बीमा सचेतनाका लागि कम्पनीहरुको भूमिका कस्तो छ ?

बीमा सचेतनाका लागि कम्पनीहरुको भूमिका कस्तो छ ?


बैंकिङ्ग  समाचार,काठमाडौं । 
जीवन बीमा मानिसको जीवनसँग सम्बन्धित आर्थिक जोखिमको हस्तान्तरण गर्ने अत्याधुनिक उपकरण हो । मानिसको भौतिक शरिर तलमाथि परेमा त्यसलाई फिर्ता ल्याउन नसकेपनि त्यस बाट आफू र आफ्ना परिवारलाइ सिर्जित हुने आर्थिक हानी नोक्सानीको क्षतिपुर्ति गर्न जीवन बीमा अपरिहार्य छ । पछिल्लो समयमा बीमा कम्पनीहरूको संख्या बढिरहँदा बीमाको पहुँच जति विस्तार हुनुपर्ने हो त्यति भएको पाइँदैन । हुन त नयाँ बीमा कम्पनीहरू थपिएपछि बीमितको संख्या बढेको निश्चित नै छ तर जति पहुँच पुग्नपर्ने हो त्यति नपुगेको पनि छैन । यसै बिषयमा एलआईसी लाईफ इन्स्योरन्सका सुचना अधिकारी सुर्दशन गिरीसँग बैंकिङ्ग समाचारको लागि भावना अवस्थीले गरेको कुराकानीः  

जीबन बीमा के हो ?
मानिसहरुलाई आफ्नो आयुको आधारमा किस्ताबन्दीका रुपमा रकम बुझाउदै  जाने र भविष्यमा केहि परिहाल्यो भने आर्थिक जोहोको लागि गरिने एउटा मौन औजार नै जीवन बीमा हो । आफ्नो टाउकोमा हुने जोखिमलाई बीमा कम्पनीमा सारेर आर्थिक संकट टार्ने एउटा उपाय नै बीमा हो । यसमा मूलतः बीमीतले आफ्नो उमेरको आधारमा अथवा आम्दानीको आधारमा निश्चित रकम र निश्चित अवधिका लागि तिर्दै जानुहुन्छ । त्यो अवधि सकिएपछि बीमितलाई नै त्यो पैसा बोनससहित फिर्ता गरिन्छ । यदि त्यो अवधिभित्र उहाँहरुको मृत्यु हुनगयो भने उहाँको हकवालालाई बाँकी पैसा तिर्न नपर्ने गरि उहाँको बोनस र बीमाअंक रकम दिइन्छ । जीवन बीमाको नियम नै यही हो  । 

नेपालमा कति प्रतिशतले जीवन बीमा गरेका छन ?

बीमा प्राधिकरणबाट उपलब्ध गराइएको तथ्यांकअनुसार अहिले ३२  देखि ३५ प्रतिशत नेपाली बीमाबाट लाभान्वित भएका छन भन्न सकिन्छ । 

के पैसावाला व्यक्तिका लागि मात्रै हो त बीमा ?

त्यस्तो होइन । जीवन बीमक दुइटा आधार छन् एउटा आम्दानीको आधारमा कति रकमको बीमा गर्ने भन्ने अर्को व्यक्तिको स्वास्थ कस्तो छ, उमेर कति छ भन्ने कुरा आउँछ । धनिमानी व्यक्तिहरु, पैसावाल व्यक्तिहरुलाई मात्रै बीमा हुन्छ भन्ने हुँदैन । सानो–सानो बीमा पनि हुन्छ । आफ्नो आम्दानी जति छ त्यती नै बीमा गर्ने भन्ने हुन्छ ।  तर पैसा भएका मानिसहरुको लागि मात्रै बीमा हो भन्ने गलत हो । 

के स्थानीय तहका दुरदराजका सिमित आम्दानी भएकाहरुका लागि बीमा पहुँच हुँदैन ?

जति पनि बिमा कम्पनी स्थापना भएका छन यी सबै शहर केन्द्रीत नै छन । शहरमा मात्रै नभई ग्रामिणमा  बसोबास गर्ने दुरदराजमा बस्ने नेपालीहरुलाई पनि बीमाको जरुरी छ । तर बीमा शहरबजार केन्द्रीत नै छन । यसमा हाम्रो प्रयास बीमा सेवालाई शहरबाट हटाएर ग्रामीण केन्द्रित बनाउनुपर्छ भन्ने नै हो । हामीले बेलाबेलामा यसबारेमा सचेतना फैलाउने काम गरिरहेका छौँ । बीमा यस्तो सेवा हो जसलाई झक्झक्याएपछि मात्रै ब्यक्तिले थाहा पाउँछन । त्यसैले बीमा तपाईको नझक्झक्याई त्यसको महत्व नबुझाई सबै मानिसले गर्दैनन् त्यसैले  पनि यो अपरीहार्य भइसकेको छ । बीमा कति प्रतिशत जनतामा पुगेको छ भन्ने पनि बिकासको एक मापन हो । बढि भन्दा बढी जनतामा बीमा सेवा पुगेको छ भने त्यो एउटा विकासको सुचक पनि हो । अहिले  नेपालमा बीमा कम्पनीहरु शहरकेन्द्रीत नै भएका छन । अब यो क्रम बिस्तारै ग्रामीणतर्फ पनि पुग्दै छ । 

बीमा सचेतनाका लागि कम्पनीहरुको भुमिका के छ  ? 

यसमा बीमा कम्पनीहरुकै महत्वपूर्ण भूमिका हुन्छ । हामीले बारम्बार हाम्रा अभिकर्ताहरु जो हाम्रा बीमा योजनाहरुलाई बजारमा पुर्याउनुहुन्छ, दुरदराजमा पुर्याउनुहुन्छ उहाँलाई हामीले तालिम दिन्छौ । बीमाको बारेमा झक्झ्क्याउछौं । उहाँहरु नै गाउँगाउँ पुग्नुहुन्छ । पहिला बीमा कम्पनीहरुकै योगदान हो । नियामाक निकाय बीमा प्राधिकरणले पनि प्रादेशिक कार्यालयहरु स्थापना गर्दै बीमा सचेतनाका कामहरु अगाडी बढिरहेको छ । त्यसैगरी स्थानीय सरकारले पनि यसबारेमा अलिअलि चासो र महत्त्वका साथ लिराखेका छन् ।  आजभन्दा एक दशक अगाडि बीमाको अवधारणा जसरी लिइन्थ्यो आजको दिनमा बिल्कुल फरक छ । अब बिस्तारै बिस्तारै यो क्रम चाहिँ अलि जनता  सुसूचित हुने काम अथवा तथ्यांक अलिकती बढेकै देखिन्छ । तर जेजस्तो भएको छ त्यस्तो स्थिती भने छैन गर्नुपर्ने कुरा अहिले पनि धेरै छ । 

स्थानीय तहमा बीमा सचेतना कति छ ? 

बीमा कम्पनीहरु शहर केन्द्रित अवश्य हुन्छन् । बीमा आफैमा नाफाको लागि खोलिएको हुन्छ । तर व्यवसाय मात्रै नभई बीमाको सचेतना र पहुँच विस्तारमा कम्पनीहरु लाग्नुपर्दछ । बजार पनि नघटोस, मुनाफा पनि प्राप्त भैराखोस  र बढि भन्दा बढि जनताहरु बीमा सेवाबाट लाभान्वित हुनुपर्छ भन्ने कम्पनीहरुको चाहाना हो । बीमाको पहुँच विस्तार विगतमा भन्दा अहिले बढिरहेको पक्कै छ । ग्रामीण भेगमा पनि बीमा कम्पनीका शाखाहरु खुलिसकेका छन् । त्यसैले अब यो क्रम रोकिनेवाला छैन । 

स्थानीय तहमा बीमा सचेतना पुर्याउन बीमा कम्पनीहरुले के गरिहेका छन ? 

नेपाल बीमा प्राधिकरणले पनि हामीलाई समय–समयमा जिल्ला अनुसार तोकेरै दिएको हुन्छ । विभिन्न जिल्लामा गएर सचेतना फैलाउनु भनेर । हाम्रो कम्पनीलाई नै पनि यो भन्दा अगाडी कालिकोट, सुनसरी, तेह्रथुम, धनकुटा गरी चारवटा जिल्ला छुट्याइएको थियो । प्राधिकरणले तोकेको बाहेक पनि हामीले समय–समयमा हाम्रा अभिकर्तालाई तालिम दिने गर्दछौँ । यो हाम्रो नियमित कार्य हो । हाम्रो धर्म नै यही हो । 

स्थानीय तह र बीमा कम्पनीहरु एक आपसमा कसरी साझेदारी गरिरहेका छन ? 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई नियमन गर्ने हो । उहाँहरुको पनि प्रादेशिक कार्यालयहरु छन । उहाँहरुसँग हाम्रो समन्वय हुन्छ । स्थानीय तहसँग बीमा सेवा सञ्चालन गर्ने समयमा स्थान उपलब्ध गराइदिने हो भने त्यो ठाउँमा गएर हामीले बीमाको बारेमा सचेतन गर्न सक्छौं । उहाँहरुको योजनाअनुसार हामीहरु बीमा प्राधिकरणको नीति नियम अनुसार चल्नुपर्ने हुन्छ । हामीले  अन्तरक्रिया गर्छौं काम गर्ने शिलशिलामा विभिन्न संघ संगठनहरुमा विभिन्न कार्यालयहरुमा आबद्ध भएकै हुन्छन् । उहाँहरुलाई परेको बेलामा हामीले सहकार्य गर्नु नै पर्छ । त्यसमा हामी कटिबद्ध छौँ । 
स्थानीय तहमा पूर्ण रुपमा बीमा सचेतना कहिलेसम्म हुन्छ होला त  ? 

ठ्याक्कै यही बेला हुन्छ भन्न सकिँदैन । तर यो क्रमिक रुपमा बढ्दो छ । आम जनताले बीमाबारे, बीमाको फाइदाबारे सुसूचित हुने र त्यसबारे बेखबर नरहने स्थिति चाहिँ घट्दो छ ।  बीमाको बजार हेर्दा म भन्छु यो सुरुवाती चरण नै हो । किनकी जनसंख्याको धेरै कमले मात्रै बीमा सेवा लिएका छन् । अझै धेरैले बीमा सेवा लिन बाँकी नै छ । त्यसैले नेपालको हालको परिस्थितीमा बीमा बजारको भबिस्य सुनौलो छ । तर यसको बजार सानो छ । ३÷३ करोड जनसंख्यामा ६०÷७० लाख विदेशिएको खण्डमा सबै कुरालाई हेरेर स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा जान सकियो भने बीमाको भबिस्य धेरै नै उज्ज्वल छ ।