काठमाडौं – नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले नेपाल उच्च जोखिमयुक्त देश भएको बताएका छन् । दोस्रो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श’को उद्घाटन सत्रमा बोल्दै क्षेत्रीले नेपाल प्राकृतिक विपत्तिको जोखिमयुक्त मुलुक भएको बताएका हुन् ।
उनले भने, ‘नेपालममा उच्च जोखिम । जोखिमलाई न्यूनीकरण गर्ने मुख्य चुनौती हो । २०७२ सालमा भूकम्पको ठुलो पराकम्पका कारण धेरै क्षति व्यहोरेका थियौं ।’ उनले सो भूकम्प स्मरण गर्दै थपे, ‘त्यसक्रममा ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए भने ७ अर्ब अमेरिकी डलरको क्षति भएको थियो । जबकि, बीमाको दाबी १६ अर्ब रुपैयाँ मात्रै भएको थियो ।’
यस्तै, असोजमा गएको बाढीले समेत ठुलो क्षति भएको उनको भनाई छ । तर, सो क्षतिबाट समेत बीमा कम्पनीहरूमा दाबी जम्मा १२ अर्ब रुपैयाँ रहेको उनको भनाई छ । परेको दाबीमा पनि ‘भेरिफिकेसन’ पछि घट्न सक्ने क्षेत्रीले बताए । ‘बीमा अनिवार्य आवश्यकताको सूचीमा पर्छ,’ उनले भने, ‘यसबारे हामीले सर्वसाधारणलाई जानकारी दिनुपर्छ ।’
बीमा कम्पनीहरूमा दाबी भुक्तानीमा बखेडा झिक्ने गरेको आरोप लाग्ने गर्छ । यो आरोपको खण्डन गर्दै क्षेत्रीले गत वर्ष ४० अर्बको सबै कम्पनीहरूमा गरी कूल दाबी परेकामा २८ अर्ब रुपैयाँको भुक्तानी भइसकेको बताए । प्रत्येक वर्ष ६० देखि ६५ प्रतिशत दाबी भुक्तानी हुने र अन्य भुक्तानीमा विभिन्न कारण रहेको भनाई उनको छ ।
बीमा कम्पनीहरु पछिल्लो समय श्रृजनशील बन्न थालेपनि सरकारी तहबाट नबुझ्दा समस्या भइरहेको छ । सरकारको सम्पूर्ण सम्पत्ती असुरक्षित छ । ती सम्पत्तिलाई बीमाको दायरामा ल्याउन सकेमा सुरक्षा प्रदान हुन्छ । यस्तै, नेपालका पुर्नबीमा कम्पनीलाई व्यवसाय सुनिश्चित गर्नका लागि नेपालको पुर्नबीमा स्वदेशी कम्पनीमा नै गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसबाट नेपालको रकम विदेशिनबाट रोकिए पनि ठुलो क्षतिको हिसाबकिताब नगर्दा समस्या भइरहेको क्षेत्रीको भनाई छ । पुर्नबीमाको जोखिम धेरै ठाउँमा बाँड्नुपर्नेमा सबै नेपालमा राखिनु जोखिमयुक्त हो । यस्तै,यतिबेला नेपालको मुख्य प्राथमिकतामा परेको जलविद्युत क्षेत्रमा पनि उच्च जोखिम रहेकाले यसलाई न्यूनीकरण गर्नुपर्ने क्षेत्रीको भनाई छ ।
प्रतिक्रिया