किसानको उत्पादनलाई बजार दिँदै खाद्य व्यवस्था कम्पनी, बाँकेमा उत्पादित ११ करोडको धान किन्यो

किसानको उत्पादनलाई बजार दिँदै खाद्य व्यवस्था कम्पनी, बाँकेमा उत्पादित ११ करोडको धान किन्यो


राँझा – बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब ११ करोड रुपैयाँ बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई ११ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

‘धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ’, कार्यालय प्रमुख लामिछानेले भने, ‘स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।’

धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए । ‘पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने ।

मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।

गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताए ।

‘गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ’, लामिछानेले भने, ‘गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।’

पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए । उनकाअनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।

सीईओको प्रभाकारी कार्यकारी सम्पादन

सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपस्थिति कमजोर रहेको भन्ने गुनासो आइरहँदा पछिल्लो समय भने बजारमा केही सकारात्मक प्रभाव देखिन थालेको छ । कम्पनीको मुख्य दायित्व नागरिकलाई सहज र सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुका साथै किसानले उत्पादन गरेको खाद्यान्न खरिद गरी भण्डारण गर्ने र अभावका बेला दुर्गम जिल्लामा समेत खाद्यान्न उपलब्ध गराउनु हो । कम्पनीसँग आवश्यक पूर्वाधार र पर्याप्त जनशक्ति हुँदा पनि बजारमा उपस्थिति सशक्त हुन सकेन भनेर खण्डन भइरहँदा पछिल्लो समय भने कम्पनीको मुख्या कार्यालय होस् या देशका विभिन्न शाखा कार्यालयमा कार्यसम्पादनमा सकरात्कता देखिएकाे छ। 

बजारमा बिचौलियाको हाबी हुँदा किसानहरूले झेल्दै आएका उत्पादनको मूल्य र बजार अभाव जस्ता समस्याबाट पछिल्लो समय केही हदसम्म भए पनि मुक्ति पाएका छन् । गत साउनमा खाद्य व्यवस्था कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश आचार्य नियुक्त भएसँगै किसानहरूले बिचौलियाबिना सिधै कम्पनीलाई व्यापार गर्न पाउने व्यवस्थामा थप सहजीकरण गरेसँगै किसानहरूले राहत पाएका हुन् । केही हदसम्म किसानहरूले आफ्नो बजार मूल्य पाएको अनुभूत गर्नु समग्र कृषि क्षेत्रलाई सकारात्मक ऊर्जा मिल्नु हो । बजारमा कम्पनीले बलियो उपस्थिति जनाउनुले समग्र कृषि क्षेत्रमा टेवा पुग्ने देखिन्छ ।