‘इन्सुरटेक’लाई बीमा कम्पनीले प्रतिस्पर्धीकारुपमा हेर्छन्, तर सहयात्री हुन् : युगेन गौतम

‘इन्सुरटेक’लाई बीमा कम्पनीले प्रतिस्पर्धीकारुपमा हेर्छन्, तर सहयात्री हुन् : युगेन गौतम


काठमाडौं – नियो एस्योरका महाप्रबन्धक युगेन गौतमले नेपाली बीमा क्षेत्रमा ‘इन्सुरटेक’को सुरुवात भइसकेको बताएका छन् । बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा सम्पन्न दोस्रो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श, २०२५’को तेस्रो सत्रमा बोल्दै उनले इन्सुरटेकमा लगानी सुरु भइसकेको बताएका हुन् ।

‘इन्सुरटेकमा भएको लगानीले बीमा क्षेत्रमा सुनौलो बिहानी सुरु भइसकेको दर्साउँछ,’ बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू’ नामक सत्रमा बोल्दै उनले भने, ‘नियाे एस्योरले ३ वर्ष अघिदेखि नै कर्पोरेट एजेन्सीकारुपमा नेपालमा काम सुरु गरिसकेको छ ।’ नेपाल बीमा प्राधिकरणले कर्पोरेट एजेन्सीको प्रावधानलाई फर्मलाइजेसन गरेपछि नियो एस्योरले प्रभावकारीरुपमा काम अघि बढाइरहेको बताए ।

‘यस्तै, २०२४ मा डिजिटल इन्स्योरेन्स गाइडलाइन्सले माइलस्टोन क्रियट गरेको छ,’ गौतमले भने, ‘यसले भविष्यका लागि राम्रो बाटो खुलेको छ । यसबाहेक डिजिटल इन्स्योरेन्स गाइडलाइन्स हालसालै आएकाले यसलाई एडप्ट गरिरहेका छौँ ।’ यसबाट कर्पोरेट एजेन्टकारुपमा रहेका कम्पनीले बीमालाई डिजिटलाइजेसन गर्न ठुलो भूमिका खेल्छन् ।

तर, बीमा कम्पनीहरूले कर्पोरेट एजेन्टकारुपमा स्थापित कम्पनीलाई प्रतिस्पर्धीको नजरबाट हेर्ने गरेका छन् । यसो नगरी सहकार्य गर्ने गरी सोच्न र काम गर्न जरुरी रहेको गौतमको भनाई छ । ‘हाम्रो लक्ष्य पनि बीमाको पहुँचलाई नै प्रवर्द्धन गर्ने हो,’ उनले भने, ‘कर्पोरेट एजेन्टकारुपमा काम गर्दै गर्दा देशव्यापीरुपमा हाम्रा कर्मचारीको संख्या १५ हजार नाघेको छ । उनीहरूले बीमाको दायरा र व्यवसाय विस्तारकै लागि काम गर्छन् ।’

उनकाअनुसार बीमा क्षेत्रमा ‘इन्सुरटेक’ विस्तार भएमा कम्पनीको सञ्चालन लागत र सेवा लागत नै घट्छ । यसबाट सेवाग्राहीले तिर्नुपर्ने रकमको लागत समेत घट्न जाँदा धेरैको पहुँचमा बीमा पुग्छ र बीमा गर्नेहरूको संख्या बढ्दै छ । ‘इन्सुरटेक कम्पनीको बीमा क्षेत्रमा लागत न्यूनीकरण र दायरा विस्तारमा ठुलो भूमिका हुन्छ,’ उनले भने ।