पछिल्लो समय सूचना प्रविधिको तीव्र विकासँगै बैंकिङ्ग क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ । जसमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स (यूएई) को बैंकिङ्ग प्रणाली ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोगले अझ प्रभावकारी बन्दै गएको छ । बैंकिङ्ग क्षेत्रमा प्रविधिसँग अभ्यस्त हुन् कतिको आवश्यक छ ? प्रविधिसँग अभ्यस्त बन्दा यसले बैंकिङ्ग करिअरलाई कतिको सहयोग पु¥याउँछ, यूएईकाे बैंकिङ्ग उद्योगकाे चुनाैती सम्भावना लगायतका विषयमा केन्द्रित भइ संयुक्त अरब इमिरेट्स (यूएई) को युनाइटेड अरब बैंककी रिलेशनशीप म्यानेजर फतिमा अल्शम्सिसँग गरिएको कुराकानीमा आधारित सम्पादित अंशः
सुरुमा तपाईँको पढाईबारे बताइदिनुस् न । अनि, बैंकिङ्ग क्षेत्रमा कसरी आउनुभयो ?
मैले ‘इन्टरनेशनल विजनेश म्यानेजमेन्ट’ अध्ययन गरेको छु । ममी–बुबाको व्यवसायका कारण यो विषय पढ्ने निधो गरेकी हुँ । पढाइ सकेर ममीको व्यवसायमा सहयोग गर्दै आइरहेको थिए । मलाई व्यक्तिहरूसँगका साथै पैसा र व्यवसायसँग संलग्न भइराख्न मनपर्छ । ममीलाई व्यवसायमा सहयोग गर्दै गर्दा पनि मैले आफ्नो पढाइलाई निरन्तरता दिइरहे । इन्टरनेशनल विजनेश म्यानेजमेन्ट छान्नुको कारण अन्तर्राष्ट्रिय जगतका व्यक्तीहरुसँगको भेटघाट र मल्टिनेशनल कम्पनीहरूमा आवद्धता हुन पाइने भएकाले हो । त्यसपछि बैंकिङ्ग क्षेत्रमा जोडिने मौका मिल्यो र अहिले निरन्तरता दिइरहेको छु ।
अहिले तपाईँ युनाइटेड अरब बैंकमा आवद्ध हुनुहुन्छ । यसमा कसरी जोडिनु भयो र कुन ‘पोजिसन’मा हुनुहुन्छ ?
म संयुक्त अरब इमिरेट्सको युनाइटेड अरब बैंकको शारजाह शाखामा आवद्ध छु । यो बैंकले मलाई बैंकिङ्ग क्षेत्रमा आवद्ध हुनका लागि अवसर प्रदान गरेको छ । यस बैंकमा म ‘एसिस्टेन्ट म्यानेजमेन्ट’ पदमा कार्यरत छु । यो पदबाट बढुवा भएर ‘हेड’ बन्ने चाहना छ । आफूलाई अवसर दिँदै बैंकको नेतृत्वदायी भूमिकासम्म पुग्ने चाहना राखेको छु ।
तपाईँ यो बैंकमा आवद्ध हुनुभएको कति भयो ?
म यो बैंकमा आवद्ध भएको १ वर्ष भयो । यस अवधिमा मैले पूर्ण अवसर पाएको छु भने आफूलाई सक्दो प्रमाणित गर्ने प्रयास गरेको छु । यसबाट मैले बैंकिङ्ग क्षेत्रसँग सम्बन्धित विषय सिक्ने मौका पाएकी छुँ ।
बैंकमा आवद्ध भएपछिको पहिलो काम के थियो । सम्झन सक्नुहुन्छ ?
मैले गरेको पहिलो काम सेवाग्राहीको केवाईसीसँग सम्बन्धित थियो । यस्तै, सेवाग्राहीलाई केवाईसीको महत्त्व, आवश्यकता र यसबारे थप जानकारी दिने काम गरेको थिए । सुरुमा नै गर्नुपरेकाले यो काम मलाई सहज त्यति सहज लागेको थिएन । सेवाग्राहीको सही इमेल र सही फोन नम्बर राख्नुपर्ने भएकाले केही असहज भएकाे थियाे ।
युनाइटेड अरब बैंकमा आवद्ध भएको यो एक वर्षको अवधिमा तपाईँले कतिजना सेवाग्राहीलाई हेर्दै हुनुहुन्छ ?
म अहिले आफ्ना सहकर्मीहरुसँग मिलेर काम गरिरहेकी छुँ । मेरा सहकर्मीहरू म भन्दा वरिष्ठ छन् । यस आधारमा उनीहरूसँगको सहकार्यमा काम गर्दै आइरहेको छु । मेरो बैंकिङ्ग करिअरको सुरुवात इमेलको माध्यमबाट भएको थियो । सुरुमा मलाई सही ढंगले इमेल लेख्नै सिक्नुपर्ने स्थिति थियो । हुन त, म अहिले पनि सिक्दै नै छु । बैंकको सुरुवाती अवस्थाको पहिलो चरण पार गरेपछि अहिले म दोस्रो चरणमा छु ।
अहिले तपाईँ संयुक्त अरब इमिरेट्सको सारजाहका सेवाग्राही मात्रै हेर्नुहुन्छ वा अन्तर्राष्ट्रिय सेवाग्राही पनि हेर्नुहुन्छ ?
‘रिलेशनसीप म्यानेजर’कारुपमा म विभिन्न क्षेत्रमा मिटिङ सहभागी भइरहेकी हुन्छु । जहाँ सेवाग्राहीसँग प्रत्यक्ष जाेडिनु पर्ने हुन्छ।यद्यपि, म शारजाहमा अवस्थित ‘कर्पोरेट क्लाइन्ट’सँग काम गर्दै आइरहेको छु । यसबाहेक, म अन्तर्राष्ट्रिय सेवाग्राहीलाई समेत सेवा दिँदै आइरहेको छु । शारजाहभन्दा बाहिरकाे ‘क्लाइन्ट मिटिङ’ मा सहभागी हुन पनि म उत्साहित छु ।
बैंकमा आबद्ध भएपछि तपाईँले बैंकका लागि ल्याएको पहिलो ‘कर्पोरेट क्लाइन्ट’ बारे सम्झनु हुन्छ ? अनुभव कस्तो थियो ?
यसबारे ठ्याक्कै याद छैन । तर, मलाई कर्पोरेट सेवाग्राहीसँग काम गर्न रमाइलाे लागिरहेकाे छ । बैंकले सकेसम्म उत्कृष्ट ‘कर्पोरेट क्लाइन्ट’ खोज्छ । यही कारण म सुरुदेखि नै उत्कृष्ट कम्पनीलाई सेवाग्राही बनाउने गरी लागेको छु । ती कम्पनीसँग काम गर्दा दुवै पक्षबाट कमजाेरी नहाेस् जस्ताे लाग्छ । कमजाेरी भएमा धेरैजसो व्यक्ती वा कम्पनीले व्यवसायमा घाटा बेहोर्छन्। र, त्यसता कम्पनीसँगको कारोबारमा विश्वास गर्नका लागि गाह्रो हुन्छ ।
जो विदेशबाट सारजाह आएर व्यवसाय गरिरहेका छन् । तपाईँको अनुभवका आधारमा उनीहरूसँग काम गर्न कतिकाे सहज छ?
हामीसँग बलियो व्यवसायीक आधार छ । यही कारण, धेरै लगानीकर्ता संयुक्त अरब इमिरेट्समा आएर व्यवसाय सञ्चालन गर्नुहुन्छ । आर्थिक गतिविधिका आधामार इमिरेट्समा व्यवसाय विस्तारका लागि सहज परिस्थिति छ । यही आधारमा अन्तर्राष्ट्रिय लगानीकर्ता यूएईमा आउँछन् । उनीहरूले युनाइटेड अरब बैंकसँग विश्वास पनि गरिरहेका हुन्छन् । यूएईमा विदेशी लगानीकर्ताले चाहने नाफा आर्जन गर्न सहज छ । समग्र इमिरेट्समा स्वदेशी तथा विदेशी व्यवसायी र बैंकरबीच सुमधुर सम्बन्ध छ ।
संयुक्त अरब इमिरेट्सको बैंकिङ्ग प्रणाली र अन्य विश्वको बैंकिङ्ग प्रणाली कस्तो देख्नुहुन्छ ?
बैंकिङ्ग उद्योगले विश्वव्यापीरुपमा नै चुनौतीको सामना गर्नुपर्छ । यसमा यूएईको कुरा गर्दा हाम्रो मुख्य प्राथमिकता भनेको सेवाग्राही नै हो । यूएईको अर्थतन्त्र विविधीकरणले भरिपूर्ण छ । यसमा बैंकिङ्ग क्षेत्र पनि एउटा हो । यूएईमा सबै कम्पनी, कर्पोरेट हाउस, संस्थाहरूले समान व्यवहार पाउँछन् । यो नै यहाँको विशेषता हो । यूएई अरबी राष्ट्र भएपनि विश्वका धेरै भाषा बोलिन्छ । यहाँको नीति नै विश्वभरका मानिसलाई आकर्षण गर्ने भन्नेछ । यहाँको बैंकिङ्ग उद्योगले विभिन्न देशका सेवाग्राहीलाई केन्द्रमा राख्ने गर्छ । उदाहरणका लागि भारतीय सेवाग्राही र फ्रान्सेली सेवाग्राहीलाई सेवा दिने बैंकर छुट्टाछुट्टै हुन्छन् । यूएईमा मल्टिनेश्नल कम्पनी छन् र यसका लागि बैंकहरुपूर्णरुपमा तयार छन् ।
जो विदेशबाट यूएई आउँछन् । उनीहरूलाई व्यवसायीक वातावरणका लागि सहज छ ?
यूएई मा व्यवसायीक वातावरण सहज छ । बैंकिङ्ग क्षेत्रमा मात्रै नभएर अर्ध सरकारी र सरकारी क्षेत्रमा समेत यूएई बाहिरका मानिसहरुलाई अवसर छ ।
यूएईका बैंकहरुले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)लाई कसरी प्रयोग गर्दैछन् ?
यूएईको बैंकिङ्ग क्षेत्रले प्रविधि र ‘इनोभेसन’लाई अंगाल्दै आइरहेका छन् । यस्तै, संस्कृतिको विविधिकरणलाई समेत समेट्दै आइरहेका छन् । यूएईका बैंकहरूले सेवाग्राहीहरूलाई विश्वव्यापी सेवा दिँदै आइरहेका छन् । यूएईका बैंकले अमेरिका, युरोपसहित अन्यत्र सेवा दिँदै आइरहेका छन् । यसकारण, सेवा दिन सहज छैन । यसका लागि प्रविधि र इनोभेसन तथा एआईको प्रयोगको विकल्प छैन । हामी विश्वको नेतृत्वदायी बैंकिङ्ग उद्योग बन्न चाहन्छौँ।
यूएईमा नियामकीय चूनौती कस्ता छन् र कसरी सामना गरिन्छ ?
यूएईमा नियमनकारी निकायले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । नियामकीय निकायको सक्रियताका कारणले नै यूएईको बैंकिङ्ग उद्योग आज यो अवस्थामा छन् । यतिबेला यूएईका बैंकहरू विश्वकै बैंकिङ्ग उद्योगलाई नेतृत्व गर्ने लक्ष्यसहित अघि बढिरहेका छन् ।
अन्त्यमा बैंकिङ्ग क्षेत्रमा आउने युवाहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
बैंकमा आउन चाहने युवाहरुलाई यस क्षेत्रमा आउन आग्रह गर्छु । म यो काम गर्न सक्दिँन भन्न छाडेर प्रयास गर्नतर्फ अग्रसर बन्नुपर्छ । बैंकिङ्ग उद्योग आजको मितिमा विश्वमा नै नेतृत्वदायी उद्योगकारुपमा स्थापित भइरहेको छ । प्रविधिमा अभ्यस्त बनेर अवसरलाई प्राप्त गर्नमा लागेमा बैंकिङ्ग क्षेत्र सहज र सरल छ ।
प्रतिक्रिया