काठमाडौं- ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले होटल बाराही काठमाडौंलाई ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र प्रदान गरेको छ । पर्यावरणीय सन्तुलन कायम गर्दै दिगो विकासमा असल अभ्यास तथा सामाजिक पक्षलाई प्रभावकारी रुपमा समावेश गरेको उल्लेख गर्दै बाराही काठमाडौंलाई उक्त प्रमाणपत्र उपलब्ध गराइएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
विभिन्न मापदण्डमा आधारित भई गरिएको मूल्याङ्कपछि होटलले उक्त प्रमाणपत्र प्राप्त गरेको बाराही होटलका महाप्रबन्धक रोशन सापकोटाले बताए। उनकाअनुसार टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मका लागि ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा होटललाई उक्त प्रमाणपत्र प्रदान गरेको हो । टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चार वटा मापदण्ड समावेश गरेको थियो ।
रेटिङमा होटलको वातावरणीय प्रभावलाई माध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुरुप नै भएको उल्लेख गरेको छ । होटलका कर्पोरेट निर्देशक योगेन्द्र विक्रम थापाले बाराही होटल दिगो विकासमा सधैँ चिन्तित रहेको र संस्थापकसहित सम्पूर्ण कर्मचारी तथा सरोकारवालाको मेहनत र साथले यो उपलब्धि हासिल भएको बताए ।
कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले बाराही होटलको उदाहरणीय अभ्यासलाई सिङ्गो होटल तथा रेष्टुरेन्ट व्यवसाय र समग्र पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले होटलहरुले मूल्यको प्रतिस्पर्धाबाट बाहिर निस्किएर गुणस्तरमा केन्द्रित हुँदै पर्यटक भित्र्याउन बाराहीले जस्तै प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाल ट्राभल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले दिगो विकासलाई प्राथमिकतामा राख्दै होटल निर्माण र सञ्चालन सामान्य विषय नभएको उल्लेख गर्दै यसप्रकारको अभ्यास सामान्य जीवनयापनमा लागू गर्न सबै जना सचेत हुनुपर्नेमा जोड दिइन् ।
होटल सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाडौंले दिगो विकासमा दिएको योगदानमा खुसी व्यक्त गर्दै सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन विभागमा पहल गर्ने बताए । स्कल नेपालका अध्यक्ष महेन्द्र पौडेलले बाराही होटलको यो प्रयासलाई पर्यटकले लामो समयसम्म सम्झिरहने विश्वास व्यक्त गरे। टफ्ट टाइगरको चार मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत वातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिमलगायतमा होटलले गरेको गतिविधिलाई आधार मानेको थियो ।
पानीको संरक्षण, सदुपयोग, फोहर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षा मापदण्डका साथै आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, स्थानीय सीप र खानाको प्रवद्र्धन रहेको छ । साथै सामाजिक–सांस्कृतिक प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रवद्र्धन गरेको सहयोगलाई आधार बनाइएको थियो ।
मूल्याङ्कनका क्रममा फोहर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानुनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रवद्र्धन, अपाङ्गता भएका व्यक्तिहरुको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, मन्दिरसरसफाइ शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि उक्त मूल्याङ्कनमा समावेश गरिएको संस्थाले विप्तिमार्फत जनाएको छ । बाराही हस्पिटालिटीअन्तर्गत रहेको होटल बाराही काठमाडौँ सन् २०२३ जुलाइदेखि सञ्चालनमा आएको हो ।
बाराही काठमाडौं होटलले हालै ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४’ बाट नयाँ होटलका रुपमा दक्षिण एशियामा सर्वोत्कृष्ट प्राप्त गरेको छ । साथै नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्डअनुसार ‘ए’ श्रेणी प्राप्त गरेको छ ।
प्रतिक्रिया