नेपालको ‘फिनटेक’मा क्रान्ति भइसक्यो, अब ‘इन्सुरटेक’मा लगानी आवश्यक छ : डेपुटी सीईओ कँडेल

नेपालको ‘फिनटेक’मा क्रान्ति भइसक्यो, अब ‘इन्सुरटेक’मा लगानी आवश्यक छ : डेपुटी सीईओ कँडेल


काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) निराजन कँडेलले नेपालको बीमा क्षेत्र ‘डिजिटाइजेसन’को चरणमा रहेको बताएका छन् । बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा भएको दोस्रो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श’को तेस्रो सत्रमा बोल्दै कँडेलले बीमा कम्पनीहरु ‘डिजिटलाइजेसन’भन्दा अघिल्लो अर्थात ‘डिजिटाइजेसन’को चरणमा रहेको बताएका हुन् ।

उनकाअनुसार ‘डिजिटाइजेसन’ र डिजिटलाइजेसन दुई वटा शब्द हुन् । बीमा कम्पनीहरुले आफ्नो डकुमेन्टलाई स्क्यान गरेर ‘डिजिटाइजेसन’ गर्दैछन् । हस्पिटलले आफूसँग भएको ‘प्यासेन्ट’लाई अनलाईन फर्ममा राख्नु पनि ‘डिजिटाइजेसन’ हो । र‘, यो डिजिटलाइजेसनको फाउन्डेसन हो,’ कँडेलले भने, ‘तथ्यांकहरु डिजिटाइज हुँदैजाँदा डिजिटलाइजेसनको यात्रा सहज बन्दै जान्छ ।’

यतिबेला नेपालका बीमा कम्पनीहरू तथ्यांकलाई डिजिटलरुपमा परिणतमा व्यस्त रहेको उनको भनाई छ । डिजिटाइजेसन सकेर एआई, मसिन लर्निङ, ब्लक चेन, रोबोटिक प्रविधिमा पुग्नु चाँहि डिजिटलाइजेसन हो । डिजिटलाइजेसन बीमा कम्पनीहरूले दिने सबै सेवा ‘अटोमेसन’मा पुगेपछि हुने हो ।

‘नेपालमा स्टार्टअप माइन्डसेटको व्यक्ती हुनुहुन्छ भने यसमा लगानी भएको छैन,’ कँडेलले भने, ‘लगानीको अवसर छ । ‘फिनटेक’मा चाँहि क्रान्ति भइसकेको छ । तर ‘इन्सुरटेक’मा भएको छैन ।’ कँडेलका अनुसार नेपालमा ‘फिनटेक’मा एफवान सफ्टले क्रान्ति ल्याइसके पनि इन्सुरटेकमा लगानी नै भएको छैन ।

बीमा कम्पनीहरू स्वंमले इन्सुरटेकमा लगानी गर्न सम्भव नभएको समेत उनको भनाई छ । ‘भारत सन् २००८ मा जुन स्थिति थियो, आज नेपाल त्यही स्थितिमा छ,’ कँडेलले भने, ‘यही कारण इन्सुरटेकमा लगानीको उत्कृष्ट अवसर छ । आजसम्म लगानी भएको छैन ।’

यस्तै, बीमा कम्पनीहरूले टेलिम्याटिक्स प्रविधिको समेत प्रयोग सुरु गर्नुपर्छ । भारतले पहिलादेखि नै सुरु गरेको यो विधि नेपालमा अहिलेसम्म सुरु भएको छैन । यो प्रविधिले असावधानीपूर्वक सवारी चलाउने र सावधानी पूर्वक सवारी चलाउने चालकबीच जोखिमका आधारमा प्रिमियम शुल्क तय गर्न सक्छ । यही कारण, नेपालका बीमा कम्पनीहरूले समेत यो प्रविधि छिटो अँगाल्नुपर्ने कँडेलको भनाई छ।