अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च


बैंकिङ्ग समाचार, काठमाडौं । 

डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ। आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर (भाउ) नियमितजस्तो कमजोर बन्दै गएको छ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.७२ रुपैयाँ तोकेको छ। यो हालसम्मकै उच्च हो ।

यसअघि यही मंसिर १२ मा एक अमेरिकी डलरको विनिमय दर १३३.७० रुपैयाँ पुगेको थियो। त्यसयता डलरको भाउमा झिनो कमी देखिए पनि १३३.५७ रुपैयाँभन्दा तल देखिएको झरेको छैन। बरु त्यही बिन्दुबाट फेरि उकालो लागिरहेको छ। सोही क्रममा बुधबार डलरले फेरि नयाँ रेकर्ड बनाएको हो। बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १३३.१२ रुपैयाँ तय भएको छ।

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ। हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ।

डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन्। डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ ।

विदेशमा अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ । निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ। समग्रमा नेपालको व्यापार घाटा उच्च भएकाले डलरको भाउ बढ्दा मुलुकलाई पर्ने नोक्सानी धेरै रहेको जानकार बताउँछन् । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ। विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ। नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो। अहिले पर्यटक बढ्न थालेको भए पनि अपेक्षाअनुसार भित्र्याउन सकिएको छैन र निर्यात बढाउने सम्भावना पनि नदेखिएकाले डलर बलियो बनिरहँदा नेपालले यी क्षेत्रबाट लाभ लिन सकेको छैन।

पछिल्ला महिनामा निरन्तर रूपमा अमेरिकी डलरको भाउ उकालो लाग्नुको मुख्य कारण सुधारोन्मुख अमेरिकी अर्थतन्त्र र त्यहाँ बढ्दो ब्याजदर हो। अमेरिकी केन्द्रीय बैंकले पछिल्लो एक–दुई वर्षयता निरन्तर ब्याजदर बढाइरहेको छ।

सोही क्रममा गत जुलाईमा अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो। अमेरिकामा ब्याजदर उच्च हुँदा लगानीकर्ता डलरतर्फ आकर्षित हुने भएकाले त्यसको माग बढ्छ।

यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुँदै आएको छ । अहिले पनि त्यही भएको हो । मंगलबार साँझ ८ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८३.३६ पुगेको छ । यो हालसम्मको उच्च भने होइन । यसअघि नोभेम्बर २२, २०२३ मा यस्तो विनिमय दर हालसम्मकै उच्च भारु ८३.५५ थियो ।

राष्ट्र बैंकका अनुसार गत असोज मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.०१ प्रतिशतले अवमूल्यन भएको थियो ।

२०८० असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.९५ रुपैयाँ पुगेको छ । गत असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ रहेको थियो । गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बन्दै गएको छ ।