‘माछापुच्छ्रे बैंकले ‘स्मार्टनेस’ को परिचय दिएको छ’

‘माछापुच्छ्रे बैंकले ‘स्मार्टनेस’ को परिचय दिएको छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्तोष कोइराला, सिईओ, माछापुच्छ्रे बैंक

थुप्रै बैंकरहरुको भिडमा सन्तोष कोइराला एक चर्चित नाम हो । विगत एक वर्षदेखि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रुपमा कार्यरत कोइरालासँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्। माछापुच्छ्रे बैंकमा उनले ८ वर्षभन्दा बढि काम गरिसकेका छन । सोही बैंकको डेपुटी सिईओबाट सिईओ बनेका कोइरालासँग पछिल्लो बैकिङ्ग क्षेत्रको अवस्था, डिजिटल बैकिङ्गको प्रोत्साहन, कोभिड–१९ को प्रभाव र समिक्षा लगायतका तमाम विषयमा बैकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीको सम्पादित अंशः

माछापुच्छ्रे बैंकको पछिल्लो वित्तिय अवस्था कस्तो छ ?

हाम्रो बैंकको वित्तिय अवस्था अत्यन्तै सवल छ । आ.व. २०७७/७८ को फागुन मसान्तसम्म झन्डै १२५ अर्ब निक्षेप परिचालन गरि ११३ अर्ब कर्जा प्रवाह गरेका छौँ । राष्ट्र बैंकले निर्देशन गरेको हरेक विषयमा हामी अब्बल छौँ ।

माछापुच्छ्रे बैंक स्मार्ट बैंकको रुपमा परिचित छ । यसको परिभाषा कसरी दिनुहुन्छ ? 

कोरोनाको संक्रमणसँगै उच्च प्रविधिको विकास र नगदरहित कारोबारलाई बढवा दिनुपर्छ भन्ने हामीलाई लाग्यो । एकातिर नगदबाट गरिएको कारोबारमा कोरोना संक्रमण तिब्र गतिमा फैलिने डर भएको पाईयो । त्यसैले ‘डिजिटाइजेसन’मा फोकस गर्दा यो संक्रमण कम हुने देखियो । अझ हामीले हाम्रो कार्यालयका कर्मचारीहरुको ‘इन्टरनल स्ट्रेन्थ’ लाई पनि सुद्धृढ गर्यौ । यस्तै ‘इन्टरनल अटोमेसन’ लाई पनि अलिक बढि ‘फोकस’ गर्यौ । त्यसको कारणले बैंक भित्रका काम ‘पेपरलेस’ बनाउने अवधारणा अन्तर्गत बैंकका सबै कामहरु स्मार्ट बनाउँदै लिएर गयौं । साँचिकै भन्ने हो भने नयाँ–नयाँ प्राविधिको प्रयोग र प्रोडक्टहरु जारी गर्ने बैंकको सूचिमा अग्रणी स्थानमा माछापुच्छ्रे बैंक छ । पछिल्लो समय राष्ट्र बैंकले पनिनगदरहित भुक्तानी प्रणालीहरु जस्तै क्युआरकोड, इन्टर बैंक फण्ड ट्रान्सफर लगायतका विषयहरुमा जोड दिँदै आएको छ । सोही अनुरुप पनि हामी आक्रमक रुपमा लागिरहेका छौँ । यसै कारणले हामीले आफुहरुलाई स्मार्ट बैंकको रुपमा परिचय गराउन चाहान्छौँ । 

क्युआर कोड अभियानमा माछापुच्छ्रे  बैंक अलिक आक्रमक देखिन्छ । यसलाई देशैभरी सञ्चालन गर्न कत्तिको सम्भव देख्नुहुन्छ ?

क्युआर कोड डिजिटल पेमेन्टको एउटा माध्यम हो । अवको भविष्य भनेको प्रविधिको नै हो । त्यसैले यसमा नगई हामी तथा ग्राहकलाई सुखै छैन । यो एक हिसावले मुलुकको प्राविधिक विकासँग जोडिएको विषय हो । अबको नयाँ पुस्ता पनि हरेक कुरा मोवाइलबाटै होस भन्ने चाहन्छन् । सामान खरिदवापतको भुक्तानी होस वा घरायसी बिलहरु तिर्न, बैंकिङ्ग सुविधाको उपलब्धता बढ्दो छ । हात–हातमा पुगेका स्मार्ट मोबाइलले पनि अत्याधुनिक बैंकिङ्गको प्रयोगमा सहभागिता बढाउन थालेको महसुश गरिएको छ । विशेषतः कोभिडका कारण यसको महत्व अझ बढेको छ । माछापुच्छ्रे बैंकले बैकिङ्ग क्षेत्रकै पहिलो वालेट पनि संचालनमा ल्याएका छौँ । सुरुमा यो प्राइभेट कम्पनीहरुसँग मात्रै थियो अहिले बैंकहरुसँग पनि छ । 

अबको युग भनेको डिजिटल ट्रान्सफर्मेसनको युग हो । क्युआर कोड अभियानकै दौरानमा हामी धेरै ठाउँहरुमा पुगेका छौँ । कृषी हाटबजारमा, ट्याम्पु चालक, यातायात व्यवसायीहरु लगायत थुप्रैलाई हामीले क्युआर कोड सुविधा उपलब्ध गराईसकेका छौ  । अझ यती मात्रै नभई हामीले मन्दीरमा भेटी चढाउँदा पनि क्युआरकै प्रयोग गर्न सिकायौँ । तर त्यहाँको माहोल हेर्दा उहाँहरु आश्चर्यमा परेको जस्तो हामीलाई लाग्यो । कहीँ कतै उहाँ विश्वस्त नहुनुभएको हो कि जस्तो लाग्यो । यो वित्तिय ज्ञानको कमीले गर्दा हो । वित्तीय साक्षरतामार्फत डिजिटल बैकिङ्गमा प्रयोग हुने प्रविधिका उपकरणहरुको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा ठूलो शिक्षा दिने गर्छ। वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग र बचत मात्रै नभई डिजिटल प्रणालिका बारेमा समेत ज्ञान प्रदान गर्न सकिन्छ । त्यसैले यो देशव्यापी रुपमा अगाडी बढाउन सकिन्छ । तर प्रविधिको विकाससँगै आवश्यक ज्ञान प्रदान गरिनुपर्दछ भन्ने हामीलाई लागेको छ । नसकिने कुरा केही छैन । कहिँ न कहिँबाट कसैले सुरुवात गर्नै पर्छ । विकासको लागि स्रोत छैन, पूर्वाधार छैन भनेर मात्रै पनि त भएन । यसको विकासमा हामी सबै लाग्यौँ भने यो सम्भव छ । 

प्रविधिको विकाससँगै चुनौतिहरु पनि बढेका छन । यसलाई कसरी कम गर्ने योजनामा हुनुहुन्छ ?

बिकास र यसमा देखिने चुनौती भनेका एउटै सिक्काका दुईवटा पाटाहरु हुन जस्तो मलाई लाग्छ । तर यसो भन्दैमा चुनौतीलाई स्वीकार नगर्ने हो भने पक्कै पनि प्रविधिमा फड्को मार्न असम्भव छ । चुनौतीहरु नभएका होइनन् तर म चुनौतीहरुलाई अवसरको रुपमा लिएर त्यसबाट पाठ सिक्दै अगाडी बढ्नुपर्दछ र ग्राहकलाई बढि भन्दा बढि सेवा प्रदान गर्नुपर्दछ भन्ने कुरामा विश्वास राख्दछु । डिजिटल बैकिङ्गको प्रयोगमा केही ब्यवहारिक समस्याहरु नभएका होइनन् । प्राविधिक कुराहरुमा कहिलेकाहीँ केही समस्याहरु देखा पर्नु स्वभाविक हो ति समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा हामी सधै सचेत छौँ । प्राविधिक समस्या भन्दा पनि अहिलेको ठुलो चुनौती भनेको इन्टरनेटको उपलब्धता देख्छु म ।  किनकी हामीले प्रदान गरीरहेका अधिकांश डिजिटल सेवाहरु इन्टरनेटमा आधारित सेवाहरु छन् । शहर बजारमा इन्टरनेटको उपलब्धता भएपनि देशका अन्य भागमा अझै पनि इन्टरनेटको सहज पहुँच पुग्न सकेको छैन । जसको कारण चहाँदा–चहाँदै  पनि यि सेवाहरुको कम उपभोग भईरहेको छ । त्यसैले इन्टरनेटको उपलब्धतामा ध्यान दिने हो भने प्रविधिमा धेरै अगाडी जान सकिन्छ । यसबाहेक अन्य चुनौतीहरु जुन सेवा सुविधा उपयोगको समयमा देखा पर्ने गर्दछन् तिनिहरुलाई कसरी कम गर्ने र ग्राहकलाई कसरी विश्वसनिय सेवा प्रदान गर्ने भन्नेमा हामी सधै फोकस छौँ । 

भन्नाले माछापुच्छ्रे  बैंकका ग्राहकहरु यसमा पूर्णरुपमा सुरक्षीत छन ?

हो, डिजिटल भुक्तानीमा माछापुच्छ्रे  बैंकका ग्राहकहरु पूर्णरुपमा सुरक्षीत छन । यसमा कुनै शंका नै छैन । 

कोभिड–१९ ले बैकिङ्ग क्षेत्रमा सिकाएको पाठ के हो ?

कोभिड १९ ले बैकिङ्ग क्षेत्रको डिजिटाईजेशनमा एक हिसाबले भन्दा ‘रिभोलुसन’ नै ल्याएको अवस्था हो । हामीले पहिलेदेखि नै ग्राहकहरुलाई भन्दै आएका थियौँ,  डिजिटल प्रोडक्टहरुको प्रयोगले तपाईको बैंकिङ्ग कारोबार मात्र होइन व्यक्तिगत जीबनमा पनि सहज बनाउँछ भनेरतर साँचिकै कोभिडले आम ग्राहकहरुलाई यसको प्रयोग गर्नका लागि बाध्यकारी अवस्था सिर्जना गरिदियो । यो कोभिडको सकारात्मक पक्ष हो । कोभिडले बैकिङ्ग क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा पनि परिर्वतन ल्याएको छ । अनलाइन सपिङ्ग देखि लिएर, बसमा यात्रा गर्दा पनि पैसा झिक्नु नपर्ने जस्ता थुप्रै प्रविधिका संयन्त्रहरु स्थापना भएका छन । कोभिड कै कारण धेरै क्षेत्रमा नयाँ–नयाँ प्रविधिको बिकास भएको छ । हामीसँग भएका प्रविधिमा पनि परिमार्जित भएर अझ विश्वासनिय र सहज बन्दै गएको छ ।  
शहरी क्षेत्रमा त सबैका हात–हातमा स्मार्ट फोनहरु छन । इन्टरनेटको गतिलो पहुँच पनि छ । तर ग्रामिण भेगमा न इन्टरनेट राम्रो छ न त हातमा स्मार्ट फोन नै । यस्तो अवस्थामा ग्रामिण भेगमा डिजिटल सेवा कसरी सञ्चालन गर्ने ?

मैले अघि नै भनिसके बिज्ञान प्रविधिको मुख्य चुनौती भनेको अहिलेको समयमा इन्टरनेटको पहँच नै हो । जबसम्म सरल र सहज इन्टरनेटको पहुचँ आम ग्राहक माझ पुग्न सक्दैन तबसम्म डिजिटल क्षेत्रमा चुनौतीहरु कायमै रहन्छन । यसो भन्दैमा जबसम्म इन्टरनेटको पहुँच पुग्दैन तबसम्म प्रविधिको प्रयोग नगर्ने भन्ने पनि होइन । हुनत अहिले अधिकांश क्षेत्रमा इन्टरनेटको सुविधा विस्तार हुदै गईरहेको छ । स्मार्ट फोन हुनेहरुले डाटा लिएर पनि सुविधा उपयोग गरिरहनु भएको छ । मलाई लाग्छ इनटरनेट सेवा प्रदायक कम्पनिहरुले पनि देशका सबै भागमा इन्टरनेटको पहुचँ पुर्याउन आफ्नो तर्फबाट कोसिस गरिरहनु भएको छ । जसले गर्दा निकट भविष्यमा देशका हरेक क्षेत्र र तप्कामा डिजिटल सेवाहरुको उपयोग बढ्दै जाने विश्वास हामीले लिएका छौँ । हामी आफैले पनि देशका कतिपय बजार तथा संघ संस्थाहरुसँग मिलेर उक्त क्षेत्रहरुमा इन्टरनेटको पहुचँ विस्तार गर्ने प्रयास गरिरहेका छौ जसले गर्दा ग्राहक डिजिटल बैंकिङ्ग सेवाको पहुचँबाट बाहिर रहन नपरोस् । 

पछिल्लो पटक राष्ट्र बैंकबाट आएका निर्देशनहरुले बैकिङ्ग क्षेत्रलाई कत्तिको प्रभाव पारेको छ ?
\"\"
नियमनकारी निकायको निर्देशनको पूर्ण रुपमा पालना गर्नु हाम्रो कर्तव्य हो । नियमनकारी निकायले पनि आफु माताहतका संघ संस्थाहरुको बिकास र बिस्तारको पक्षमा नै आफ्ना निर्दैशनहरु जारी गरिरहेको हुन्छ । वित्तिय विस्तार र पहुँचको लागि नियमनकारी निकायले संस्थाको हितको लागि नै निर्देशनहरु जारी गरेको भन्ने हामीले बुझ्नुपर्छ । निश्चित ब्याजदर लागु गर्ने कुरामा पनि कसैले चर्को ब्याज लिने, धेरै ब्याजदरमा कर्जा प्रवाह गर्ने, धेरै ब्याजदरमा निक्षेप संकलन गर्ने लगायतका कारणले भोलिका दिनमा केही अस्वस्थ व्यवस्था पैदा हुने कुरालाई हेरेर यस्तो नितिगत व्यवस्था गरेको हुनसक्छ । वास्तममा  नितिगत कुरा पूर्ण रुपमा पालना गर्दै जाँदा स्थायीत्व आउनेमा हामी विश्वस्त छौँ । कोरोना कालखण्डमा पनि नियामक निकाय राष्ट्र बैंकले तदारुकता नदेखाएको भए बैकिङ्ग क्षेत्रमा यो खालनको दिगोपना आउँदैनथ्यो होला । त्यसकारण वित्तिय स्थायित्वको लागि नियमनकारी निकायले खेलेको भूमिका अत्यन्तै सराहनिय छ भन्न चाहन्छु । 

बैंकहरुले चर्को ब्याज असुल्ने र नफामा मात्रै केन्द्रीत रहेको भन्ने अरोप व्यवसायीहरुको छ । के बैंकहरुले व्यवसायीहरुलाई बैंकहरुले सहयोग नगरेकै हुन त ?

ग्राहक तथा व्यवसायीहरुबाट आउने गुनासाहरुलाई मैले स्वभाविक रुपमा लिने गरेको छु । किनभने ऋण लिने मान्छेले आफुले तिर्नुपर्ने व्याजमा केहि सहुलियत मिलोस् र निक्षेपकर्ताले आफ्नो निक्षेपमा अलि बढि व्याज पाउन पाए हुन्थयो भन्ने कुरा स्वभाविक हो । त्यस्तै लगानीकर्ताले आफ्नो लगानीमा राम्रो प्रतिफलको आशा गर्नु स्वभाविक नै हो । हामी यी  ३ वटै पक्षलाई लाभ पुग्ने गरी ब्यवसाय संचालन गरिरहेका हुन्छौँ । यस्तो अवस्थामा कहिलेकसो तलमाथी हुनु, निक्षेपको व्याज बढ्नु, कर्जाको व्याज घटबढ हुनुलाई नाफामा केन्द्रित हुन खोजेको भन्न मिल्दैन । समय परिस्थिती हेरेर हामीले कर्जामा सहुलियत दिने लगायतका धेरै योजनाहरु बेलाबेलामा ल्याईरहेका छौँ । लगानीकर्ताले पनि २/४ पैसा फाईदा होस् भनेर लगानी गर्नु भएको हुन्छ ।

त्यसैले हामीले उहाँहरुको प्रतिफललाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । नियमनकारी निकायका हरेक निर्देशन मान्दै हामी अगाडी बढेकै छौँ । वास्तममा बैंक पनि यही समाजमा आधारित एक किसिमको ‘कर्पोरेट सिटिजन’ त हो नी ! त्यसैले उनीहरुले पनि आफ्ना ग्राहकहरुलाई कसरी सन्तुष्टि दिने, कसरी उहाँहरुको इच्छा–चहानाहरुलाई पुरा गर्ने भन्ने सदैव सोचेकै हुन्छ । यस्तै व्याजदरको कुरा चाँही मार्केटले आँफै लिएर आउने हो । कुनै बेला हामीले डिपोजिटमा १२ प्रतिशतसम्म ब्याज दिएका थियौँ । अहिले बेसरेट घटेर ७ प्रतिशतसम्म आइरहेको छ । धेरै कुरा बेस रेटमा निहित हुने भएकोले पनि बेलाबेला रेट तलमाथी हुने गरेको हो । तरलता अधिक भएको बेलामा रेट घटेर जान्छ भने कम भएको बेला रेट बढ्छ । यस्ता कतिपय कुराहरु मार्केट आँफैले लिएर आउँछ । त्यसैले यसमा त्यती धेरै गुनासो गर्नुपर्ने कुरा छ जस्तो लाग्दैन । 

कृषिमा लगानी गर्न बैंकहरु किन डराएको ?

अहिलेको सन्र्दभमा हेर्ने हो भने कृषिमा लगानी गर्न बैंकहरु डराएको भन्ने मलाई लाग्दैन । पहिला लगानी कम थियो तर पछिल्लो समयकृषिमा लगानी राम्रो भईरहेको छ । नियमनकारी निकायले यसलाई ध्यानमा राखेर लगानी बढाउन भनेपछि हामी कटिवद्ध भएर लागेका छौँ ।तथ्याङक नै केलाउने हो भने पछिल्लो समय बैंकहरुले कृषिमा राम्रै लगानी गरेर गइरहेको अवस्था छ । यद्यपी नेपाल कृषि प्रधान देश पनि हो । ८१ प्रतिशत नेपाली जनताहरु यसैमा निर्भर छन भनिसकेपछि कृषिमा लगानी गरी मुलुकको विकास र समृद्धिको आधार तय गर्नेमा हामी पछाडी छैनौँ । हामी लगानी गर्छौ र देशले यसमा फड्को मार्छ भन्नेमा बैंकरहरुपनि सचेत छन । हामीले पनि हाम्रो बैंकका सबै शाखाहरुलाई कृषिमा लगानी गर्न आवश्यक निर्देशन दिइसकेका छौँ । लगानी विस्तारै बढ्दै छ । 

राष्ट्र बैंकको निति अनुसार मर्ज/एक्वाएर तथा विदेशी साझेदारी भित्र्याउनमा यतिबेला बैंकहरु लागेका छन । माछापुच्छ्रे  बैंकको योजना के छ ?

हामी मर्जर पक्रियामा खुल्ला छौँ । यो कुनै समयमा फाईनान्स कम्पनी र वाणिज्य बैंक मर्ज भएर आएकै कम्पनी हो । मर्जरमा जाँदा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । अहिले हामीले थुप्रै बैंकहरु मर्जरको पक्रियामा छन भन्ने सुनेका छौँ । कतिपय अवस्थामा बिग मर्जर पनि भएको छ, कतिपयले विकास बैंकहरुलाई आफुसँग गाभ्ने क्रम जारी छ । तर मर्जर के का लागि भन्ने महत्वपूर्ण कुरा हो । भोलि ठुलो पुँजी भएको संस्था बनिसकेपछि ठुलो लगानी गर्न सक्ने वातावरण बनेर जान सक्छ र बैंकको सञ्चालन खर्चदेखि थुप्रै पक्षहरु व्यवस्थीत हुन सक्छ र रिर्टन पनि राम्रो दिन सक्छ भन्ने कुरा हो । त्यसैले हामी खुल्ला छौँ र हाम्रो सञ्चालक समिति पनि उपयुक्त पार्टनरको खोजिमा हुन्नुहुन्छ भन्ने मलाई लाग्छ । 

बैंकको सिईओ भएर एक वर्ष काम गरिसक्नुभयो ? सिईओ हुँदाको सिकाई भोगाई कस्तो भयो बताईदिनुस न ?

म प्रमुख कार्यकारी अधिकृत (सिईओ) झन्डै आधा जसो कालखण्ड कोरोना महामारिमा बित्यो । त्यतीबेला हामीले डिजिटल बैकिङ्गलाई बढ्वा दिनुपर्छ भन्ने हिसावले हामी लाग्यौँ । हामीले त्यसमा राम्रै फड्को पनि मारेका छौँ । काम गर्दै जाँदा केही सहज र केही अप्ठ्यारो त भइहाल्छ । यद्यपी यसै बैंकमा डेपुटी सिईओ भईसकेपछि कार्यकारी भएको हुनाले त्यती धेरै ग्राहो भएन । पहिलेदेखि नै चिनेजानेको टिम र उनीहरुसँगै काम गर्न पाएकाले अत्यन्तै सजिलो भयो । हाम्रो टिम वर्क अत्यन्तै राम्रो छ । हामी टिम वर्कमा विश्वास गर्छौ । यसैले गर्दा नै पछिल्लो समय माछापुच्छ्रे बैंकमा देखिएको प्रगती सम्भव भएको हो । मेरो कार्यकालमा, कोरोना महामारी जस्तो अफ्ठ्यारो स्थितीमा पनि बैंकले राम्रो फड्को मारोको छ । माछापुच्छ्रे बैंकलाई म र मेरो टिमले नेपालको बैकिङ्ग क्षेत्रमा एउटा अब्बल बैंकको रुपमा उभ्याउन सफल भएका छौँ ।