आज सम्म पनि नसाटिएका कतारी रियाल,भारतीय पाँच सय र हजार दरका नोट कागजको खोष्टामा परिणत हुँदै

आज सम्म पनि नसाटिएका कतारी रियाल,भारतीय पाँच सय र हजार दरका नोट कागजको खोष्टामा परिणत हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।
सोमबार (आज)सम्म पनि नसाटिएका कतारी रियाल नोट,भारतीय पाँच सय र हजार दरका नोट कागजको खोष्टोमा परिणत हुने भएका छन् । हाल चलनचल्तीमा रहेका चौथो संकरणका कतारी रियाल नेपालमा बैशाख २७ गतेदेखि नचल्ने नेपाल राष्ट्र बैंकले जनाए अनुसार सोमबारसम्म पनि नसाटिएका त्यस्ता नोट पुराना दरका भारतीय पाँच सय र हजार दरका नोट जस्तै कागजी खोष्टा हुने भएका हुन् ।

केन्द्रिय बैंकले २० दिनअघि परिपत्र जारी सबै नागरिकलाई आफसँग भएको कतारी रियाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्ती संस्था र मनिचेञ्जरमा बैंशाख २० गतेसम्म सटही गरिसक्न भनेको थियो । तर, सोमबारसम्म पनि सटही नगरी राखेका कतारी रियाल नोट अब काम नलाग्ने भएका हुन् ।

केन्द्रीय बैंकले कतारमा गएर फर्केका नेपालीहरुसँग ठूलो परिणाममा त्यस्ता नोटहरु रहेको आंशका गर्दै आएपछि साट्न समय दिएको हो ।

कतारी सरकारले पाँचौं संस्करणका कतारी रियाल निष्कासन गर्ने तयारी गरिरहेको र चौथो संस्करणका रियाल नोट नचल्ने भएकाले नेपालमा रहेका त्यस्ता नोट जम्मा गरेर पठाउन लागिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।

‘कतारले हाल चलनचल्तीमा रहेका रियाल चौथो संस्करणका नोट चलन चल्तीबाट हटाइने भएको छ,’ उनले भने, ‘अब पाँचौं संस्करणका नयाँ रियाल निष्कासन गर्न कतारी सरकारले पत्राचार गरे अनुसार राष्ट्र बैंकले २० दिन अघि यस्तो सूचना जारी गरेका थियोे ।’

केन्द्रीय बैंकले सोमबारसम्म अर्थात बैशाख २७ गतेसम्म आफुसँग भएका सबै कतारी नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने प्रादेशिक कार्यालयहरु र विदेशी विनिमयको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्ने मनिचेञ्जरहरुबाट सटही गर्न आग्रह गरेका थियो ।

सोमबारसम्म नसाटिएका चौथो संस्करणका कतारी रियाल पुराना भारतीय पाँच सय र हजार दरका नोट सरह कागजी खोष्टोको रुपमा रहने छन ।

साढे चार वर्षदेखि केन्द्रीय बैंकमा थन्किएका प्रतिबन्धित भारु नोट अहिले राख्नु कि फाल्नुको अवस्थामा रहेका छन् । नेपाल राष्ट्र बैंकमा थु्रप्रिएर रहेका प्रतिबन्धित भारु नोट सटही हुन सकेका छैनन् । प्रतिबन्धित भारु नोट कागजी खोष्टा सरह भएका छन् ।

नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत पटकपटक प्रयास भए पनि भारतीय पक्षले महत्व नदिए पछि ती नोट नसाटिएका हुन । नेपालमा करिब ८ करोड रुपैयाँ बराबर प्रतिबन्धित भारु नोट रहेका छन ।

पछिल्ला महिनाहरुमा भारतीय पक्षले नोट सटही सम्बन्धी कुरा सुन्नै छोडेकाले नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना नभएको जानकारहरु बताउँछन् । नेपाल सरकारले प्राथमिकताका साथ पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रुपमा रहेका भारु पनि साट्न नसकिएको उनीहरूको भनाइ छ  ।

भारतका लागि नेपालजस्तै छिमेकी राष्ट्र भुटानमा रहेको भारु नोट सटही भइसक्दा पनि नेपालमा रहेको नोट साट्न नमानेकाले साटिने सम्भावना छैन् । भारत सरकारले प्रतिव्यक्ति २५ हजारका दरले भुटानमा रहेको भारु पाँच सय र हजार दरका नोट सटही गरिदिएको थियो  ।

भारत सरकारले ०७३ कार्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो  ।

त्यसबेलादेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् । राष्ट्र बैंकका अनुसार नेपालको वित्तीय प्रणालीमा करिब ५ करोड भारु पाँच सय र हजार दरका नोट छन् । यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन  ।

यसअघि राष्ट्र बैंकले रुपैयाँ नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु पाँच सय र हजार दरका नोट रहेको बताएको थियो  ।

भारतले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको भोलिपल्टै राष्ट्र बैंकले ती दरका नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको थियो । त्यसपछि प्रतिबन्धित भारु नोट साटन भारतसँग निरन्तर आग्रह गरिएको थियो । ती सबै प्रयासहरु बिफल भएका छन् ।

नोट सटहीका लागि नेपाली टोली एकपटक भारत गएको थियो भने भारतीय टोली दुईपटक नेपाल आएर वस्तुस्थिति बुझेर गएको थियो । पछिल्लोपटक नेपाल आएको भारतीय टोलीले बैंकिङ प्रणालीमा रहेको सबै र प्रतिव्यक्ति साढे ४ हजारका दरले सर्वसाधारणसँग रहेको भारु साट्न सकिने प्रस्ताव गरेको थियो  ।

सर्वसाधारणलाई प्रतिव्यक्ति भारु २५ हजारसम्म सटही सुविधा रहेकाले त्यति नै भारु साटिदिनुपर्ने अडान त्यतिबेला राष्ट्र बैंकले राखेको थियो  । तर, राष्ट्र बैंकको प्रस्ताव अस्वीकार गर्दै साढे ४ हजारका दरले साट्न मन्जुर भए जानकारी पठाउनु भन्दै फिर्ता भएको थियो  ।

त्यसपछि राष्ट्र बैंकले प्रतिव्यक्ति साढे ४ हजारका दरले नोट सटहीको अनुमति माग्दै सरकारलाई पत्र पठायो  । तर, भारतीय पक्षले जवाफ पठाउन दिएको मिति सकिएपछि मात्र सरकारले अनुमति दियो  । सरकारबाट अनुमति आएपछि राष्ट्र बैंकले फेरि भारतलाई पत्र पठायो  । मिति सकिएको भन्दै भारतले हालसम्म पनि राष्ट्र बैंकको पत्रको जवाफ पठाएको छैन  ।

प्रतिबन्धित नोट सहटी गर्ने सम्बन्धमा प्रधानमन्त्री, मन्त्री र दुवै देशका केन्द्रीय बैंकका प्रतिनिधिबीच छलफल, संवाद र पत्राचार भएपनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन् । साढे चार बर्षसम्म प्रतिबन्धित नोट नसाटिनु भनेको ती नोट खोष्टामा परिणत भएको बिज्ञहरुको भनाइ छ ।