‘सम्पत्ति बेचेर विदेश पैसा लैजान के गर्नुपर्छ भन्दै सोध्न आउँछन्’

‘सम्पत्ति बेचेर विदेश पैसा लैजान के गर्नुपर्छ भन्दै सोध्न आउँछन्’

ग्रासरुट लेभलमा सम्पत्ति शुद्धीकरणकाे चेतना शून्य छ – डेपुटी गभर्नर डा. ढुंगाना


काठमाडौं – डेपुटी गभर्नर डा. निलम ढुंगानाले डिजिटल बैंकिङ्गको क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि पर्याप्त भई नसकेको बताएकी छिन् । बैंकिङ्ग समाचारद्वारा आयोजित दोस्रो राष्ट्रिय बैंकिङ्ग बहसको प्रतिवेदन बुझ्नेक्रममा ढुंगानाले डिजिटल पेमेन्ट पूर्वाधार र नयाँ इनोभेसनमा थप काम गर्नुपर्ने बताएकी हुन् ।

यस्तै, डा. ढुंगानाले क्रिप्टोको विषयमा पनि केन्द्रित हुनुपर्ने बताइन् । डिजिटलको कुराकानी गर्दा क्रिप्टोको विषय उठ्ने र यसमाथि लगाइएको ब्यान्डबारे सर्वसाधारणमा जानकारी नभएको उनको भनाइ छ । ‘नेपालबाट क्रिप्टोमा लगानी गर्नु गैर कानुनी हुन् र हुन्डीको कारोबार पनि गैर कानुनी हो भन्ने विषयमा हामी सबैले ध्यान पुर्‍याउनुपर्छ,’ उनले भनिन्, ‘यसमा सबैको ध्यान बढ्दा वित्तीय साक्षरता पनि बढ्छ ।’

यसैगरी सम्पत्ति शुद्धीकरणबारे समेत सर्वसाधारणमा जनचेतना फैलाउन जरुरी रहेको डेपुटी गभर्नर डा. ढुंगानाको भनाइ छ । ‘सम्पत्ति शुद्धीकरणबारे छानबिन गर्दैमा सबै सकिने भन्ने हुँदैन,’ उनले थपिन्, ‘यो एउटा प्रक्रिया हो । छानबिनका क्रममा कर छली लगायतका विषय भेटिएमा मात्रै कारबाही हुने हो ।’

‘छानबिनका क्रममा निर्दोष रहेमा कारबाही नहुने र गैर कानुन रहेको भेटिएमा जफत हुने हो । यो सम्पत्ति शुद्धीकरणकाे विषयमा पनि हामीले चेतना फैलाउन जरुरी छ,’ डा. ढुंगानाले थपिन्, ‘ग्रासरुट लेभलमा सम्पत्ति शुद्धीकरणकाे चेतना शून्य छ ।’ सामान किन्दा बिल लिनुपर्ने, सीमा पारिबाट ल्याइने सामाग्री लगायतका विषयमा जानकारी फैलाउन जरुरी रहेको ढुंगानाले थपिन् ।

यस्तै, नेपालको सबै सम्पत्ति बेचेर विदेशमा पैसा लैजान के गर्नुपर्छ भन्दै बुझ्न आउनेहरूको जमात ठुलो रहेको उनको भनाइ छ। कानुनको ज्ञान नहुँदा र आवश्यकताअनुसारको चेतना फैलाउन नसक्दा यस्तो भएको डा. ढुंगानाको बुझाइ छ ।