प्राकृतिक विपत्तिसँग जुध्न नेपालमा बीमाको ‘इकोसिस्टम’ विकास गर्न जरुरी छ : उपनिर्देशक महर्जन

प्राकृतिक विपत्तिसँग जुध्न नेपालमा बीमाको ‘इकोसिस्टम’ विकास गर्न जरुरी छ : उपनिर्देशक महर्जन


मुम्बई – नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले प्राकृतिक विपत्तिको जोखिमसँग जुध्न बीमा ‘इकोसिस्टम’ बनाउन जरुरी भएकाले नेपालकाे नियामकिय निकाय त्यसतर्फ लागिरहेको बताएका छन् । भारतको मुम्बईमा २० जनवरीदेखि जारी ‘ग्लोबल रिइन्स्योरेन्स समिट, २०२५’ को एउटा सत्रमा बोल्दै महर्जनले बीमाको ‘इकोसिस्टम’ विकास गर्न जरुरी रहेको बताएका हुन् ।

समिटको तेस्रो दिन चलिरहेको ‘ड्राइभिङ रिजनल रिसाइलेन्स एण्ड द इभल्भिङ रोल अफ रिजनल रिइन्सुरर्स एण्ड रेगुलेसन’ नामक तेस्रो सत्रमा महर्जनले यस्तो बताए । जीआईसी रिका पूर्व महाप्रबन्धकले सहजीकरण गरेको सो सत्रमा एसियन रिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत वक्ताकारुपमा थिए ।

यस्तै, जीआईसी भुटान रिका चिफ अन्डरराइटिङ अफिसर अरुण कुमार र इम्पेरियल स्पेसियालिटी इन्स्योरेन्स ब्रोकर, श्रीलंकाका प्रमुख कार्यकारी अधिकृत थनुजा दानवाट्टे समेत वक्ताकारुपमा थिए । यही सत्रमा सहभागी बन्नका लागि महर्जन डेढ दर्जन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मुम्बई पुगेका थिए।

त्यसक्रममा उपनिर्देशक महर्जनले नेपाल हिमालय क्षेत्रमा रहेकाले भूकम्पको उच्च जोखिम रहेको बताए । उनले सन् २०१५ मा गोरखामा आएको भूकम्पले ठुलो क्षति पुर्‍याएको र जलवायु परिवर्तन लगायत ग्रामीण क्षेत्रको जोखिम समेत उच्च रहेको बताए । यीनै जोखिमलाई मध्यनजरमा राखेर बीमाको ‘इकोसिस्टम’ विकासमा नेपालको ध्यान मोडिएको महर्जनको भनाई छ ।

अहिलेको स्थितिमा विशेष गरी नेपालको ग्रामीण भेगमा बीमाको न्यून पहुँच र प्राकृतिक विपत्तिलाई सम्बोधन गर्न ल्याइएका सीमित बीमा उत्पादन लगायत स्थिति रहेको उनको भनाई छ । बाढी, पहिरो लगायतका जोखिम न्यूनीकरणका लागि जलविद्युत परियोजनाको विकास गरेर बाढी रोक्ने योजना बनिरहेको समेत उनको भनाई छ ।

‘यो छलफलबाट क्षेत्रीयरुपमा बीमाको जोखिम मूल्याङ्कन, सहकार्य र नवप्रवर्तनमा संयुक्त रूपमा काम गर्नु आवश्यक देखिन्छ,’ उनले भने, ‘नेपालको नियामकीय निकाय बीमा उपभोक्ताको सुरक्षासँगै क्षेत्रीयस्तरमा वृद्धि, सहकार्य, समावेशिता र स्थायित्व गर्न ध्यान बढाइरहेका छौँ ।’