अर्थतन्त्र

जान्नुहोस्ः २०२३ मा ‘जिडिपी’ अनुसार ठूलो अर्थतन्त्र भएका मुलुकहरु, कहाँ छ नेपाल ?

जान्नुहोस्ः २०२३ मा ‘जिडिपी’ अनुसार ठूलो अर्थतन्त्र भएका मुलुकहरु, कहाँ छ नेपाल ?

कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको के हो ?


कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको के हो ?

कुल गार्हस्थ उत्पादन –जिडिपी) एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । कुनै पनि देशको अर्थतन्त्र बढ्दा त्यहाँको जीडिपी बढ्छ । जीडिपी भनेको एक वर्षमा त्यस देशमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य हो। उदाहरणका लागि, यदि तपाईले वर्षभरि खेती गर्नुहुन्छ, जसको बजार मूल्य १० लाख रुपैयाँ छ भने तपाईको वार्षिक जीडिपी १० लाख रुपैयाँ हुन्छ । यस्तो अवस्थामा यदि तपाईको वार्षिक जीडीपी दश प्रतिशतको दरले बढ्छ भने जीडिपी वृद्धिदर १० प्रतिशत हुन्छ ।

जीडिपी बढेका कारण कम्पनीहरूले आफ्नो व्यापार बढाउन रुचाउनेछन्। विदेशी कम्पनीहरूले पनि आर्थिक वृद्धि हुने देशमा लगानी गर्नेछन्। यसले नयाँ रोजगारीको अवसर सिर्जना गर्नेछ । यसले समाजका आर्थिक रूपमा उपल्लो वर्गदेखि मध्यम र निम्न वर्गसम्म बिस्तारै लाभान्वित हुनेछन् । जिडिपीले कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ । जिडिपीमा सबै नीजी तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात–निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्छन ।

जिडिपी साधारणतया वार्षिक रूपमा गणना गरिएको हुन्छ । नेपालमा भने वार्षिक रूपमै गणना गरिन्छ । तर, अमेरिकामा भने त्रैमासिक रूपमा गणना गर्ने गरिन्छ । धेरैजसो जिडिपी र जिएनपी (कुल राष्ट्रिय आय) एकै भन्ने ठान्छन । तर, परिभाषामा यिनको खास भिन्नता छ । जिडिपीले एक मुलुकभित्र भएको सम्पूर्ण कारोबारलाई जनाउँछ भने जिएनपीले कुनै एक मुलुक विशेषका नागरिकले देशभित्र वा बाहिर उत्पादन गरेको अर्थतन्त्रलाई मात्र बुझाउँछ । यदि विदेशी नागरिक आएर यहाँ उत्पादन गर्छन् भने त्यो जिएनपीभित्र पर्दैन । तर, जिडीपीमा भने विदेशी नागरिकले पनि यहाँ उत्पादन कार्य गरिरहेको छ भने यो गणनाभित्र पर्छ । नेपालको जिडिपी हाल ५४ खर्बको हाराहारीमा छ । प्रतिव्यक्ति आय १ हजार ३ सय ६२ अमेरिकी डलर रहेको छ ।
जिडिपीको सूत्र
व्यक्तिगत खपत –जोड), व्यावसायिक लगानी –जोड), सरकारी खर्च –जोड), निर्यात –न्यून) आयात ।
जिडिपी वृद्धि
यो भनेको अघिल्लो आर्थिक वर्षमा भएको कुल गार्हस्थ उत्पादन र यसपालिको जिडिपी रकमबीचको अन्तर नै जिडिपी वृद्धि हो ।
प्रतिव्यक्ति जिडिपी
यो भनेको कुल गार्हस्थ उत्पादनलाई मुलुकको कुल जनसंख्याले भाग गर्दा जति आउँछ, त्यो नै प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन हो ।

२०२३ मा जिडिपी साइज अनुसार ठुला अर्थतन्त्र भएका मुलुकहरु

१०) क्यानेडा
जिडिपी साइज अनुसार विश्व अर्थतन्त्रको १० औँ स्थानमा क्यानेडा छ । क्यानेडाको अर्थतन्त्रको कुरा गर्ने हो भने अटोमोटिभ र अन्य निर्माण उद्योग, वन उत्पादन, खनिज र पेट्रोलियममा बलियो क्षेत्रहरूसहित धेरैजसो बजारकेन्द्रीत उत्पादनहरु छन ।

जिडिपी साइजः २ हजार १ सय २२ बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः ५३.२५ हजार अमेरिकी डलर

९ )ब्राजिल
विश्व अर्थतन्त्रमा ब्राजिल एक उदयमान बजारको रुपमा परिचित छ । विश्वको सबैभन्दा ठूलो ऊर्जा उत्पादकहरू मध्ये ब्राजिल पनि एक हो। यसको अर्थतन्त्रमा बलियो कृषि उत्पादन र सेवा क्षेत्रहरू समावेश छन, जसले यसको समृद्ध समाजमा योगदान पुर्याइरहेको छ । ब्राजिलमा अझैपनि भ्रष्टाचार र राजनीतिक ध्रुवीकरण व्याप्त छ तर राष्ट्रपति बोल्सोनारोले भने त्यस्ता समस्याहरुसँग जुध्न पर्यत्न गरिरहेको बताएका छन । महिला र अल्पसंख्यक समूहहरू विरुद्धको हिंसाले ब्राजिलको संस्कृतिलाई असर गरिरहेको भएपनि अर्थतन्त्र भने बलियो रुपमा अगाडी बढिरहेको छ ।

जिडिपी साइजः ३ हजार ५२ बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः १०.४१ हजार अमेरिकी डलर

८ )इटाली
विश्व आर्थिक वरियतामा इटाली ८ औँ स्थानमा छ। इटालीले आफ्नो आकर्षक घरेलु बजार, युरोपेली बजारहरूमा उच्च पहुँच, उत्कृष्ट अनुसन्धान केन्द्रहरू र योग्य कार्यक्षेत्रकासाथ विदेशी लगानीलाई आकर्षित गरिरहेको छ । एसएसिइ मार्फत, इटालीले विदेशी लगानीकर्ताहरूलाई परियोजनाको ग्यारेन्टी र बीमा प्रदान गर्ने हुँदा यहाँको अर्थतन्त्र बलियो छ ।

जिडिपी साइजः २ हजार १ सय ९० बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः ३७.१५ हजार अमेरिकी डलर

७ ) फ्रान्स
ग्यास्ट्रोनोमी र मदिरा फ्रान्सको मुख्य ब्यापार मानिन्छ । यहाँ अवस्थीत शहरहरू, अल्पाइन समुदायहरू र मध्यसागरीय तटहरूका छुट्टै पर्यटकिय पहिचानहरु जोडिएका छन । लुभ्रे जस्ता प्रतिष्ठित शास्त्रीय कला संग्रहालयहरू र एफिल टावर र लियोन रोमन थ्रिएटर जस्ता स्मारकहरूले देशको लामो र प्रख्यात इतिहासको प्रमाणिकरण गर्दछ ।
जिडिपी साइजः २ हजार ९ सय २४ बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः ४६.३२ हजार अमेरिकी डलर

६ ) युके (बेलायत)

इतिहासबाटै बेलायत एक शक्तीशाली र विश्वको एक चौथाई अर्थतन्त्र ओगटेको देश हो । आज पनि विश्वव्यापी स्तरमा पर्याप्त आर्थिक, राजनीतिक तथा सांस्कृतिक प्रभावसँगै बेलायत विकसित राष्ट्र हो । बैंकिङ्ग र पर्यटन जस्ता सेवाहरूले बेलायतको अर्थतन्त्रलाई दिगो बनाउँदै लगिरहेको छ ।

जिडिपी साइजः ३ हजार ३ सय ३२ बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः ४८.९१ हजार अमेरिकी डलर

५ ) भारत
पछिल्लो समय भारतको आर्थिक विकास द्रुत गतिमा बढिरहेको छ । सन् २०१४ र २०२३ को बीचमा भारतको जीडिपीमा कुल ८३ प्रतिशतले वृद्धि भएको छ। ९ वर्षको वृद्धिदरका हिसाबले चीनको कुल गार्हस्थ्य उत्पादन ८४ प्रतिशतले बढेपछि भारत चीनभन्दा एक प्रतिशत मात्र तल रहेको छ। त्यसैगरी, यी ९ वर्षमा अमेरिकी कुल गार्हस्थ उत्पादनमा वृद्धिदर ५४ प्रतिशत थियो। आर्थिक विकासमा तिब्र गतिमा भइरहँदा भारत अझै पनि गरिब राष्ट्रहरू मध्यको एक हो।

जिडिपी साइजः ३ हजार ७ सय ३० बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः २.६१ हजार अमेरिकी डलर

४) जापान
विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको जापानको कुल ग्राहस्थ उत्पादनमा वार्षिक ६ प्रतिशतको दरको वृद्धि देखिएको छ । अर्थतन्त्र सुधारको प्रमुख मापन कुल ग्राहस्थ उत्पादनबाट हुने गर्छ । यसले व्यापारको बढोत्तरी र जनशक्ति थपमा सघाउ पुर्याउँछ भने सरकारलाई पनि कर र खर्च निर्क्यौलमा सहयोग पुर्याउँछ । जापान उच्च विकसित सांस्कृतिक सम्पदाको खानी भएको देश हो । विश्वका अग्रणी प्राविधिक राष्ट्रहरू मध्ये जापान अग्र स्थानमा पर्दछ । जापान आफ्नो प्राचीन र आधुनिक संस्कृतिको गर्ब गर्दछ ।

जिडिपी साइजः ४ हजार २ सय ३१ बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः ३३.९५ हजार अमेरिकी डलर

३) जर्मनी
युरोपको सबैभन्दा ठूलो र संसारको चौथो ठूलो अर्थतन्त्रको हैसियतमा युरोपीय महादेशको बीचमा जर्मनी अवस्थित छ। वरिपरिका मुलुकमा जर्मन मूलका मानिसहरूको बलियो उपस्थितिले उसलाई विशेष जनसांख्यिकीय लाभ पनि प्रदान गरेको छ।
जिडिपी साइजः ४ हजार ४ सय ३० बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः ५२.८२ हजार अमेरिकी डलर

२) चीन

चीन बिश्व अर्थतन्त्रको करिब २१ प्रतिशत हिस्सासहित अमेरिकापछि संसारको दोश्रो अर्थतन्त्र बनेको छ भने ऊ एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र हो । सन् १९८७ मा भारत र चीनको अर्थतन्त्रको आकार करिब समान अवस्थामा थियो । तर, सन् २०१९ को प्रारम्भमा आइपुग्दा चिनियाँ अर्थतन्त्रको आकार भारतीय अर्थतन्त्रको भन्दा झण्डै ५ गुणाले ठूलो भयो । त्यसपश्चात चिनिया अर्थतन्त्र निरन्तर बढिरहेको छ । चीनले ऐतिहासिक रुपमा नै ठूलो मात्रामा आन्तरिक बचत (डोमेष्टिक सेभिङ्ग) र सन् १९९) पछि बैदेशिक लगानीको रकमलाई अर्थतन्त्र मजबुद बनाउन लगानी गर्यो। चीन संसारमा सबैभन्दा बढी बैदेशिक लगानी भित्र्याउने अमेरिकापछिको दोश्रो र अन्य देशमा लगानी गर्ने जापानपछिको दोस्रो मुलुक हो ।
जिडिपी साइजः १७ हजार ७ सय ८६ बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः १२.५४ हजार अमेरिकी डलर

१ ) अमेरिका
अमेरिका संसारको सबैभन्दा ठुलो अर्थतन्त्र भएको भौतिक तथा आर्थिक विकासले उच्च स्थानमा रहेको विकसित मुलुक हो । अमेरिका आप्रवासीहरूको देश हो । संयुक्त राज्य अमेरिका विश्वको अग्रणी अर्थतन्त्रहरूमा पहिलो स्थानमा छ । मुलुकमा अवस्थीत उच्च विकसित पूर्वाधारले व्यवसायमैत्री वातावरण सिर्जना गर्दै विश्वको बलियो अर्थतन्त्रको रुपमा परिचित गराएको छ ।

जिडिपी साइजः २६ हजार ९ सय ५४ बिलियन अमेरिकी डलर
प्रतिव्यक्ति जिडिपीः ८०.४१ हजार अमेरिकी डलर


नेपालको जिडिपी

जिडिपी साइज अनुसार नेपालको अर्थतन्त्रको बरियता हेर्दा १ सय स्थानमा देखिन्छ । अहिले आधारभूत मूल्यमा जिडिपीको आकार ५३ खर्ब ८१ अर्ब बराबर छ । १६औँ योजनाको अन्तसम्ममा ८० खर्बदेखि ८६ खर्बको हाराहारी पुर्याउने लक्ष्य राखिएको छ । गत आर्थिक वर्षमा १.८६ प्रतिशत रहेको आर्थिक वृद्धिदरलाई नयाँ आवधिक योजनाको अन्त्यसम्ममा औसत सातदेखि साढे आठ प्रतिशतसम्म कायम गर्ने लक्ष्य मस्यौदामा राखिएको छ । नेपालमा विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा देखिएको छ ।

कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको विश्व बैंककै प्रतिवेदनमा जनाइएको छ। त्यस्तै, पशु चौपायामा बेला बेलामा रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा संकुचन आउन सक्ने अनुमान विश्व बैंकको छ। सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जिडिपीको तुलनामा ३.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। त्यस्तै, नेपालको जिडिपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवाब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको अंश बढ्नसक्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।