सुरुमा लाइसेन्स बाँड्ने र गाभ्ने नीतिमा सेबोन पनि, ब्रोकर संख्या ९० पुर्‍याएपछि ल्यायो घटाउने नीति

सुरुमा लाइसेन्स बाँड्ने र गाभ्ने नीतिमा सेबोन पनि, ब्रोकर संख्या ९० पुर्‍याएपछि ल्यायो घटाउने नीति


काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी गाभ्ने गाभिने नीतिगत व्यवस्था गरेको छ । संख्या बढाएर ९० वटा पुर्‍याएपछि घटाउने भन्दै धितोपत्र व्यवसायी गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी २०८१ निर्देशिका जारी गर्दै मर्जर नीति लिएको हो। यसअघि, बोर्डले धितोपत्र दलाल कम्पनीहरूको संख्या ९० पुर्‍याएको थियो । जसमा गत आर्थिक वर्ष २०८१/८२ मा नै थप ८ वटालाई लाइसेन्स दिइएको थियो । सुरुमा उपत्यका र आसपासका सहरमा केन्द्रित धितोपत्र व्यवसायीलाई गाउँ पठाउने भन्दै लाइसेन्स वितरण गरियो ।

लाइसेन्स बाँड्दै संख्या बढाएपछि धितोपत्र बजारको पहुँच बढ्ने अपेक्षा बोर्डको थियो । तर, लाइसेन्स वितरण भएको एक वर्ष पनि नबित्दै पुन: मर्जर नीति अघि सारिएको छ । यसबाट नेपालका नियामक निकायले विना अध्ययन र विभिन्न स्वार्थ समूहको आर्थिक प्रलोभनमा परेर लाइसेन्स वितरण गर्दै आइरहेको आरोपमा थप बल पुगेको छ । निर्देशिका जारी भएसँगै अब कुनै पनि ब्रोकर कम्पनी मर्जर वा प्राप्तिको काम सुरु गर्न सक्नेछन् । निर्देशिका अनुसार कुनै पनि ब्रोकर कम्पनीले मर्जरमा जाने भए सबैभन्दा पहिले सैद्धान्तिक सहमतिको लागि संयुक्त रूपमा अनुसूची–१ बमोजिम निवेदन दिनुपर्ने छ ।

निर्देशिकामा के छ ?

ब्रोकर मर्जरमा जानका लागि आवश्यक कागजात उपर जाँचबुझ गर्दा सैद्धान्तिक सहमति प्रदान गर्न उपयुक्त हुने देखेमा बोर्डले १५ कार्य दिनभित्र व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक सर्त तोकी सैद्धान्तिक सहमति दिने भएको छ । धितोपत्र व्यवसायीले गाभ्ने गाभिने वा प्राप्ति गर्ने कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

ब्रोकर गाभ्ने/गाभिने वा प्राप्ति गर्ने धितोपत्र व्यवसायीको गणना गरिएको समायोजित खुद सम्पत्ति लाई ७५ प्रतिशत, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य ‘डिस्काउन्टेड क्यासफ्लो’ विधि प्रयोग गरी तयार गरिएको व्यावसायिक मूल्यांकनलाई १५ प्रतिशत र अन्तर्राष्ट्रिय मूल्यांकन मापदण्डको आधारमा गणना गरिएको अन्य कुनै एक विधि प्रयोग गरी गरिएको मूल्यांकनलाई १० प्रतिशत दिने आधार तय गरेको छ । यसमा १० प्रतिशतले थपघट गरी सेयर स्वाप अनुपात कायम गर्न सकिने बोर्डले जनाएको छ ।

अन्तिम सम्झौता भएपछि साधारण सभाबाट शेयर स्वाप अनुपात सहित गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा निर्णय भएको मितिले पन्ध्र कार्य दिनभित्र धितोपत्र व्यवसायीले अन्तिम स्वीकृतिको लागि बोर्डमा संयुक्त रूपमा अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

गाभ्ने/गाभिने वा प्राप्ति गर्ने अन्तिम स्वीकृति प्राप्त गरेको धितोपत्र व्यवसायीले कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् एकीकृत व्यावसायिक कारोबार गर्ने मिति निर्धारण गरी सोको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थालाई दिनु पर्ने उक्त निर्देशिकामा खुलाइएको छ ।

धितोपत्र व्यवसायीले गाभ्ने/ गाभिने वा प्राप्ति गर्ने कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र कार्य सम्पन्न गर्नुपर्नेछ । धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्न निर्देशिका, २०७९ मा जुनसुकै कुरा लेखिएको भए तापनि गाभिने वा प्राप्ति हुने धितोपत्र व्यवसायीको मुख्य कार्यालयलाई शाखा कार्यालयको रूपमा तथा कायम रहेको शाखा कार्यालय यथावत् रूपमा सञ्चालन गर्न बाधा नपर्ने जनाइएको छ ।

तर, काठमाडौं उपत्यकाभन्दा बाहिर कुनै एक स्थानीय तहमा एक भन्दा बढी शाखा हुने भएमा सो समेत गाभिई एकै शाखा कार्यालय कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । यो निर्देशिका प्रारम्भ हुनुअघि गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रियामा रहेको धितोपत्र व्यवसायीको बोर्डले यस निर्देशिका बमोजिम गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन बाधा भने पर्दैन।