अन्तरवार्ता

‘बीमाले वित्तीय स्थायित्वमा ठुलो टेवा पुर्‍याएको छ’ : ईश्वर पोखरेल,डिसिईओ, नेपाल इन्स्योरेन्स लिमिटेड

‘बीमाले वित्तीय स्थायित्वमा ठुलो टेवा पुर्‍याएको छ’ : ईश्वर पोखरेल,डिसिईओ, नेपाल इन्स्योरेन्स लिमिटेड


पछिल्लो समय बीमा सुरक्षीत लगानी र बचत गर्ने बानीको विकास, सम्पत्ति जोखिममा पर्दा क्षतिपुर्ति दिने सजिलो माध्यमको रुपमा स्थापित भएको छ । आजको दिनमा बीमा आवश्यकता मात्रै नभई बाध्यता नै हो भन्दा फरक नपर्ला । बीमा क्षेत्रले नेपालको वित्तीय सकंट समाधानका लागि पनि ठुलो भूमिका निभाएको हुन्छ । बीमा कसको लागि, गुणस्तरीय बीमा बनाउन बीमा कम्पनीहरूले के–के गर्न सक्छन, आर्थिक मन्दीको अवस्थामा बीमा कम्पनीहरूको अवस्था के कस्तो छ, र बीमाको यथावत विषयलाई समेट्दै नेपाल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलसँग बैंकिङ्ग समाचारको तर्फबाट नमुना केसीले गरेको कुराकानीको सम्पादित अशंः

बीमा कुन वर्गलाई आवश्यक छ र किन ?

बीमा मानव जीवनको दैनिकीसँग जोडेको विषय भएको कारण बीमा सबैलाई आवश्यक छ । बीमा भनेको जोखिम हस्तान्तरणको विधि हो । बीमा आफ्नो र आफ्नो सम्पत्तिको सुरक्षाको लागि गरिने हुँदा बीमा मानव जीवनको उत्कृष्ट आवश्यकता हो ।

ग्रामीण भेगमा बीमा प्रति विश्वसनियता बढाउन बीमा कम्पनीहरूले के–के गर्न सक्छन् ?ग्रामीण भेगमा बीमा प्रति विश्वसनियता बढाउन बीमा कम्पनीहरूले सचेतना कार्यक्रम गरिरहेको छ । ग्राहकप्रति गर्ने व्यवहार, ग्राहक प्रतिको झुकाव र लगाव स्वच्छ हुन जरुरी छ । बीमा कम्पनीले दिने सेवा सुविधालाई गुणस्तरीय बनाउन सकेमा बीमा प्रति विश्वसनियता बढाउन सकिने हो । बीमा दावी भतानी समयमा तिरेर बीमा कम्पनी प्रतिको बिश्वास बढाउने, कम्पनीले निर्माण गरेको नीतिनियम पालना गरेर एउटा मापदण्ड बनाएर त्यसको पालना गरेर बीमाका सेवाहरू आम नागरिक समक्ष पुराएर विश्वसनियता बढाउन सकिन्छ ।

बीमा क्षेत्रमा तपाईको लामो अनुभव भएको हिसावले प्रश्न गर्छु, के बीमा क्षेत्रको अवस्थालाई हेर्दा खुशी हुनुहुन्छ ?

बीमा क्षेत्र ठुलो सम्भावना र अवसर भएको क्षेत्र हो । जब म बीमा क्षेत्रमा प्रवेश गर्दा यो भन्दा नाजुक अवस्था थियो । अहिले धेरै विकास भैसकेको छ । बीमा क्षेत्रमा धेरै सुधार पनि भएको छ । डिजिटल कारोवार, नयाँ–नयाँ प्रोडक्टहरु आइसकेका छन् । त्यसको आधारमा सन्तुष्टजनक नै छ ।

कम्पनीले सामाजिक उतरदायित्वलाई कसरी अगाडि बढाइरहेको छ ?

कम्पनीले सामाजिक उतरदायित्वको लागि विभिन्न कार्य गरेको छ । सचेतना कार्यक्रम, ग्रामिण भेगमा गएर बीमाको जानकारी दिने कार्यक्रम र बिशेषगरी बीमा क्षेत्रमा काम गरिरहेका कर्मचारीहरुलाई पनि मनोबल बढाउने काम गरिरहेका छौं । नेपाल इन्स्योरेन्स पुरानो कम्पनी हो जसले जनतामाझ एउटा छाप छोडेको छ । दाबी भुक्तानीमा पनि नेपाल इन्स्योरेन्स चुकेको छैन् ।

बीमा क्षेत्रले नेपालको वित्तीय सकंट समाधानका लागि के कस्तो भूमिका निभाउन सक्छ ?

बीमाले वित्तीय स्थायित्वमा ठुलो टेवा पुर्याएको छ । बीमा वित्तीय स्रोत संकलन र प्रभाहमा प्रमुख भूमिका खेल्ने निकायमध्य एक हो । जीवन तथा निर्जीवन बीमा गराएर वा पुनर्बीमा गराएर उनीहरूको सम्भावित क्षति रक्षावरण गर्ने गर्दछ । देशमा बीमा कम्पनीले बैकिङ्ग क्षेत्रको डिपोजिटलाई सहयोग गर्छ । सरकारलाई कर तिरेर पनि सहयोग पुर्याइरहेको छ । रोजगारी सिर्जना गर्दै बीमा बजारले अहम भूमिका निभाएको छ ।

आर्थिक मन्दीको अवस्थामा बीमा कम्पनीहरूले कस्ता चुनौती भोगिरहेको छन् ?

आयत निर्यातमा पूँजीगत खर्चको कमी, बैंकबाट कर्जा प्रवाह नहुनु जस्ता कारणले वित्तीय क्षेत्र अप्ठ्यारो अवस्थामा परेको हो । बीमाको दायरा विस्तार गर्न वित्तीय क्षेत्रले पनि बलियो हुनुपर्छ । विगतमा जुन गतिले बीमाको बजार बढेको थियो अहिले त्यो गतिले बढ्न सकिरहेको छैन । चुनौतीको कुरा गर्ने हो भने विदेशी पुर्नबीमा कम्पनीले विश्वास गर्न छाडिसकेका छन, जसको कारण बीमा कम्पनीलाई चुनौती थपिएको छ । देशले बीमालाई प्राथमिकतामा राखेको छ तर दायरा बढ्न नसक्नु नै प्रमुख चुनौती हो ।

नेपाल इन्स्योरेन्सले नागरिकलाई बीमा गर्न कसरी आकर्षित गरिरहेको छ ?

नेपाल इन्स्योरेन्सले जनतामाझ एउटा छाप छोडेको छ । बीमीतहरूलाई कसरी आकर्षित गर्ने भन्ने कुरामा ग्राहकमैत्री सेवालाई सक्षम बनाउन नेपाल इन्स्योरेन्स लागिरहेको छ । दाबी भुक्तानीमा अब्बल भई सबैभन्दा बढि दाबी भुक्तानी गरेर नेपाल इन्स्योरेन्सले आकर्षित गरिरहेको छ । बीमाको दायरा विस्तार हुनुपर्छ भन्ने पक्षमा हामी अत्यन्तै सकारात्मक भएर अगाडी बढिरहेका छौँ ।