कोभिड संक्रमणले बैंकिङ क्षेत्र प्रभावित, ठाउँठाउँमा सेवा बन्द

कोभिड संक्रमणले बैंकिङ क्षेत्र प्रभावित, ठाउँठाउँमा सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।
कोभिड १९ को दोस्रो लहरका कारण सिर्जित निषेधाज्ञा दोस्रो सातामा चलिरहँदा बैंकिङ सेवा पनि दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । निषेधाज्ञाको अवधिमा पनि अत्यावश्यक सेवाका रूपमा सञ्चालन अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरूको सेवा औसतमा एकचौथाइभन्दा कममा खुम्चिसकेको छ भने कतिपय जिल्लाहरूमा ठप्प भएको छ ।

नेपाल राष्ट्र बैंकले यथासम्भव कम कर्मचारीको उपस्थितिमा सकेसम्म कम शाखामार्फत वित्तीय सेवा दिन निर्देशन गरिसकेको छ । शाखा कार्यालयमा बढीमा २५ प्रतिशत र केन्द्रीय कार्यालयको हकमा बढीमा २० प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित भएर पूर्ण स्वास्थ्य सावधानीका साथ सेवाप्रवाह गर्न राष्ट्र बैंकको निर्देशन छ । बैंकवित्त र सेवाग्राही दुवैले सकेसम्म विद्युतीय कारोबारमा जोड दिन राष्ट्र बैंकको अनुरोध छ । तर, बैंकका शाखाहरू २५ प्रतिशत कर्मचारीबाट सञ्चालन गर्न सकिने अवस्था छैन ।

निषेधाज्ञाको पहिलो साता करिब ५० प्रतिशत कर्मचारीको उपस्थितिमा प्रायः शाखामार्फत सेवा दिएका बैंकहरूले दोस्रो सातादेखि सेवालाई निकै सीमित बनाएका छन् । बैंकहरूले धेरैजसो शाखाहरू साताको एक दिन मात्र खोल्ने तालिका निर्धारण गरेका छन् । प्रमुख स्थानहरूका शाखाहरूको हकमा सातामा ३ दिन खोल्ने नीति लिइएको छ । सेवाप्रवाह हुने समयमा पनि बैंकहरूबीच एकरूपता देखिएको छैन । कुनै बैंकले १० बजेदेखि २ बजेसम्म त कुनैले १ बजेसम्म सेवाप्रवाहको अवधि तोकेका छन् ।

अधिकांश शाखा साताको एक दिन मात्र खुला
बैंकहरूले काठमाडौं उपत्यकाबाहिरका जिल्लाहरूमा सञ्चालित अधिकांश शाखा साताको एक दिन मात्र खोल्ने सेड्युल बनाएका छन् । ठूला व्यापारिक केन्द्र नरहेका अधिकांश जिल्लामा प्रायः बैंकले यही रणनीति अपनाएको पाइएको छ । उपत्यकाकै पनि धेरै शाखाहरू साताको एक दिन मात्र खोल्ने तालिका बैंकहरूको छ । सेवाग्राहीको बढी चाप हुने गरेका प्रमुख शाखाहरू भने साताको तीन दिनसम्म खोल्ने तालिका छ ।

बैंकका कतिपय शाखा भने कर्मचारीहरूमा संक्रमण फैलिएका कारण बन्द गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ । समग्रमा बैंकहरूले यतिवेला एकचौथाइभन्दा कम शाखाहरूमार्फत सेवाप्रवाह गरिरहेका छन् । यद्यपि, कुनै बैंकले निकै कम शाखा खोलेका छन् भने कुनैले धेरै शाखा खोलेको पाइएको छ । उदाहरणका लागि सरकारी बैंकमध्ये नेपाल बैंक लिमिटेडले निकै कम शाखा खोलेको छ भने राष्ट्रिय वाणिज्य बैंकले तुलनात्मक रूपमा धेरै शाखामार्फत सेवा दिइरहेको छ ।

ठाउँठाउँमा सेवा बन्द वा अति सीमित
कोभिडको अतिसंक्रामक दोस्रो लहर देशैभर फैलिएका कारण देशको कतिपय भागमा बैंकिङ सेवा बन्दप्रायः अवस्थामा पुगेका छन् । निषेधाज्ञाको सुरुवातमा बैंक तथा वित्तीय क्षेत्रलाई यथासम्भव सीमित कर्मचारीमार्फत सम्पूर्ण सेवाका लागि अनुमति दिइए पनि संक्रमण बढ्दै गएपछि कडाइ गर्न थालिएको छ । यतिवेला देशका सबै भागमा बैंकिङ सेवा सीमित हुँदै गएका छन् भने कतिपय स्थानमा बन्दकै अवस्था सिर्जना भएको छ ।

संक्रमणको जोखिम उच्च भएका स्थानहरूमा स्थानीय प्रशासनहरूले एकजना मात्र प्राविधिक कर्मचारीको उपस्थितिमा बैंकिङ सेवा दिन अनुमति दिइरहेका छन् । कतिपय बैंक शाखाहरू कर्मचारीमा संक्रमणका कारण अनिश्चित कालका लागि स्थगित भएका छन् ।

सुुदूरपूर्व (ताप्लेजुङ)
सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङमा कोरोनाको बढ्दो संक्रमणका कारण स्थानीय प्रशासनले बैंकिङ सेवामा कडाइ गरेको छ । फुङलिङ नगरपालिकामा संक्रमणका केस बढ्दै गएपछि २० वैशाखदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । संक्रमणको जोखिम उच्च भएसँगै प्रशासनले बैंक तथा वित्तीय संस्थालाई एकजना मात्र प्राविधिक जनशक्तिको उपस्थितिमा सेवा दिन पाउने गरी सेवालाई सीमित गरेको जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जानकारी दिनुभयो ।

‘यहाँ संक्रमणको अवस्था भयावह छ, सानो ठाउँमा संक्रमितको संख्या एक सय नाघिसकेको अवस्था छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूलाई एकजना मात्र कर्मचारी राखेर सीमित सेवा दिन प्रशासनले निर्देश गरेको छ ।’

प्रायः बैंक तथा वित्तीय संस्थाका शाखाहरू साताको एक वा दुई दिन मात्र खुल्ने गरी सञ्चालन भइरहेको मादेनले जानकारी दिनुभयो । संक्रमणका प्रायः सबै केस फुङलिङ नगरपालिकाभित्रै रहेको उहाँको भनाइ छ ।

पश्चिम तराई (रूपन्देही र कपिलवस्तु)
पश्चिम तराईका जिल्लाहरूमा पनि संक्रमण बढ्दै गएपछि निषेधाज्ञामा थप कडाइ गरिएको छ, फलस्वरूप बैंकिङ सेवा प्रभावित बनेको छ । रूपन्देहीमा पनि बैंकिङ सेवा ताप्लेजुङकै जस्तो अवस्थामा छ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेसँगै बैंकिङ सेवालाई सीमित गरिएको हो । बैठकले बैंकहरूमा एक–एक जना प्राविधिक जनशक्तिबाट मात्र सेवाप्रवाह गर्ने गरी ३० वैशाखसम्मलाई बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि शुक्रबार (२४ वैशाख) देखि ३१ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएको छ । कोभिडको संक्रमण तथा जोखिम बढ्दै गएपछि नगरपालिकाले बैंकवित्त बन्द गरेको हो । नगरप्रमुख मंगलप्रसाद थारूले हालका लागि बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । एटिएमको प्रयोग तथा विद्युतीय कारोबार भने निर्देशनबमोजिम गर्न पाउने व्यवस्था नगरपालिकाले गरेको छ ।
कोरोनाको दोस्रो लहरमा संक्रमणको केन्द्रविन्दु सावित भएको मध्यपश्चिमको तराई भाग र सुदूरपश्चिममा पनि यतिवेला बैंकिङ सेवा प्रभावित छ ।

सुदूरपश्चिम (डोटी)
सुदूरपश्चिममा पनि बैंक तथा वित्तीय संस्थाहरू बढ्दो कोरोना संक्रमणको चपेटामा आएका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको सिलगढीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ । बैंकमा कार्यरत एक कर्मचारीलाई कोभिडको संक्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब परीक्षण रिपोर्ट आउनेक्रममा रहेकाले शाखा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको जानकारी बैंकले सूचनामार्फत गराएको छ । बैंक बन्द हुँदा विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने स्थानीयलाई बढी मर्का परेको स्थानीय जनप्रतिनिधको भनाइ छ । समग्रमा संक्रमण दर पहिलेभन्दा उच्च रहेको कोभिडको नयाँ भेरियन्टयुक्त दोस्रो लहरका कारण देशैभर बैंक तथा वित्तीय संस्थाहरूको सेवा प्रभावित बन्न पुगेको छ ।

बैंकिङ कर्मचारीलाई पनि पास अनिवार्य, केन्द्रीय कार्यालयले मेल गरिदिन्छन् पास
निषेधाज्ञाको सुरुवातमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आफ्नो कार्यालयको पास देखाएर आवत–जावतमा छुट दिइएकोमा हाल पास अनिवार्य गरिएको छ । अकस्मात् व्यवस्थामा परिवर्तन गरिँदा बिहीबार कार्यालय हिँडेका कर्मचारीहरू बाटोमै रोकिएका घटना पनि भेटिए । कर्मचारीहरू बाटोमै रोकिँदा केही शाखाको सेवा अवरुद्ध भएको सूचना बाहिरिएको थियो । यद्यपि, कर्मचारीलाई पास उपलब्ध गराउने जिम्मा सम्बन्धित बैंकको केन्द्रीय कार्यालयलाई दिइएकाले शुक्रबार नै यो समस्या न्यूनीकरण भएको छ ।

बैंकिङ कर्मचारीलाई पास अनिवार्य गरिएपछि कार्यालय जानुपर्ने पालो परेका आफ्ना कर्मचारीहरूलाई केन्द्रीय कार्यालयहरूले इमेल गरेर पास पठाइदिने गरेका छन् । त्यसरी पठाइदिएको पासलाई प्रिन्ट गरेर सुरक्षाकर्मीलाई देखाएपछि हिँडडुलको अनुमति दिइने गरेको छ । अधिकांश कर्मचारीसित प्रिन्ट गर्ने सुविधा घरमा नभएकाले यो प्रक्रिया पनि त्यति सहज नभएको एक बैंकरले बताए । यस्तो अवस्थामा मोबाइलमा पास देखाएर पनि आवत–जावत भइरहेको उनको भनाइ छ ।