ऋणपत्रमा लगानी गर्नेहरु घाटामा, १००० को ऋणपत्र ८०० नजिक

ऋणपत्रमा लगानी गर्नेहरु घाटामा, १००० को ऋणपत्र ८०० नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौंं । वाणिज्य बैंकहरुको ऋणपत्रमा लगानी गर्नेहरु पछिल्लो समय घाटामा छन् । दोश्रो बजारमा ऋणपत्रको भाउ अंकित मूल्यभन्दा पनि तल झरेकाले त्यसमा लगानी गर्नेहरुलाई घाटा भएको हो ।

पछिल्लो समय एक हजार रुपैयाँ अंकित मूल्य रहेको ऋणपत्रको भाउ घटेर ८ सयको हाराहारीमा आइसकेको छ । नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम बैंकको ऋणपत्रको मूल्य ८ सय रुपैयाँमा झरेको छ भने अधिकांशको ९ सय रुपैयाँको रेञ्जमा छन् ।

यी दुईमध्ये सबैभन्दा बढी घाटा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा लगानी गर्नेलाई भएको छ । ८.५ प्रतिशत व्याजदर तोकिएको बैंकको ऋणपत्रको मूल्य ८१५.१० रुपैयाँमा झरेको छ । जुन सबैभन्दा न्यूनतम मूल्य हो । अंकित मूल्य एक हजार रुपैयाँदेखि नेप्सेमा कारोबार भएको उक्त ऋणपत्रको भाउ घटेर ८१५ रुपैयाँसम्म झरेको थियो ।

त्यस्तै, प्राइम बैंकको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्रको मूल्य प्रतिथान ८३३ रुपैयाँ छ । अधिकतम एक हजार रुपैयाँमा कारोबार भएको प्राइमको ऋणपत्र न्यूनतम ७८५ रुपैयाँसम्ममा कारोबार भएको छ ।

त्यस्तै, अधिकांश बैंकका ऋणपत्रको मूल्य ९ सयदेखि एक हजार रुपैयाँको बीचमा छन् । जसको व्याजदर ८.५ प्रतिशतदेखि ११ प्रतिशतसम्म छ । ११ प्रतिशत व्याजदर तोकिएको ‘एनआईसी एशिया डिबेन्चर ०८२/८३’ को मूल्य पनि हाल न्यूनतम मूल्यमा किनबेच भइरहेको छ । प्रतिथान एक हजार २४६ रुपैयाँ पुगेको उक्त ऋणपत्रको मूल्य घटेर ९९० रुपैयाँमा झरेको छ ।

यता हिमालयन बैंक र नेपाल बैंकको ऋणपत्रमा लगानी गर्नेहरु भने फाइदामा नै छन् । असार १६ गतेसम्मको तथ्यांक हेर्दा १० प्रतिशत व्याजदर तोकिएको हिमालयन बैंकको ऋणपत्रको भाउ प्रतिथान १०८३ रुपैयाँ छ । जसको ऋणपत्रको मूल्य १०५० रुपैयाँभन्दा तल झरेको छैन भने अधिकतम ११२८ रुपैयाँसम्म कारोबार भएको छ ।

त्यस्तै, ८.५ प्रतिशत व्याजदर तोकिएको नेपाल बैंकको ऋणपत्रको मूल्य हाल १०२० रुपैयाँ छ । जुन उक्त ऋणपत्रको हालसम्मकै अधिकतम मूल्य हो । यो अवधिसम्म बैंकको सो ऋणपत्र न्यूनतम एक हजार रुपैयाँमा भएको छ ।

किन घट्यो मूल्य ?

पछिल्लो समय विभिन्न बैंकले अधिकतम व्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरिरहेका छन् । पहिला ८ प्रतिशत व्याजदर तोकेर ऋणपत्र जारी गरेका कम्पनीले अहिले ११ प्रतिशतसम्मको व्याजदर तोकेर ऋणपत्र निष्काशन गरिरहेका छन् । यससँगै दोश्रो बजारमाभन्दा प्राथमिक बजारमा बढी व्याजदरको ऋणपत्र पाउन थालेपछि लगानीकर्ता यता मोडिएका हुन सक्ने बुझिन्छ । जसले गर्दा दोश्रो बजारमा लगानी गरेकाहरु घाटामा छन् ।

नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्म चुक्ता पुँजी २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेसँगै बैंकहरुले भटाभट ऋणपत्र जारी गरिरहेका छन् । प्राइम बैंकले हालै मात्रै १०।१५ प्रतिशत व्याजको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । त्यस्तै, सिद्धार्थले १०.७५ प्रतिशत, सानिमा १०.२५ प्रतिशत, सिभिलले ११ प्रतिशत, बैंक अफ काठमाण्डूले ११ प्रतिशत, हिमालयन बैंकले १०.५० प्रतिशत, कुमारीले ११ प्रतिशत, एभरेष्टले १०.५ प्रतिशत, नेपाल बैंकले पनि १०.५ प्रतिशत व्याज तोकेर ऋणपत्र बिक्रमा राखेका छन् । यीमध्ये केहीको भने माग अनुसारकै ऋणपत्र बिक्री भइसकेको छ । यसरी बजारमा उच्चतम व्याजदरको ऋणपत्र फालाफाल भएसँगै दोश्रो बजारमा यसको भाउ खस्किँदै गएको हो ।
साथै, विगत केही महिनादेखि सेयर बजार निरन्तर रुपमा घट्दो छ । जसको असर बैंकहरुको ऋणपत्रमा परेको र भाउ घट्दै गएको पनि हुन सक्ने बुझिन्छ ।