रुकुम – रुकुमपूर्वको तकसेराका करबहादुर बुढा यतिबेला भेडा लिएर रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ को ठूलीदहमा पुगेका छन् । कात्तिक लागेसँगै पाटनबाट झरेका भेडा ठूलीदहमा छन् । करबहादुरसँगै तीन घरपरिवारले ठूलीदहमा भेडा ल्याएर बसेका हुन् । रुकुमपूर्वको मगर समुदायको मुख्य पेसा भनेकै भडापालन हो ।
करबहादुरले १५ वर्षको उमेरमा आफ्नो बाजेसँगै भेडा गोठालो जाने गरेको बताए ।उनको बाजेपछि बुवाले भेडा पाले । भेडाको बथान लिएर दाङ र सुर्खेतसम्म पनि झर्नुभयो । बाजे, बुवाले धानेको पेसा अहिले करबहादुरले धानेका छन् ।
करबहादुरका छोरा अहिले गाउँमा छैनन् । छोराहरुले बाजे र बुवाले गरेको पेसा छाड्दै गएका उनले बताए ।आफू १५ वर्षको हुँदा बाजेसँग भेडा गोठालो गएको भए पनि छोराहरु आफूसँग कहिले गोठालो नगएका करबहादुरको भनाइ थियो । ‘कुनै समय १५ सय भेडा हुन्थे । अहिले मुस्किलले चार सय छन्’, उनले भने ।
युवाले गाउँ छाड्ने प्रवृत्तिका कारण यहाँको मगर समुदायको भेडापालन पेसा लोभ हुने हो कि भन्ने चिन्ता जेष्ठ नागरिकलाई छ । ‘हाम्रा बाजे, बाले सुर्खेत, दाङसम्म भेडा झार्थ ।त्यहीबाट च्याङ्ग्रालाई नुन, चामल बोकाएर वैशाख, जेठमा फेरि पाटनतिर फर्किन्थे । अहिले हामीले मुस्किलले यहाँसम्म ल्याएर आएका छौँ । छोरा कोही सहर त कोही विदेश गएका छन्युवा विदेश पलायन हुँदा भेडापालन पेसा सङ्कटमा, उनले भने, ’अबका युवाले हामीले धानेको यो पेसा छाड्दै गएका छन् ।’
तकरसेराका तेजमाया बुढा पनि भेडा लिएर ठूलीदह पुगेका छन् । उनको छोरा पढाइ गर्न भर्खरै अमेरीका गए ।उनि पनि सानै उमेरदेखि भेडा गोठालो जाने, पाटनमा रमाउन सिके । अहिले पनि भेडा पालन व्यवसाय छोड्न सकेका छैनन् ।
कात्तिकमा ढोरपाटन पाटनमा रहेका भेडा रोल्पाको थवाङ हुँदै यहाँ ल्याएका हाँ । सधैँ म भेडाको पछिपछि हिँड्छु । छोराछोरी भेडाको गोठालो गर्न मान्दैनन् । मेरो छोरो भर्खर पढन् भनेर अमेरीका गएको छ’, तेजमाया भनिन् । भेडापालनबाट मनग्य आम्दानी नभए पनि आफ्नो गुजारा चलाउन सकिने उनको भनाइ छ ।
‘भेडाहरु छुट्टै बिक्री गर्ने भन्ने हुँदैन । भेडाको ऊन निकालेर केही सामग्री बनाउँछौँ । त्यही सामग्री बचेर आम्दानी गर्ने गरेका छौँ’, तेजकुमारीले भनिन्, ‘कुनै समय तरसेराबाट १५ घरपरिवार भेडा लिएर रुकुमपश्चिमको ठूलीदहसम्म पुग्ने गर्दथ्यो । अहिले भने तीन घरपरिवार मात्रै भेडा लिएर ठूलीदह आएका छन् ।’
अधिकांश युवा विदेश पलायन हुँदा भेडापालन व्यवसाय लोभ हुने चिन्ता भेडापालक किसानको छ । गाउँमा पछिल्लो पुस्ताले भेडा गोठालो गर्न मान्दैनन् । सरकारले पनि भेडा पाल्दै आएका किसानका लागि प्राथमिकता नदिएको उनीहरुको गुनासो छ ।भेडापालनका लागि फर्म दर्ता गरेको भए पनि किसानले व्यावसायिकरुपमा भेडापालन नगरेको कलम बुढाको भनाइ छ ।
‘सरकारले भेडापालन व्यवसायलाई व्यवस्थित गर्ने भनेको छ । किसानले परम्परागत शैलीमा भेडापालन गर्दै आएका छन्’, उनले भने ।अहिले पनि भेडालाई जङ्गल डुलाउने, रैथाने जातका पालन गर्ने, भेडाको ऊन काट्दा परम्परागत औजारको प्रयोग गरेको पाइन्छ । (रासस)
प्रतिक्रिया