बीमा समाचार

निर्जीवन बीमा कम्पनीको व्यापार काठमाडौंमै सिमित, ग्रामीणमा बिमालेख बिक्नै धौं धौं

निर्जीवन बीमा कम्पनीको व्यापार काठमाडौंमै सिमित, ग्रामीणमा बिमालेख बिक्नै धौं धौं


नमुना के सी, काठमाडौं ।
निर्जीवन बीमा कम्पनीको व्यवसायको ठूलो हिस्सा सहरी जनसङ्ख्याले धानिरहेको तथ्यांकले देखाएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक हेर्दा कतिपय जिल्लाहरुमा निर्जीवन बीमा कम्पनीको त व्यवसाय नै विस्तार भएको देखिँदैन । गत असोज मसान्तसम्ममा चालू आवमा बिक्री गरिएको बीमालेख संख्या, बीमाशुल्क आम्दानी, बीमा दाबी संख्या र रकम सबै हिसाबले काठमाडौं जिल्ला नै मुख्य व्यापार केन्द्रका रूपमा रहँदै आएको देखिएको छ ।

देशका चार जिल्ला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमाको कारोबार शून्य रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज मसान्तसम्ममा सुदूरपश्चिमको दार्चुला, लुम्बिनीको रोल्पा र गण्डकीको मनाङ जिल्लामा निर्जीवन बीमा कारोबारका हिसाबले एउटा पनि बीमालेख बिक्री भएन । बीमा कम्पनीहरू सहरमा मात्र निर्भर भएको कारण ग्रामीण भेगमा बीमालेख बिक्न धौ धौ भएको देखिन्छ ।

काठमाडौंमा तीन महिना भित्र ५ अर्ब बढी रुपैयाँ संकलन

गत असोज मसान्त सम्ममा चालु आर्थिक वर्षमा बिक्री गरिएको बीमा लेख संख्या, बीमा शुल्क, बीमा दाबी संख्या र रकम सबै हिसाबले काठमाडौँ अगाडि देखिन्छ । काठमाडौं जिल्ला तीन महिनाको अवधिमा १ लाख ९९ हजार ५२९ बीमालेख जारी गरेर निर्जीवन बीमाले कूल ५ अर्ब ७६ करोड १२ लाख ८० हजार रुपैयाँ संकलन गरेका छन। यहाँ १७ हजार ९४२ वटा बीमा दाबीबापत कूल २ अर्ब १४ करोड ९ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

काठमाडौं पछि दोस्रोमा रूपन्देहीमा हुने गरेको देखिन्छ । जहाँ ४४ हजार ८०० बीमा लेख जारी गरेर ४१ करोड बीमा शुल्क संकलन गरिएको छ । कास्कीमा ३९ हजार बीमा पोलिसी बिक्री गरेका कम्पनीहरूले ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन। बीमाशुल्क आम्दानीमा योगदानको हिसाबले रूपन्देही दोश्रो जिल्लामा परे पनि दाबी भुक्तानी रकमको आधारमा मोरङ अघि छ । मोरङले २७ करोड ९५ लाख ५० हजार दाबी भुक्तानी लिँदा रूपन्देहीले २१ करोड ४६ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी पाएको छ ।
के भन्छन् बीमा कम्पनीहरू ?
नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले ग्रामीण भेगमा न्युन आर्थिक हुने र आफ्नो दैनिकीमा नै सबैको ध्यान जाँदा ग्रामीण क्षेत्रमा बीमा प्रति त्यति ध्यान नभएकोे बताएका छन् । ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि कम हुन्छ । उनले भने ‘आर्थिक मन्दीका कारण झन बीमाको दायरामा असर परेका छ ।’

शिखर इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सविता मास्केले विगतका दिनमा भन्दा अहिले ग्रामीण क्षेत्रमा पनि बीमा कम्पनीहरूको शाखाहरू विस्तार भइसकेको र ग्रामीण क्षेत्रमा पनि बीमाको सचेतना पुगिरहेको बताइन् । ‘ग्रामीण भेगमा शाखा खोल्दा कर्मचारीको विषयमा अप्ठ्यारो आउने हुदाँ दुर्गम भेगमा शाखा विस्तारमा समस्या आएको हो ।’ उनले भनिन, ‘बीमा जबरजस्ती गराउने कुरा हैन ग्रामीण भेगमा गाँस वास कपास पछि बीमालाई प्राथमिकता दिइनु स्वभाविक हो ।’बीमा कम्पनीले ग्रामिण भेगमा पनि बीमाको पहुचँ पुराउन पहल गरिरहेको उनले बताइन् ।

प्राधिकरण भन्छः बीमा व्यवसाय शहरकेन्द्रित भएकै हो
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा व्यवसाय सहर केन्द्रित भएको बताएका छन् । उनले भने कम्पनीलाई ग्रामीण क्षेत्रमा जान भने पनि उनीहरूले सहरी क्षेत्र केन्द्रित गरि व्यवसाय गरिरहेको बताउँछन्। ‘प्राधिकरणले बीमा कम्पनीलाई ग्रामीण क्षेत्रमा जान निर्देशन दिइरहेका छौं ।’

उनले भने, ‘उच्च आय हुनेभन्दा न्यून आय हुनेलाई झनै बीमाको आवश्यकता छ बीमा कम्पनी ग्रामीण क्षेत्रमा जाँदै नगएका होइनन्, ७७ जिल्लामै पुगेका छन तर उनीहरुको प्राथमिकतामा ग्रामीण क्षेत्र परेको छैन ।’ विगतका दिनमा भन्दा अहिले धेरै सुधार पनि आएको उनले बताए ।