धमाधम हकप्रद बिक्री गर्दै बीमा कम्पनी, सेबोनको अनुमति कुर्दै पाइपलाइनमा

धमाधम हकप्रद बिक्री गर्दै बीमा कम्पनी, सेबोनको अनुमति कुर्दै पाइपलाइनमा

२ वटाले पाइसके स्वीकृति, अनुमति कुर्दै ८ बीमा कम्पनी


काठमाडौं – नेपाल धितो पत्र बोर्ड धितोपत्र बोर्डले एक वर्षपछि नेतृत्व पाएपछि रोकिएको यस अवधिमा रोकिएका सबै काम तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । बोर्डको अध्यक्ष पद २०८० पुसदेखि खाली हुँदा सबैजसो काम रोकिएका थिए । यसको प्रभाव हकप्रद शेयर बिक्रीको अनुमतिमा रहेका बीमा कम्पनीमा समेत परेको थियो ।

हकप्रद शेयर बिक्रीको अनुमति माग्दै ९ वटा बीमा कम्पनी बोर्ड पुगेका छन् । यीमध्ये २ वटा कम्पनीले अनुमति पाइसके । अनुमतिको पखाइमा थप ७ वटा कम्पनी छन् । एसियन लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफ हकप्रद शेयर बिक्री अनुमतिको पखाइमा छन् । यस्तै, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र नेको इन्स्योरेन्स समेत हकप्रद बिक्री अनुमतिको पखाइमा छन् ।

यी कम्पनीहरूमध्ये कतिपयले अनुमतिको आवेदन दिएको धेरै भइसक्यो । तर, बोर्ड नेतृत्वविहीन बन्दा रोकिएका दर्जन कामको सूचीमा यी कम्पनीको हकप्रद बिक्री अनुमति समेत रहेका छन् । बोर्डको अध्यक्ष पद झन्डै एक वर्ष खाली हुँदा रोकिएका अन्य प्रक्रिया जस्तै यी बीमा कम्पनीको हकप्रद शेयरको स्वीकृति समेत रोकिएको हो ।

२०८० फागुनमा हकप्रदको अनुमति मागेको प्रभाव महालक्ष्मीको काम अझै अघि बढेको छैन । यद्यपि, बोर्डले एक पटक यो कम्पनीको फाइल अघि बढाए पनि थप कागजात माग्दै फिर्ता पठाएको थियो । यस्तै, सन् नेपाल लाइफले २०८१ असार २३ गते आवेदन दिएको थियो । नेपाल इन्स्योरेन्सले २०८१ असार २४ मा, युनाइटेड अजोडले २०८१ असोज ४ मा, सानिमा जिआइसीले कात्तिक ३० गते आवेदन दिएका थिए ।

यसै गरी, एसियन लाइफले २०८१ कात्तिक १२ गते, प्रभु इन्स्योरेन्सले २०८१ कै १२ गते र नेको इन्स्योरेन्सले २०८१ कात्तिक ७ गते अनुमति माग्दै आवेदन दिएका थिए । यता लाइफ इन्स्योरेन्स कर्पोरेशन र एनएलजी इन्स्योरेन्सले भने यही वर्षको असोज १४ गते अनुमति पाइसकेका छन् ।

६ अर्बभन्दा बढीको हकप्रद

अनुमतिको पखाइमा रहेका बीमा कम्पनीहरूको गरी कूल ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हकप्रद शेयर बिक्री खुल्ने भएको छ । जसमध्ये एसियन लाइफको १ अर्ब ४२ करोड ७९ लाख बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद बिक्री खुल्नेछ । यसैगरी, सन नेपाल लाइफको १ अर्ब ६९ करोड ६ लाख ३२ हजार बराबरको १ करोड ६ लाख ९६ हजारको कुल कित्ता हकप्रद बिक्रीको अनुमति मागेको छ ।

प्रभु महालक्ष्मीले ७३ करोड ३ लाख वीस हजार बराबरको ७३ लाख ३ हजार २०० कित्ता, प्रभु इन्स्योरेन्सले ८३ करोड ५० लाख बराबरको ८३ लाख ५० हजार कित्ता, नेपाल इन्स्योरेन्स कम्पनीले ६५ करोड ७६ लाख ३७ हजार बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद शेयरको अनुमति मागेको छ । युनाइटेड अजोडले ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता, नेको इन्स्योरेन्सले ५० करोड ३० लाख बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद बिक्रीको अनुमति मागेको छ । यस्तै सानिमा जीआईसीको ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता शेयर आउँदैछ ।

एलआईसी र एनएलजीको आउँदै

दुईवटा बीमा कम्पनीलाई हकप्रद शेयर बिक्रीका लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । एलआईसी नेपाल र एनएलजीलाई बोर्डले अनुमति दिइसकेको हो । एलआईसीले हालको चुक्ता पुँजीको १ः०.८८४५ अनुपातमा हकप्रद शेयर जारी गर्ने अनुमति पाइसकेको हो । अनुमति पाएपछि कम्पनीहरुले आफ्ना शेयरधनीलाई हकप्रद शेयर बिक्री खुलाइसकेका छन् ।

यस्तै, एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी १ः०.६२.५६ प्रतिशत हकप्रद शेयर ल्याउने अनुमति पाइसकेको छ । कम्पनीले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर बिक्रीको अनुमति पाएसँगै प्रक्रिया अघि बढाइरहेको छ । यी दुई कम्पनीले कूल साढे ३ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुलाउनेछन् । यसो गर्दा अनुमतिको पखाइमा रहेका र अनुमति पाइसकेका कम्पनीले बोर्डबाट अनुमति पाएमा कूल साढे ९ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद शेयर बिक्री गर्नेछन् ।