बीमा कम्पनीहरु ‘डिजिटल’ बन्ने होडमा छन्, एआई र ब्लक चेन सदुपयोगको विकल्प छैन : सीईओ पराजुली

बीमा कम्पनीहरु ‘डिजिटल’ बन्ने होडमा छन्, एआई र ब्लक चेन सदुपयोगको विकल्प छैन : सीईओ पराजुली


काठमाडौं – नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुलीले बीमा कम्पनीहरू ‘डिजिटल’ बन्ने होडमा लागेको बताएका छन् । ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श, २०२५’ को तेस्रो सेसनमा बोल्दै बीमा कम्पनीहरू भौतिकरुपमा दिँदै आएको सेवा छाडेर ‘डिजिटल’ सेवा दिने होडमा लाग्न थालेका हुन् ।

‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू’ नामक सत्रमा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीहरू प्रविधिको उच्चतम प्रयोगतर्फ अघि बढे पनि सबै कम्पनी एउटै स्तरमा नरहेको बताए । ‘सबै कम्पनी प्रविधिको उच्चतम प्रयोगमा छैनन् । कतिपय कम्पनी संस्था डिजिटल बन्ने प्रक्रियामा छन्,’ उनले भने, ‘यद्यपि, कम्पनीहरू ‘पेपरलेस पोलिसि’मा अघि बढ्नका लागि नयाँ–नयाँ प्रविधिको अवलम्बनमा लाग्न थालेका छन् ।’

भविष्यमा बीमा कम्पनीहरू ‘रोबिटिक’ प्रक्रिया र अटोमेसन लगायतको प्रयोगमा समेत अघि बढ्ने उनको भनाई छ । रोबोटिक प्रक्रियाबाट सेवा दिनतर्फ धेरै कम्पनी अघि बढिसकेका छन् । कम्पनीका हिसाबमा नेपाल लाईले दुई/तीन वर्षमा प्रविधिको उच्चतम प्रयोग गर्नेछ । तर, समग्र बीमा क्षेत्रको विषयमा कुरा गर्दा भविष्यमा प्रविधिको उच्चतम प्रयोगबाट नै सेवाग्राहीलाई सेवा दिनतर्फ उद्यत छन् ।

सेवाग्राहीहरू बीमा कम्पनीको ब्रान्च र कार्यालय नपुगेर नै दाबी भुक्तानी पाउन थालिसकेको समेत पराजुलीको भनाई छ । ‘पूर्णरुपमा अटोमेसनमा नपुगे पनि डिजिटलाइजेसनमा कम्पनीहरू पुगेका छन्,’ उनको भनाई छ, ‘तर, कतिपय स्थितिमा पुरानै ढर्रामा पनि छन् । यद्यपि, बीमा कम्पनीहरू प्रविधिको प्रयोगमा विगतको तुलनामा अघि बढिसकेका छन् ।’ यसैगरी, कम्पनीहरू एआई, मसिन लर्निङ, ब्लक चेन, रोबोटिक प्रक्रिया लगायतका क्षेत्रमा अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।

‘एआईको चरणमा पुग्नका लागि कम्पनीहरूको स्तरअनुसारको समय लाग्छ,’ उनले थपे, ‘नेपालको समग्र साक्षरता ७७ प्रतिशत जनसंख्यामा पुगेको छ भने डिजिटल साक्षर जनताको संख्या ३१ प्रतिशत छ । यसमा ठुलो भिन्नता छ ।’ यस्तै, कम्पनीहरूले कस्ता खालका सेवालाई डिजिटलरुपमा अघि बढाउने भन्ने विषयमा भने स्पष्ट बन्नुपर्नेमा पराजुलीको जोड छ ।

‘डिजिटलाइजेसनमा लागेपछि लागत न्यूनीकरणसँगै जोखिम पनि बढ्छ नै । प्रविधिको प्रयोग गरेपछि लागत घट्दा सेवाग्राहीलाई समेत फाइदा पुग्न सक्ने स्थिति हुन्छ,’ उनले भने । यी सबै विषयलाई केलाउँदै कम्पनीहरूले डिजिटल नीति र यसमा गर्नुपर्ने लगानीलाई अघि बढाउनुपर्ने उनको भनाई छ । यसो हुन सक्यो भने डिजिटल क्षेत्रमा भएको लगानीको प्रतिफल समेत देख्न सकिन्छ ।