम बनाउँछ भनेर भरोसा गर्न नसक्ने बताए । उनले साक्षर सँगसँगै वित्तीय साक्षरतालाई प्रमुख मापदण्डको रुपमा लिनुपर्ने बताए ।

वित्तीय साक्षरताका कार्यक्रमहरु ऋभियानका रुपमा सञ्चालन गर्नुपर्ने उनको बुझाई छ। डिसीईओ रेग्मीले बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नो ढंगबाट वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउँदै अन्य देशमा झै नेपालमा पनि वित्तीय साक्षरताका सरोकारवाला निकायहरु बिच सम्बन्वय गरेर काम गर्नुपर्ने बताए । यसो गरेमा आर्थिक गतिविधी बढाउन सकिने उनको धारणा छ ।