भक्तपुर -भक्तपुर नगरपालिकाले आयोजना गरेका पाँंच दिने भक्तपुर महोत्सव–२०८१ मा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । मङ्सिर २८ गतेदेखि सुरू भएको महोत्सवमा प्रत्येक दिन एक लाख आन्तरिक पर्यटकको आगमन भएको र शनिबार तथा आइतबार बिदाका दिन दैनिक करिब दुई लाखका दरले आन्तरिक पर्यटकको आगमन भएको भक्तपुर नगरपालिका मेला आयोजक समितिले जानकारी दिएको छ ।
भक्तपुर नगरपालिकाको ऐतिहासिक नगरीभित्र प्रवेश गर्ने चारै नाकाबाट सुरू हुने महोत्सवको विभिन्न झलकले आउने आन्तरिक एवं बाह्य पर्यटकलाई दिन गएको पत्तै नहुने गरि आकर्षण दिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउँदै भक्तपुरलाई विश्वभर चिनाउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको महोत्सवमा नौका बिहारदेखि यहाँका जात्रा, पर्व र परम्परा नजिकबाट नियाल्न सकिने नगर प्रमुख सुनिल प्रजापति बताउँछन् ।
कमलविनायकस्थित यातुबारे पुखु तथा भाज्या पुखु, नः पुखु, सिद्ध पोखरीमा नगरपालिकाले महोत्सवका क्रममा नौका बिहार सञ्चालन गरेको छ । पोखरीमा कतै नौका बिहार त कतै वाटर साइक्लिङको मजा लिने व्यवस्था गरेको छ ।
कमलविनायक लामगाल चउरको पुस्तक प्रदर्शनीमा १७ वटा प्रकाशनगृहको पुस्तक प्रदर्शनी गरिएको छ । बाँसुरीबाजा प्रतियोगिता गर्नुका साथै विद्यार्थी निकेतन माविको प्राङ्गणमा ऐतिहासिक, सांस्कृतिक तथा जीवनशैलीको फोटो प्रदर्शनी गरिएको छ । भक्तपुर दरबार क्षेत्रको पुरानो जनज्योति पुस्तकालय रहेको ठाउँमा ५० जना कलाकारको आफ्नो कला प्रदर्शनी गरेको छन् भने मूर्तिकार विकल प्रजापतिको एकल मूर्तिकला दर्शकको ध्यान केन्द्रीत गरेको छ ।
ख्वप कलेज देकोचा परिसरमा विभिन्न विद्यालयको शैक्षिक मेला तथा प्रदर्शनी रहेको क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शनी भइरहेको छ । विभिन्न विद्यालयको शैक्षिक प्रदर्शनी रहेको भेलुखेल क्षेत्रमा बालमैत्री मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको छ । टोलटोलमा प्रदर्शन भएको लोभलाग्दो नेवार संस्कृतिबाट पर्यटकहरू लोभिएका छन् ।
विभिन्न भजन टोलीद्वारा यहाँका चोकचोकमा विभिन्न सन्देश प्रवाह गर्ने भजनहरूले आउनेहरूलाई पुरानो संस्कृतिको झल्को दिलाएको छ । सूर्यमढी टोलमा ८० वर्ष पुरानो ल्हो चाख, १०० वर्ष पुरानो सिं चाख तथा टायर र आधुनिक बिजुलीको चक्काबाट सलि, खुत्रुके, गमला, भाजं, घ्यर्वा, चिलं धुपौरो, गपचाजस्ता माटोको भाँडाहरू बनाएरू प्रर्दशनी गरेको छ ।
वाकुपति नारायण स्थान र दत्तात्रय क्षेत्रमा अन्नहरूको चित्र हलिमलि तथा परम्परा बाजाहरू तथा तलातुन्छी गणेशको द्योछेँ परिसरमा विश्वकर्मा भैल प्याखंको पोसाक, बाजा तथा माटाको नेवारी भाँडाकुँडा प्रदर्शनी गरिएको छ । एक वर्षभित्र यहाँ मनाइने भक्तपुरका सांस्कृतिक र परम्परागत जात्राहरू हेर्ने अवसर पनि प्रदान गरेको छ । ल्योसिंखेल टोलमा ५५ हात लामो लिङ्गो उठाउने बिस्केट जात्रा प्रदर्शन गरिनुका साथै गाईजात्रा, घिन्ताङघिसी लगायतका विभिन्न ऐतिहासिक नाच र नेवार समुदायमा १५ दिनमा आउने प्रत्येक जात्रा, पर्व, नाचलाई महोत्सवमा प्रदर्शन गरिएको छ ।
महोत्सवका मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रम बाँसुरी प्रतियोगिता, भजन, नौबाजा, नृत्य प्रदर्शनी, पौभा कला, परम्परागत खेलकुद, नेवारी जीवनशैली, माटोका सामग्री प्रदर्शनी, मेला खाना महोत्सव, दही महोत्सव र मनोरञ्जनात्मक गतिविधि हर्न सकिन्छ ।
नेवार जनजीवनसँग सम्बन्धित न्येदा पुन्ही, पेदापुन्ही, ईहि, बाह्रा तयगु, कयता बेगु, भिं ईपा, जंको प्रदर्शनी, महिला समूहको समयबजी, योमरीको स्टललागयत विभिन्न खानाको स्टलमा यहाँका खानाको स्वाद चाख्न पनि पाइन्छ ।
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनालाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गरी पर्यटन उद्योगमार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पुर्याउने महोत्सव सफल भएको नगर प्रमुख प्रजापतिले बताए ।
प्रतिक्रिया