बीमा किन गर्नुपर्छ ? बीमा गर्नु अगाडि र पछाडि जान्नैपर्ने कुराहरु के–के हुन ?

बीमा किन गर्नुपर्छ ? बीमा गर्नु अगाडि र पछाडि जान्नैपर्ने कुराहरु के–के हुन ?


सविता मास्के, बरिष्ठ महाप्रबन्धक, शिखर इन्सोरेन्स
बीमा सामान्यतया जोखिम हस्तान्तरणको माध्यम भनेर बुझिन्छ । जीवनमा जोखिम अनिश्चित हुन्छ । आर्थिक नोक्सानी हुदाँ दिइने क्षतिपुर्तिको ग्यारेन्टी नै बीमा हो । तथ्याकं अनुसार पछिल्लो समय बीमा सम्बन्धी आम जनमानसले सकारात्मक धारणा बनाइसकेका छन । आम नागरिकलाई बीमाको दायरामा ल्याउन बीमा कम्पनी र बीमा प्राधिकरणले परिमार्जित सेवाहरु प्रदान गरिरहेका छन । तर बीमा कसरी गर्ने ? किन गर्ने ? के–के कुराहरुमा ध्याने दिने ? भन्ने प्रश्नहरु हामीमाझ विधितै छन । यस्तै विषयहरुलाई प्रकाश पार्दै शिखर इन्सोरेन्समा बरिष्ठ महाप्रबन्धक साथै प्रवक्ताको जिम्मेवारीमा रहेकी सविता मास्केसँग बैंकिङ्ग समाचारको तर्फबाट नमुना के.सीले  गरेको कुराकानीको सम्पादित अशंः 

\"\"

आम नागरिकले बीमा गर्न किन आवश्यक छ ?

हामिले हाम्रो जीवन र सम्पतिको सुरक्षा गर्छौ, ध्यान राख्छौँ तर ध्यान राख्दा राख्दै पनि  भवितव्य पर्न सक्छ । कहिले आफनो कारणले त कहिले अरुको गल्तीबाट पनि जोखिम आउनसक्छ । यसलाई हामीले पुर्णरुपमा रोकथाम गर्न सक्दैनाँै । त्यस्तो अवस्थामा बीमा गरिएको छ भने केही हदसम्म जोखिम बहन गर्न सकिन्छ । र यसले हामीलाई मद्दत गर्दछ । बीमाले गर्दा जीवन सहज हुने भएकाले यसको महत्व धेरै छ । 

बीमा गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू के–के हुन ?

सबै भन्दा पहिला बीमा गर्नुअघि हामीले कुन बीमा गर्दै छौँ  या गर्ने हो भन्ने कुरामा प्रष्ट हुनुपर्छ । बीमा सम्बन्धी धेरै जनालाई  ज्ञान भइसकेको छ तर थाहा नभएकोले के–को बीमा गर्न चाहेको हो त्यसमा स्पष्ट हुनुपर्छ । कोही अभिकर्ता र त्यो कम्पनी आधिकारिक छ या छैन थाहा पाउनुपर्छ । आफुले कुन बीमा गर्न खोजेको र त्यसबाट आफूले चाहेको सुविधा पाइछ या पाइदैन थाहा पाउनुपर्छ ताकि पछि कुनै समस्या नहोस । त्यसपछि किस्ताको बारेमा बुझ्नुपर्छ । एक वर्षको  हो कि, छ महिनाको हो । सोही अनुसार किस्ता तिर्नुपर्ने हुन्छ । हरेक बीमाको  फरक नीति हुने भएकोले हरेक कुरा बीमा गर्नुअघि नै थाहा पाउनुपर्ने हुन्छ । आफ्नो हैसियत बराबरको बीमा हो कि होइन र जोखिम भइहाल्यो भने कति दाबि भुक्तान हुने हो थाहा पाउनुपर्छ । अभिकर्ताले भनेको भरमै बीमा गर्दा भविष्यमा झनझट हुनसक्छ । त्यसलै त्यसमा संयमता अप्नाउनुपर्छ । 

नेपालमा बीमा गर्ने प्रकिया कस्तो छ ? 

नेपालमा थुप्रै बीमा कम्पनीहरु छन । जसमा निर्जिवन र जीवन बिमा भन्ने हुन्छन । त्यसवाहेक अन्य बीमा पनि हुन्छन । नेपालमा बीमाका विभिन्न शाखा हुन्छन । त्यहीँ गएर आफै बीमा गर्नपनि सकिन्छ । फोनबाट पनि म यस्तो बीमा गर्न चाहन्छु के–के छन सुविधा भनेर सम्पर्क गर्न सकिन्छ । अभिकर्ता मार्फत पनि बीमा गर्न सकिन्छ । यसमा एउटा प्रस्ताव फाराम भर्नुपर्ने हुन्छ जसमा आफनो सबै परिचय खुलाउनुपर्ने हुन्छ । सोही फारमलाई बीमा कम्पनीले हेरेपछि बीमा शुल्क के कति लाग्छ भनेर जानकारी दिन्छ । त्यसपछि बीमकले बीमा शुल्क भुक्तान गरेपछि बीमा कम्पनीहरुले बीमा लेख जारी गर्दछन । यस्ता बीमालेख एक वर्ष अवधिको पनि हुन्छ अथवा ग्राहकले कम अवधिको पनि गराउन सक्नुहुन्छ । बीमा कम्पनीहरुले रकम भुक्तान गरेको रसिद पनि दिन्छन । जसमा टिकट टाँसेर अधिकारीको दस्तखेतसहित छाप पनि लगाएको हुन्छ । र अन्तिममा कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि नीति कागजात दिन्छ । त्यसपछि बीमा भएको मान्य हुन्छ । 

बीमा गरिसकेपछि थाहा पाउनुपर्ने कुराहरु के–के हुन ?

सुरुमा आफुले कस्तो बीमा गरेको हो ? कति बीमा शुल्क लाग्छ ? कस्ता सुविधा छन ? लगायतका विषयहरु थाहा पाउनुपर्छ । यी कुराहरु थाहा नभईकिन बीमा गर्दा भविष्यमा समस्या हुन सक्दछ । अहिले बीमाको पुर्ण जानकारी बिना नै बीमा गरिरहेको हामीले पाउँछौँ । त्यस्तो गर्नु हुँदैन । बीमा गरेपछि बीमा भुक्तानी सम्बन्धी जानकारी राम्रोसँग लिनुपर्छ ।  

जोखिम पश्चात प्राप्त हुने दाबी भुक्तानी रद्ध के कारणले हुन्छ ? त्यस्तो अवस्था नआउन के गर्न सकिन्छ  ?

बीमा त्यतिकै त रद्ध हुँदैन तर कतिपयले बीमा गर्दा बीमा शुल्क थोरै होस भनेर अधिक राख्नुहुन्छ त्यसो गर्नु हुँदैन । प्रस्ताव फारममा सबै तथ्याकं सत्य राख्नुपर्छ । अधिक धेरै लिनु भएन । बीमा शुल्कको रसिद र बीमा गर्दा दिएको कागजात सुरक्षित राख्नुपर्छ । त्यसो गर्दा बीमा दाबी भुक्तानी सजिलै पाइन्छ ।

बीमाप्रति विश्वसनियता बढाउन बीमा कम्पनीहरुले के–के गर्न सक्छन ?
 

बीमाप्रति विश्वसनियता बढाउन बीमा कम्पनीहरुले व्यत्तिहरुलाई सचेतना गर्ने, बीमा भनेको के हो ? बीमाको फाइदा के–के छन ?  यस्ता विषयहरु आम जनमानसलाई बुझाउने र ग्रामिण क्षेत्रमा शाखाहरु विस्तार गर्दै सबै जनमानसको घरघरमा पुग्ने कार्यक्रमहरु पनि हामीले गरिरहेका छौँ । कहाँ कस्तो बीमा आवश्यक छ त्यसलाई बुझ्दै सोही अनुसारका सेवाहरु उहाँहरुलाई बीमा गर्न प्रेरित गर्नेे कामहरु पनि हामीले गरिरहेका छौँ । हामीले समय–समयमा एजेन्टहरुलाई तालिम दिने र सोही मार्फत पनि बीमा कम्पनीहरु धेरै मानिसहरुसगँ जोडिरहेका छौँ ।