काठमाडौं–सोमबार रवि लामिछानेले ग्लोबल आइएमई बैंकले दिएको पत्र पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आफ्नो खातामा चेकमार्फत एक करोड ८० लाख डिपोजिट भएपनि खातामा रकम अपुगका कारण चेक क्यान्सिल भएको बताए । बैंकको पत्रको व्यहोरा अनुसार रविको खातामा १ करोड ८० लाखको डिपोजिट भएको प्रमाणित हुन्छ । तर, चेकमार्फत जम्मा गरिएको रकम ईसीसी अर्थात इलेक्ट्रोनिक चेक क्लियरिङमा पठाउँदा ‘इनसफिसियन्ट ब्यालेन्स’ अर्थात खातामा रकम अपुगका कारण चेक फिर्ता भएको उल्लेख छ । यस घटना क्रमले बैंकमा चेक क्लियरिङ प्रक्रिया के हो भनेर मानिसमा खुलदुली बढाएको छ ।
भिडियो रिपोर्ट
चेक क्लियरिङ भनेको चेक र त्यसको साथमा रहेको रकम एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा सार्ने प्रक्रिया हो । माछापुच्छ्रे बैंक सुचना अधिकारी सुनिल खतिवडा भन्छनसामान्यतया चेकमा पैसा भएको र सबै विवरण मिलेको सिस्टमबाट पुष्टि भइसकेपछि शुरूमा चेकवालाको खातामा डेबिट भएर बल्ल डिपोजिटवाला ग्राहकको खातामा क्रेडिट हुन्छ । यदि चेकवालाको खातामा पर्याप्त ब्यालेन्स नभए पश्चात बैंकले चेकवालालाइ सम्बन्धित बैंकले खबर गरेको हुन्छ । तर पैसा डिपोजिट गरिएको एकाउन्ट होल्डरलाई चाहीँ त्यस्तो अवस्थामा खबर पुगेको हुदैँन । तर यो प्रक्रिया बैंक पिच्छे फरक हुनसक्ने बैंकरहरु बताउँछन । । माछापुच्छ्रे बैंकको हकमा चेक डिपोजिट गर्दा वित्तिकै इन्ट्रि हुदैँन तर अन्य बैंकले ईसीसी (ECC) मा पठाउनु अगाडी इन्ट्रि गर्न सक्छन जसले गर्दा पैसा डिपोजिट गरिएको एकाउन्ट होल्डर अकाउन्टमा चेक इन्ट्रि देखाउँछ ।
मोबाइल बैंकिङ्गको प्रयोग धेरै भए तापनि चेकको कारोबारमा कमी आएको छैन । भाडा तिर्न, विभिन्न बिल वा व्यवसायिक कारोबारमा चेकको नै प्रयोग भइरहेको हुन्छ । धेरै नगद रकम बोकेर हिड्दा चोरी हुने डरको कारण पनि मानिसहरु चेक बोकेर हिड्ने गर्छन् । पुर्व बैंकर अनिल उपाध्याय भन्छन्, पछिल्लो समय नेपालमा बढ्दै व्यवसायिक कारोबारको, लेनदेनको कारोबार मिलाउन चेक लिने दिने क्रममा चेक बाउन्स हुने क्रम बढेको देखिन्छ ।
उनका अनुसार भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यसलाई ‘चेक बाउन्स’ हुन्छ । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । यो व्यक्तिको विश्वासनियता र नियतमा भर पर्ने कुरा हो । आर्थिक कारोबार गर्ने जोहीले पनि यस्ता कुरालाई ध्यानमा राख्नुपर्छ । यदि चेकवालाले नियत वस यस्तो कार्य गरेमा सम्बन्धित बैंक् र राष्ट्रबैंकको गुनासो शाखामा गुनासो गर्न सकिन्छ, साथै चेक बाउन्सको उजुरी पनि गर्न सकिने प्रावधान छ।’
चेक मार्फत गरिने कारोबार सुरक्षित हुने कारणले गर्दा पनि यसको प्रयोग धेरै गर्ने चलन छ । व्यवसायिक कारोबारको क्रममा, लेनदेनको कारोबार मिलाउन चेक लिने दिने प्रचलन बढेको छ । भौतिक रूपमा रुपैयाँ–पैसाको कारोबार गर्दा सुरक्षा जोखीमसमेत हुने भएकाले चेकको प्रयोगमा व्यापकता अझै छ । तर पछिल्लो समय चेकमार्फत कार्यहरु गर्दा कसैले आफ्नो खातामा थाहै नपाई चेक डिपोजिट गरिदिने र झुटा आरोप लगाउने प्रवृत्ति हाबी भइरहेको छ । रवि लामिछानेकै घटना कतै त्यस्तो त होइन भन्ने प्रसँग बजारमा यतीबेला ब्यापक छ । यद्यपी यस्तो आर्थिक कारोबारमा होसियार भने हुनुपर्ने विज्ञहरु बताउँछन ।
प्रतिक्रिया