अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बर्नाङ्की, डायमन्ड र डिबबिगलाई 

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बर्नाङ्की, डायमन्ड र डिबबिगलाई 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुलाई दिइएको छ ।

सोमवार नोबेल पुरस्कार प्रदायक संस्था रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस) ले अमेरिकाको बु्रकिङ इन्ष्टिच्यूटका बेन एस. बर्नाङ्की, सिकागो विश्वविद्यालयका डगलास डब्ल्यू डायमन्ड र वाशिङट्न विश्वविद्यालयका फिलिप एच डिबबिगलाई सो पुरस्कार दिएको हो ।

बैंक तथा वित्तीय संकटबारे गरेको अनुसन्धानको लागि उनीहरुलाई सो पुरस्कार दिइएको छ । बैंकले अर्थतन्त्रमा खेलेको भूमिकाबारे हाम्रो बुझाइमा उल्लेख्य सुधार गर्न सघाएकोले पुरस्कार दिइएको समितिले बताएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको समस्याले मन्दी निम्तिएको हामीले पटक ( पटक देख्दै आएका छौं । सन् १९३० को दशकको विश्वव्यापी महामन्दीको विश्लेषण गरेर सन् १९८३ मा लेखेको एउटा आलेखका लागि बर्नाङ्कीलाई पुरस्कार दिइएको हो’, समितिले भनेको छ ।

यी तीन जनाको योगदानले वित्तीय संकटको निरुपण र समाधानको तरिकालाई सुधारेको बताइएको छ । तीनै जनाको अनुसन्धान बैैंकलाई असफल हुन नदिनु किन महत्वपूर्ण छ भन्ने खोजमा केन्द्रीत छ ।

वित्तीय बजारको नियमन र वित्तीय संकटको अवस्थासँग ‘डिल’ गर्ने क्रममा बर्नाङ्की, डायमन्ड र डिबबिग विश्लेषणले व्यवहारिक महत्व उच्च रहेको पनि समितिले बताएको छ । अर्थतन्त्रलाई चलायमान राख्न बचतलाई लगानीमा बदल्नु पर्छ ।

तर बचतकर्ताहरुले अनपेक्षित अवस्थामा आफ्नो पैसामा तत्कालै पहुँच चाहन्छन् तर व्यवसाय र घर मालिकहरुले म्याद नै नआइकन कर्जा भुक्तानी गर्न उनीहरुलाई बाध्य पारिदैंन भन्ने कुरा बुझ्न जरुरी छ । आफ्नो सिद्धान्तमा डाइमन्ड र डिबबिगले बैंकले यो समस्याको कसरीले इष्टतम् समाधान दिन्छ भन्ने देखाएका छन् । 

सन् २००८ मा विश्वव्यापी वित्तीय संकट आउँदा बर्नाङ्की अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष थिए । उनले महामन्दीबारे गरेको अध्ययनका लागि सो पुरस्कार पाएका हुन् । उनले संकट गम्भीर र जटिल कसरी बन्छ भन्नेमा बैंकको सञ्चालनको तरिका निर्णायक हुन्छ भन्ने देखाएका थिए ।

अर्थशास्त्रीत्रयको अध्ययन र अन्तरदृष्टिले गम्भीर खालको संकट र महँगो वित्तीय उद्धार टार्ने क्षमाता सुधारेको समितिका अध्यक्ष तोरे इलिङसेनले एक विज्ञप्तिमा भनेका छन् । उनीहरुको अध्ययनमा समाजमा बैंक किन चाहिन्छ, तिनीहरुको प्रमुख कमजोरीहरु र यिनीहरु धराशयी हुँदा कसरी आर्थिक मन्दी आउँछ भन्ने खुलासा गरिएको छ ।

विजेताहरुले १ करोड स्वीडिश क्रोन पाउनेछन् । पुरस्कार राशी तीनै जनाबीच बराबरी बाडिनेछ । पुरस्कार राशीबाहेक तीनै जनाले १८ क्यारेट सुनको मेडल पनि पाउनेछन् । सन् २०२१ मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड कार्ड अनि जोसेफ आंग्रिष्ट र गुइदो इम्बेनले पाएका थिए ।

एजेन्सी