कुम्भ मेला २०२५: ४० करोडभन्दा बढीको सहभागिता, ब्रान्डहरूको प्रवर्द्धनका लागि स्वर्ण अवसर

कुम्भ मेला २०२५: ४० करोडभन्दा बढीको सहभागिता, ब्रान्डहरूको प्रवर्द्धनका लागि स्वर्ण अवसर

' २ सय कराेड विज्ञापनमा'


काठमाडौं – यतिबेला छिमेकी राष्ट्र भारतमा सबैभन्दा ठुलो मानवसागर उर्लिने धार्मिक भेला महाकुम्भ प्रयागराज चलिरहेको छ। ४५ दिन अर्थात् गत २९ पुसमा सुरु भएको मेला १४ फागुन (महाशिवरात्रिका दिन) सम्म सञ्चालन हुनेछ । विश्वकै ठुलो आध्यात्मिक जमघट हुने कुम्भ मेलासँग प्रचार- प्रसारको पाटोलाई अलग्याउन सकिँदैन । यस ऐतिहासिक पर्वलाई ब्रान्डहरूले उत्कृष्ट प्रचार प्लेटफर्मको रूपमा हेरेका छन् ।

यस अवसरमा कोका-कोला, आईटीसी, डेटोलजस्ता प्रमुख ब्रान्डहरूले विभिन्न सिर्जनात्मक अभियानमार्फत लाखौँ मानिसहरूसँग जोडिइरहेका छन्। महाकुम्भ २०२५ ले करिब ४० करोडभन्दा बढी श्रद्धालु तथा पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । महाकुम्भमा हुने भव्य जमघटले ब्रान्डहरूलाई आफ्नो उत्पादन तथा सेवाहरूको प्रचार गर्न मात्र होइन, सामाजिक उत्तरदायित्व पूरा गर्न पनि ठुलो अवसर प्रदान गर्दछ। जसकारण मेलालाई लक्षित गर्दै विभिन्न ब्रान्डहरूले सामाजिक र वातावरणीय सचेतनालाई पनि प्राथमिकतामा राख्दै आफ्नो अभियान सञ्चालन गर्न लागेका छन्। यी कम्पनीहरूले स्वच्छता, प्लास्टिक व्यवस्थापन र दिगो विकासका सन्देश प्रवाह गर्ने उद्देश्य राखेका छन्। यस मेलामा विज्ञापन प्रवर्द्धनमा २ सय करोड खर्च हुने अनुमान गरिएको छ । 

कम्पनीहरूले प्रचार- प्रसारका लागि के गरिरहेका छन् ?

महाकुम्भ मेला २०२५ लाई विभिन्न कम्पनीहरुले व्यापारिक अवसर र प्रचार- प्रसारको आधारको रूपमा पनि लिएका छन् । विज्ञापन र प्रचार-प्रसारको खर्चको मूल्याङ्कन गर्दै, यस मेलाले भारतको आर्थिक क्षेत्रमा ठुलो योगदान पुर्‍याउनेछ र स्थानीय रोजगारीको अवसर सृजना गर्ने अपेक्षा गरिएको छ । यस मेलामा विभिन्न प्रमुख ब्रान्डहरू, डिटोल, डाबर, पेप्सिको, कोका-कोला, आईटीसी र रिलायन्स जस्ता कम्पनीहरू पनि जोडिएका छन् । मेला विज्ञापनदाताहरूको लागि एक महत्त्वपूर्ण प्लेटफर्म बनेको छ, जहाँ कम्पनीहरूले आफ्ना ब्रान्डहरूलाई लाखौँ भक्तजन र पर्यटकहरूसम्म पुर्‍याउनका लागि ठुलो लगानी गरेका छन्

मेलामा अमेजन इन्डियाको नवप्रवर्तनशील पहल गरिरहेको छ। अमेजन इन्डियाले आफ्ना प्याकेजिङ बक्सहरूलाई पुनः प्रयोग गरी बिस्तारको रूपमा मेलामा सहभागीहरूलाई उपलब्ध गराएको छ। यस्तै, बैंक अफ बडोदाले कुम्भ मेलामा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन गर्दै तीर्थयात्रीहरूलाई सहज भुक्तानी सेवा प्रदान गरेको छ। यसले मेलामा सहभागीहरूलाई नगदरहित भुक्तानीको सुविधा उपलब्ध गराएको छ।

यसैगरी पेप्सिकोले आफ्नो ‘माउन्टेन ड्यु’ र ‘स्टिङ’ ब्रान्डहरूको प्रवर्द्धनका लागि मेलामा विभिन्न गतिविधिहरू सञ्चालन गरेको छ। डिटोलले आफ्नो ‘बनेगा स्वस्थ इण्डिया’ अभियानअन्तर्गत कुम्भ मेलामा सरसफाइ र स्वच्छताको महत्त्वबारे जनचेतना फैलाएको छ। यस अभियानले मेलामा सहभागीहरूलाई स्वच्छता सम्बन्धी जानकारी प्रदान गर्दै सरसफाइको महत्त्वबारे सचेतना फैलाएको छ। त्यस्तै, आईटीसीले सांस्कृतिक र स्थानीय गतिविधिहरू मार्फत ब्रान्डको प्रचार गर्नेछ। कम्पनीहरूले डिजिटल र इनोभेटिभ प्रविधिको प्रयोगमा पनि जोड दिएका छन्। एलइडी  स्क्रीन, कृत्रिम बुद्धिमत्ता (एआइ) मोबाइल एप्स र डिजिटल प्लेटफर्महरू मार्फत उपभोक्तासँग जाेडिरहेका छन् । यी प्रतिनिधि कम्पनीका साथै अन्य कम्पनीहरूले मेलालाई प्रचार–प्रसारको थलोको रूपमा लिई विभिन्न तरिका अपनाउँदै  सहभागिता जनाइ रहेका छन् । 

महाकुम्भ मेला

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जनवरी, १३ अर्थात् सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ । यो विश्वकै सबैभन्दा ठूलो धार्मिक मेला हो । सन् २०१७ मा युनेस्कोले कुम्भ मेलालाई ‘अभौतिक सांस्कृतिक विश्व सम्पदा’ मा सूचीकृत गरेको थियो ।

सन् २०१३ को कुम्भ मेलामा अहिलेसम्मकै धेरै १२ करोड मानिस सहभागी भएको भनिएको थियो । यसपटक त्यसको ४ गुणाभन्दा धेरै ५० करोडभन्दा बढीले कुम्भ स्नान गर्ने दाबी गरिएको छ । गंगा, यमुना र सरस्वती नदीको संगममा भइरहेको मेला हरेक तीन वर्षमा आयोजना हुन्छ । तर, १२ वर्षको अन्तरालमा हुने कुम्भ मेलालाई महाकुम्भ भनिन्छ । तीन वर्षको अन्तरालमा हुने मेलालाई कुम्भ मेला भनिन्छ । महाकुम्भ मेला प्रयागराज, नाशिक, हरिद्वार र उज्जैनमा पालैपालो आयोजना गरिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाकुम्भ मेला धार्मिक र सांस्कृतिकरूपमा सबैभन्दा धेरै मान्छे भेला हुने कार्यक्रम हो । भारत सरकारले महाकुम्भ मेला आयोजनाका लागि सात हजार करोड भारतीय रुपैयाँ खर्च गरेको बताएको छ । मेलामा आउने तीर्थालुका लागि भनेर एक लाख ६० हजार टेन्ट, एक लाख ५० हजार शौचालय, १२ सय ४९ किलोमिटर लामो खानेपानीको पाइपलाइन बिछ्याएको छ । महाकुम्भका लागि भनेर चार हजार हेक्टर क्षेत्रफलको अस्थायी सहर बनाइएको छ ।

सुरक्षाका लागि भनेर मेला आयोजना गरिएको क्षेत्रमा एक हजार प्रहरी खटाएर चेकपोस्ट राखिएको छ । ५० हजार सुरक्षाकर्मी खटाइएका छन् । कृत्रिम बौद्धिकता जडित (एआई) दुई हजार ७०० भन्दा बढी सीसीटीभी राखिएका छन् । आकाशमा र पानीभित्र १०० मिटरसम्म पुग्ने गरी ड्रोनको समेत व्यवस्था गरिएको उत्तर प्रदेश सरकारले बताएको छ ।

यही मेलाका लागि भनेर भारत सरकारले विशेष रेल्वे र बस सेवासमेत सुरु गरेको बताएको छ । दानव र भगवान् विष्णुबीच अमृतका लागि लडाइँ हुँदा अमृतको घडाबाट केही थोपा अमृत प्रयागराज, नाशिक, उज्जैन र हरिद्वारमा खसेको विश्वास गरिन्छ। यही विश्वासका आधारमा गंगामा डुबुल्की लगाएमा पाप पखालिने र आत्माका शुद्धीकरण हुने जनविश्वास छ ।

(स्राेतः विभिन्न सञ्चार माध्यमबाट साभार)