सोनापुरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, वार्षिक तीन अर्ब आम्दानी

सोनापुरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, वार्षिक तीन अर्ब आम्दानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा प्राथामिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

सरकारले पूँजी बजारमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको उच्च हिस्सा घटाएर वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउनका लागि बजेट मार्फत कर छुट सुविधा दिने नीति लिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सो नीति कार्यान्वयन गर्दै बुक बिल्डिङ विधिबाट प्रिमियम मूल्यमा सेयर जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि यस्तो प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । कम्पनीले साउन १५ गते आइतबार बत्तीसपुतली स्थित आफ्नै कार्यालयमा दिउँसो ४ बजे १४ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभामा प्रिमियम मूल्यमा सेयर जारी गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण सञ्चालकको निर्वाचन र बैठक भत्ता लगायतका प्रस्ताव पेश गर्ने एजेण्डा राखिएको छ।

कम्पनीले सार्वजनिक शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई २ अर्ब बराबरको सार्वजनिक निष्काशन गर्नेछ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । दाङमा उद्योग रहेको कम्पनीले आधा दर्जन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट सोना श्री सिमेन्ट लगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ।

उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक १२५० टन रहेको छ । क्लिंककर उत्पादन क्षमता २३०० टन रहेको छ । कम्पनीसँग हाल एउटै स्थानमा रहेका दुईवटा चुनढुङ्गा खानी उत्खनन अनुमतिपत्र छ ।

सिमेन्ट र क्लिंकर बेचेर झन्डै ३ अर्ब रुपैयाँ सञ्चालन आम्दानी

उद्योगले सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको १० महिनामा सोनापुरले १ अर्ब ९७ करोड ७० लाख रुपैयाँ व्यापार गरेको छ ।

उद्योगको कुल आम्दानीमा क्लिंकरको हिस्सा ४० प्रतिशत रहेको छ । सोनापुरले अहिले क्लिंकरका साथै सिमेन्ट उत्पादन गरिरहेको छ । क्लिंकर प्लान्टको प्रयोग बढेर ८० प्रतिशत पुगेको छ ।

सोना सिमेन्ट ब्रान्डमा ओपीसी र सोना सिमेन्ट पीपीसी तथा सोनाटेक पीपीसी उत्पादन गर्दै आएको उद्योगले हालै ७ अर्ब २८ करोड ७० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस नेपालले कम्पनीको ऋणलाई केयर एनपी ए फोर रेटिङ दिएको छ ।

सोनापुरले सिमेन्ट उत्पादन बढाउन मेसिन जडान गरिरहेको छ । नयाँ मेशिन जडानपछि कम्पनीको क्लिंकर उत्पादन १६५० टन र ग्रन्डिङको क्षमता २३०० टन विस्तार हुने बताइएको छ ।

सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको हो । उद्योग तयाल परिवारले स्थापना गरेको हो । उद्योगको अध्यक्षमा रतनलाल तयाल रहेका छन भने प्रबन्ध सञ्चालकमा निपेश तयाल रहेका छन् ।