कोरोनाको सन्त्रास बोकेर ‘स्ट्यान्ड बाई’ बैंकिङ कर्मचारी

कोरोनाको सन्त्रास बोकेर ‘स्ट्यान्ड बाई’ बैंकिङ कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ समाचार ।
कोभिड १९ को अतिसंक्रामक दोस्रो लहरका कारण काठमाडौं उपत्यकालगायत देशका धेरै जिल्ला र सहरहरूमा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनमार्फत लगाइएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरूलाई निश्चित मापदण्डमा रहेर सेवाप्रवाहको अनुमति दिइएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको समयमा सकेसम्म कम जनशक्ति र शाखामार्फत सेवाप्रवाह गर्न बैंकवित्तलाई आइतबार निर्देशन दिइसकेको छ । यस सन्दर्भमा बैंकवित्तहरुले कसरी सेवा दिइरहेका छन् त ? हामीले बैंकवित्तका उच्चपदस्थ पदाधिकारीमार्फत नभई शाखामा खटिएको जनशक्तिमार्फत वास्तविक अवस्था पहिल्याउने प्रयास गरेका छौँ ।

बैंकमा करिब ५० प्रतिशत कर्मचारी परिचालन, सेवाग्राहीको संख्या न्यून
उपत्यकामा निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । गत साताको बिहीबारदेखि निषेधाज्ञाका बीच बैंकवित्तले चार दिन सेवा दिइसकेका छन् । सार्वजनिक तथा निजी यातायातका साधनहरू, प्रायः व्यापार–व्यवसाय तथा सर्वसाधारण सेवाग्राहीको हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको र विद्युतीय कारोबार तुलनात्मक रूपमा बढ्दै गएका कारण बैंकवित्तहरू खुले पनि सेवाग्राहीको खासै चाप भने देखिएको छैन । बढी चाप हुने शाखाहरूमा ४०–५० प्रतिशतजति सेवाग्राही आइरहेका छन् भने कुनै कुनै शाखामा यो संख्या १० प्रतिशतमा सीमित छ । साविकमा औसत डेढ सयभन्दा बढी ट्रान्जेक्सन हुने गरेको शाखामा सोमबार ८६ वटा ट्रान्जेक्सन भएको एक बैंकरले बैंकिङ खबरलाई बताए ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको एक शाखाबाट भने सोमबार साविकको तुलनामा करिब १० प्रतिशत मात्र सेवाग्राहीले सेवा लिए । ५० प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा सञ्चालन गरिएको उक्त शाखामा निषेधाज्ञापछि न्यून संख्यामा मात्र सेवाग्राही आउने गरेका छन् ।

‘सोमबार ६–७ वटा ट्रान्जेक्सन मात्र भएका छन्,’ शाखा प्रबन्धकले बैंकिङ खबरसित भने, ‘साविकमा औसत ७५ जनाले सेवा लिने गरेका थिए ।’ बैंकका कर्मचारीमा पनि कोभिडको संक्रमण बढिरहेकाले कर्मचारीहरु काम गर्न डराइरहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवाप्रवाह गर्न भनेको छ नि त ? भन्ने जिज्ञासामा ती शाखा प्रबन्धकले भने, ‘दुईजना मात्र ग्राहक आए पनि उहाँहरु कुन सेवाका लागि आउनुहुन्छ भन्ने निश्चित छैन । साविकका सबै सेवा सुचारु गर्नुपर्ने भएपछि साना शाखाहरुमा २५ प्रतिशत कर्मचारीले काम चलाउन सकिने अवस्था रहँदैन । जम्मा ७–८ जना कर्मचारी भएको शाखामा त्यसका लागि वैकल्पिक जनशक्ति उपलब्ध नै हुँदैन ।’

थोरै संख्यामै ग्राहकको उपस्थिति हुँदा पनि तोकिएका सबै सेवा दिनुपर्ने भएका कारण एकचौथाइभन्दा कम संख्यामा कर्मचारीको उपस्थितिमा सेवाप्रवाह गर्ने सरकारी नीति कार्यान्वयनमा ल्याउन भने बैंकवित्तलाई अप्ठ्यारो परिरहेको स्पष्ट देख्न सकिन्छ । धेरैजसो बैंकहरूले ५० प्रतिशतको संख्यामा कर्मचारी बोलाएर सेवा दिइरहेको पाइएको छ । कर्मचारीहरूलाई दुई समूहमा बाँडी एकदिन बिराएर पालो तोकिएको छ । कतिपय कर्मचारीलाई घरबाट काम गर्न लगाइएको छ, जुन प्रक्रियामा राष्ट्र बैंकले पनि जोड दिएको छ ।

लघुवित्तहरूले भने प्रायः सबै कर्मचारीलाई कार्यालयमा बोलाएको पाइएको छ, जबकि यस अवधिमा बैंकको तुलनामा लघुवित्तको बिजनेस ज्यादै न्यून छ । लघुवित्तको व्यवसायमा समूह बनाई नियमित मिटङ सञ्चालन गर्नुपर्ने तर निषेधाज्ञाले त्यसको सम्भावना नभएका कारण व्यवसाय प्रभावित भएको हो ।

वित्तीय सेवाको माग र वातावरण नहुँदा केवाइसी अपडेटमा लागे लघुवित्तहरू
बुटवलमा कार्यरत एक लघुवित्तकर्मीले हाल लघुवित्तको काम केवाइसी अपडेटमा सीमित भएको बताए । निषेधाज्ञाका कारण बिजनेस नभएको र कार्यालय बन्द गर्ने अनुमति पनि नभएकाले केवासी अपडेटको काम भइरहेको उनको भनाइ छ ।

‘हिजोआज हामी वित्तीय सेवाप्रवाहभन्दा पनि ग्राहकको केवासी अपडेटमा लागिरहेका छौँ,’ शाखा प्रबन्धकका रूपमा कार्यरत उनले भने, ‘हामीले फिल्डमा मिटिङ चलाउनका लागि कर्मचारी पठाएका छैनौँ र महामारीका कारण त्यसो गर्ने अवस्था पनि छैन । केही सेवाग्राही अफिसमै आउनुभयो भने सामाजिक दूरी कायम गरेर सेवा दिइरहेका छौँ । तर, त्यस्तो संख्या नगण्य छ ।’ यद्यपि, सेवाग्राहीले आफैँ मिटिङ राखेर लोन वा बचतका लागि अनुरोध गरेको खण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेर सेवा दिइने उनले बताए । बुटवलका प्रायः सबै लघुवित्तको अवस्था अहिले उस्तै रहेको उनको भनाइ छ । बुटवलमा पनि गत बिहीबारदेखि नै निषेधाज्ञा जारी भएको हो ।

निजी सवारी नहुने र चलाउने अभ्यास नभएका कर्मचारीलाई सास्ती
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई निषेधाज्ञाका कारण अफिस जान निकै समस्या हुने गरेको छ । आफ्नो सवारीसाधन नहुने र स्वयम् चलाउने अभ्यास नभएका कर्मचारीले दैनिक अफिस जान–आउन सास्ती झेलिरहेका छन् । आफ्नो वा परिवारको स्वामित्वमा सवारीसाधन भएर पनि आफूले चलाउन नजानेका कारण निषेधाज्ञामा त्यसको उपयोग हुन सकेको छैन । अरु समयमा परिवारका अन्य सदस्यले अफिस पु¥याइदिने गरेकोमा अहिले जाँदा आफ्नो कार्ड देखाएर अनुमति पाए पनि पु¥याएर फर्किने क्रममा फर्किने व्यक्तिलाई अनुमति नभएका कारण यो सुविधा उपयोगमा आएको छैन ।

‘घरमा स्कुटी थन्किएर बसेको छ, वित्तीय संस्थाका कर्मचारीलाई कार्ड देखाएर चलाउने अनुमति पनि छ, तर आफू चलाउन अभ्यस्त नहुँदा डेढ–दुई घण्टासम्म हिँडेर अफिस आवत–जावत गर्नुपर्ने बाध्यता छ,’ मुक्तिनाथ लघुवित्तका काठमाडौंमा कार्यरत एक कर्मचारीले बैंकिङ खबरलाई भने, ‘अफिसमा खास काम पनि छैन, तर दैनिक जानुपर्ने बाध्यता छ । सार्वजनिक यातायात नचलेको समयमा अफिस चलेपछि अफिस लाने–ल्याउने व्यवस्था पनि गरिदिएको भए सजिलो हुने थियो ।’