‘बीमाको ‘डिएनए’मै श्रृजनशीलता हुनुपर्छ’

‘बीमाको ‘डिएनए’मै श्रृजनशीलता हुनुपर्छ’

आन्द्रे कीनान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बीमा जोखिम घटाउने सुरक्षाको एउटा पाटोकारुपमा मात्रै सीमित छैन । यो अर्थतन्त्र विकासका लागि चाहिने महत्त्वपूर्ण यन्त्र नै हो । किनकि, बीमाले भई परी आउने आर्थिक जोखिम न्यूनीकरण गरेपछि नवीन सोच र क्षेत्र पहिचान गरेर त्यसमा लगानीका अवसर श्रृजना गर्न सकिन्छ ।

यो विषय बुझिसकेका भारतीयले जोखिम न्यूनीकरणको लक्ष्यसहित बीमामा राम्रै लगानी सुरु गरिसकेका छन् । विश्वकै ठूलो जनसंख्याका आधारमा पनि भारतीय बीमा बजारको आकार फैलँदो छ । यो क्षेत्रले कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा नै ३ प्रतिशत हाराहारीको योगदान गरिरहेको तथ्यांक छ । एक्सो इन्स्योरेन्स इन्फर्मेशन सर्भिस लिमिटेडका अनुसार भारतमा निर्जीवन बीमाको प्रिमियम संकलन कूल २० हजार मिलियन अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

ज्ञान र प्रविधिको श्रृजनशीलता

विश्व बौद्धिक सम्पत्ती संगठनले मुलुकहरूको नवीनता र नयाँ खोजका आधारमा ‘ग्लोबल इनोभेशन इन्डेक्स’ (जीआईआई) सूचक सार्वजनिक गर्दै आइरहेको छ । संगठनले संस्थाको संख्या, मानव संशाधन र खोज तथा अनुसन्धान, पूर्वाधार, परिस्कृत बजार र व्यवसाय, ज्ञान र प्रविधि, परिणाममुखी श्रृजनशीलता लगायतका आधारमा मुलुकहरूलाई वर्गीकरण गर्छ ।

बीमा क्षेत्रमा श्रृजनशीलताका आधारमा विश्वको पहिलो वरियतामा संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा र बेलायत पाँचौँ स्थानमा छ । एसियामा भारत ३९औं स्थानमा छ भने नेपाल १०९ औं स्थानमा छ । दक्षिण एसियाली क्षेत्रमा श्रृजनशीलतामा भारत नेतृत्वदायी भूमिकामा छ भने विश्व वरियताकै ४ नम्बरमा रहेको सिंगापुर दक्षिण पूर्वी एसियाको नेतृत्वदायी भूमिकामा छ ।

भारतको कुरा गर्दा सन् २०१७ मा सूचकको ६०औं स्थानमा रहेको भारत सन् २०२४ सम्म आइपुग्दा उल्लेख्य सुधार गर्दै ३९औं स्थानमा आइपुगेको छ । यस अवधिमा नेपालको जीआईआई सूचक १०९ मा नै यथावत् रहेको संगठनले उल्लेख गरेको छ । यस अवधिमा भारतले ज्ञान र प्रविधिमा परिणाम देखिने गरी सुधार गरेको छ । यही कारण, सूचकको वरियतामा उल्लेख्य फड्को मार्न सक्यो ।

झनै जटिल बन्दै बीमा क्षेत्र

२०औं शताब्दीको सुरुवातमा बीमा क्षेत्र सहज र सरल थियो । त्यतिबेला बीमामा परम्परागत कुराकानीको शैली, बीमाकर्ता, आर्थिक अस्थिरता, भर्खर सुरु भएका नियामकीय निकाय र सुरुवाती चरणमा रहेका वित्तीय संस्थाको रेटिङ्ग गर्ने प्रचलन गरी जम्माजम्मी ५ क्षेत्रमा मात्रै बीमा जेलिएको थियो । तर, २०औं शताब्दीको मध्यतिर बिमाकर्ता बीमाको केन्द्रमा आए भने यो क्षेत्रमा सामाजिक सञ्जाल, क्षती मूल्यांकन, इन्टरनेटको सुरुवात र भौगोलिक अवस्था लगायतका विषय समेत थपिन पुगे ।

आजको दिनमा बीमा क्षेत्र अझै जटिलताले घेरिँदै गइरहेको छ । अहिले इन्सुरटेक, जलवायु परिवर्तन, संकटपछिको नियमन, सूचनामा सहज पहुँच, इन्टरनेट अफ थिङ्कस जस्ता विषय समेत थपिइसकेका छन् । यहीकारण, बीमा क्षेत्रले नवीनता र श्रृजनशीलतामा जोड दिनुको विकल्प छैन । कम्पनीहरूले विभिन्न चरण र प्रक्रियामा नवीनता खोज्न सक्छन् । यस्तै, उत्पादन, प्रक्रिया, सेवा र व्यवसायीक नीतिमा श्रृजनशीलता अपनाउन सक्छन् ।

प्रक्षेपणभन्दा द्रुत गतिमा बढ्दै भारतीय बीमा बजार

भारतमा बीमा क्षेत्रको वृद्धि प्रक्षेपणभन्दा द्रुत गतिमा छ । जनसंख्यासँगै बढिरहेको भारतको अर्थतन्त्रको आकारले बीमाको वृद्धिदरमा सहयोगी भूमिका खेल्दैछ । यस्तै, ‘इनोभेशन’ अर्थात् श्रृजनशीलतामा देखिएको उत्साहप्रद सहभागिताले समेत महत्त्वपूर्ण भूमिका खेल्दैछ । यसबाहेक बीमा क्षेत्रमा क्रान्ति र परिवर्तन भइरहन सक्ने ‘डीएनए’ नै छ ।

(रेटिङ्स कम्पनी एम बेस्टका कार्यकारी उपाध्यक्ष तथा प्रमुख रणनीतिक अधिकारी आन्द्रे कीनानले ‘ग्लोबल रिइन्स्योरेन्स समिट, २०२५’ मा गरेको प्रस्तुतीकरणका आधारमा)