काठमाडौं–निकिता जलान सानैदेखि कुकुर प्रेमी हुन । उनी आफ्नी आमालाई दिनदिनै एउटा सानो कुकुरलाई घरमा ल्याउन अनुरोध गरिरहन्थिन । तर आमाको एउटै जवाफ हुन्थ्यो, ‘तिमी आफैँको जिम्मेवारी लिन सक्दैनौं कसरी कुकुरको हेरचाह गर्न सक्छौँ ।’ भारतमा आफ्नो पढाई पूरा गरी फाइनान्समा काम गरिरहेकी निकिता कोरोनाको कारण नेपाल फर्किइन । सानैदेखि कुकुरको हेरचाह गर्न मन पराउने उनलाई फुर्सदको समयमा कुकुर घरमा ल्याएर पाल्ने रहर जाग्यो ।
पुरा भिडियो
त्यसपछि उनले परिवारसँग कुकुर खरिद गरेर ल्याइदिन आग्रह गरिन । तर उनलाई कुकुर ल्याएर घरमा पाल्नको लागि परिवारकै असहमति भयो । सेप्टेम्बर २०२० सम्म उनले कुकुर पाल्ने अनुमति पाइनन् । तर संयोगबस उनको जन्मदिनको अवसरमा कुनै आफ्नो शुभचिन्तकले कुकुर नै ‘गिफ्ट’ गरे । त्यसपछि कोरोनाको महामारी पनि थियो अनि फुर्सदको समय पनि भएको हुनाले उनी धेरैजसो समय कुकुरको हेरचाहमै बिताउन थालिन । समय बित्दै जाँदा उनलाई कुकुर पाल्न त्यती धेरै सहज नहुने रहेछ भन्ने भान भयो । त्यसवखतको समय याद गर्दै उनले भनिन, ‘खासमा कुकुरको हेरचाह गर्न गाह्रो छ ।’ केही समय पछि उनको कुकुर बिरामी भयो र समस्याबाट पीडित भएर परिवारका सदस्यहरूलाई टोक्न थाल्यो । कुकुरको उपचारका लागि उनले ‘ग्रुमिङ्ग हाउस’ खोजिन् तर दुःखको कुरा उपचार नपाएर उनको कुकुर मृत्यु भयो । उनले निराश हुदैँ भनिन् ‘मलाई त्यो समय धेरै नै हार महशुस भयो ।’
सोही घटनालाई सम्झिँदै अन्ततः अप्रिलमा उनले एक कुकुर प्रशिक्षण सेवा सुरु गरिन । समय बित्दै जाँदा, उनलाई घरपालुवा जनावर ‘ग्रुमिङ्ग’ सेवा खोल्ने सोच आयो । आफ्नो कुकुरको सही उपचार र हेरचाह नपाएर मरेको पीडाबाट उनले ‘पेट मामा’ भन्ने सेवा सेन्टर सुरु गरिन । ‘पेट मामा’ बोल्न नसक्ने जनावरको लागि सुरु भएको हो । उनले भनिन, ‘म धनी परिवारबाट आएको होइन, त्यसैले मैले मेरो जागिरबाट कमाएको सबै लगानी र बुबाबाट ब्याजमा ऋण पनि लिनु परेको थियो ।’ त्यसबाट पनि व्यावसाय स्थापना गर्न उनलाई पर्याप्त भएन । जनताको मानसिकता परिवर्तन गर्नु उनको सबैभन्दा ठूलो चुनौती थियो । ‘जब हामीले कुकुर सैलुनको रूपमा ‘पेट मामा’ दर्ता गर्न गयौँ । तर त्यहाँ सरकारी कर्मचारीहरु नै स्तब्ध भए । प्रक्रियाको वैधानिकता कठिन र भ्रामक भयो । तर जसोतसो ‘पेट मामा’ सुरु भयो ।’ उनले भनिन् ‘परिवारबाट सधैँ साथ पाएँ तर आफन्त र समाजबाट अझै प्रश्न उठ्ने गर्छ । कुकुरको काम पनि कसले गर्छ ? आफन्तको प्रश्न सधैँ यही हुने गर्छ ।’ तर आफूमा केही गर्ने जोस छ भने केही कुराको फरक नपर्ने उनी बताउँछिन ।
सरकारले उनी जस्तै नयाँ उद्यमीहरूलाई साथ र सुझाव दिने हो भने धेरै युवाहरू विदेशीनु नपर्ने सुझाव दिँदै उनले भनिन, ‘सरकारले हामीहरूलाई, हाम्रो व्यवसायलाई सहज हुने केही वातावरण सिर्जना गरिदिने हो भने अधि बढ्न सहज हुन्थ्यो । महिला र पुरुष दुवैलाई अधि बढ्न कसैले रोक्दैन । यो कुरा सत्य हो कि पुरुष उद्यमीको तुलनामा महिला उद्यमीलाई काम गर्न चुनौति धेरै हुन्छ तर आफूमा काम गर्ने इच्छाशक्ति छ भने केही कुराले रोक्दैन ।’ सबै महिला उद्यमीहरुलाई उनको यही सुझव छ कि, ‘हार र असफल भयो भन्दैमा प्रयास गर्न छोड्नु हुँदैन।’
कुकुरहरूको इन्स्योरेन्स अनिवार्य हुनुपर्ने निकिताको धारणा छ । पछिल्लो समय कुकुर तनावग्रस्त जीवनमा मनोरञ्जनको साथी जस्तै भइसकेको छ । ‘हाम्रो जीवनको हरेक सम्पत्तिको इन्स्योरेन्स हुन्छ भने कुकुरको पनि इन्स्योरेन्स किन नहुने ?’ उनी छिमेकी देश भारतको उदाहरण दिँदै भन्छिन, ‘भारतमा कुकुरको स्वास्थ्य बीमा हुन्छ तर जब हामीले नेपालमा यो व्यवस्थाको बारेमा बुझदा कुर्नै डाटा भेटिएन ।’ निकिता यस विषयमा बीमा कम्पनी पनि दोषी नभएको बताउँछिन् । बीमा कम्पनीले यस विषयमा चासो देखाए पनि सरकारबाटै यसमा स्पष्ट निर्देशन नभएको हुदाँ धेरै मात्रामा दाबी आयो भने कसरी सम्हाल्ने भन्ने समस्या आउने हुदाँ कुकुरको इन्स्योरेन्समा चासो नभएको उनले अनुसन्धानबाट पत्ता लगाइन् ।
पछिल्लो समय विदेशिने लहर बढिरहँदा उनलाई पनि नराम्रो लाग्ने विडम्बना सुनाउँछिन, ‘हामी स्टाटपहरुलाई कसले साथ दिन्छ, हाम्रो आर्थिक अवस्थालाई कसले सहयोग गर्छ । बैंकबाट ऋण लिएर सानो व्यवसाय सुरुवात गर्न खोजिरहेका युवाहरूलाई पनि नेपालमा ऋण लिने प्रणाली पनि गाह्रो छ ।’ उनी भन्छिन, ‘बैंक र सरकारले युवाहरूलाई अवसर र विश्वास दिनुपर्छ अनि मात्र बाहिर जानेको संख्या कम हुँदै जान्छ ।’ उनी एक्कै छिन विगतलाई सम्झेर लामो सास फेर्छिन र भन्छिन, ‘कुनै पनि यात्रा सहज हुँदैन । सहज बनाउन कसिस मात्र गर्ने हो । मेरो विचारमा सन्तुष्टि युवा उमेरमा आउँदैन् किनभने यो जीवनको पहिलो खुड्किला हो ।’
उनी भन्छिन, ‘मेरो लागि मेरो भगवान कुकुर हो । मेरो ग्राहक हो । उनीहरूले दिएको माया र देखाएको विश्वास नै मेरो सफलता हो ।’ उनी आश्चर्य मान्दै भन्छिन, ‘नेपाल एक मात्र यस्तो देश हो जहाँ कुकुरको पुजा हुन्छ र यहि उपचार नपाएर धेरै कुकुर पनि मर्ने गर्छन् ।’ कुकुरहरू जो बोल्न सक्दैन उनीहरूलाई उचित उपचार दिनु हेरचाह गर्नु र अन्य मुलुकहरुमा जस्तै कुकुरलाई मान्यता दिलाउनु उनको मुख्य उद्देश्य रहेको निकिता बताउँछिन ।
प्रतिक्रिया