काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि ‘जोखिम व्यवस्थापन मार्गदर्शन–२०२४’ जारी गरेको छ । केन्द्रीय बैंकले विश्वव्यापी वित्तीय संकटको पछिको समयमा, जोखिम व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू केन्द्रीय बैंक र अन्य सोसँग सम्बन्धीत निकायको प्रमुख नीतिगत चासो बनिसकेको भन्दै जोखिम व्यवस्थापन मार्गदर्शन जारी गरेको जनाएको हो ।
केन्द्रीय बैंकले जोखिम व्यवस्थापन बिना कुनैपनि लघुवित्त संस्थाले सफलता हासिल गर्न नसक्ने बताउँदै जोखिम व्यवस्थापन नहुँदा काम गर्न पनि असहज हुने बताएको छ । केन्द्रीय बैंकले लघुवित्त संस्थालाई अगाडी बढाउन र वित्तीय स्थिरता कायम गर्नको लागि जोखिम व्यवस्थापन मार्गदर्शन आवश्यक रहेको बताएको छ । ‘नेपालको वित्तीय प्रणालीमा लघुवित्त संस्थाको बढ्दो भूमिकासँगै, दीर्घकालिन स्थिरताका लागि सक्रिय जोखिम व्यवस्थापनको आवश्यकता अनिवार्य छ’ केन्द्रीय बैंकले मार्गदर्शनमा भनेको छ ।
नेपाल राष्ट्र बैंकले सबै व्यक्तिगत लघुवित्त संस्थाहरूको वित्तीय स्थिरता र समग्र वित्तीय क्षेत्रको स्थिरता सुधार गर्न, लघुवित्त संस्थाहरूलाई ठोस जोखिम व्यवस्थापन ढाँचा अपनाउन र कार्यान्वयन गर्न प्रोत्साहित गर्नुका साथै विभिन्न जोखिमहरूको मूल्याङ्कन र उपचारका लागि जोखिम व्यवस्थापनका उपकरण र प्रविधिहरूलाई प्रस्तुत गर्न यो मार्गदर्शन जारी गरेको जनाएको छ ।
केन्द्रीय बैंकले लघुवित्त संस्थाको आन्तरिक अडिटले पनि जोखिम व्यवस्थापन गर्न सहजता प्रदान गर्ने बताएको छ । लघुवित्त संस्थाहरूको जोखिम व्यवस्थापन ढाँचामा नीतिहरू, प्रक्रिया, सीमाहरू र नियन्त्रणहरू समावेश गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार लघुवित्त क्षेत्रमा आन्तरिक नियन्त्रणले संस्थाको जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ । संस्थामा आन्तरिक नियन्त्रण संरचना लागू गरिएसँगै व्यवस्थापनले संस्थाको जोखिम सहिष्णुता र रणनीतिसँग मेल खाने स्तरमा जोखिमलाई नियन्त्रण गर्न अझ सक्षम हुने केन्द्रीय बैंकको बुझाई छ ।
केन्द्रीय बैंकद्वारा जारी जोखिम व्यवस्थापन निर्देशनमा चार प्रमुख जोखिमहरूको व्यवस्थापनको विवरण समावेश गरिएको छ । जसमा क्रेडिट जोखिम, तरलता जोखिम, अपरेशनल जोखिम, बजार जोखिम रहेका छन् ।
क्रेडिट जोखिम व्यवस्थापन
केन्द्रीय बैंकद्धारा जारी मार्गदर्शनमा क्रेडिट जोखिमको विषयलाई उठान गरेको छ । केन्द्रीय बैंकले माइक्रोफाइनान्सहरूले आफ्नो क्रेडिट जोखिमको मूल्याङ्कन गर्नका लागि उचित प्रक्रिया अपनाउनुपर्ने भन्दै नीतिहरूको आवश्यकता पर्ने बताएको छ । केन्द्रीय बैंकले भविष्यमा संस्थाहरूलाई देखापर्ने क्रेडिट जोखिमसँग लड्नका लागि लागू भएका व्यवस्थाहरू पर्याप्त छन् कि छैन भनेर मूल्याङ्कन पहिले नै गर्नुपर्ने बताएको छ ।
राष्ट्र बैंकले क्रेडिट जोखिम रणनीतिलाई संस्थाभरि सञ्चालन गर्नुपर्ने र समय समयमा बोर्ड वा व्यवस्थापनले पुनरावलोकन गर्नुपर्ने व्यवस्था गरेको छ । क्रेडिट जोखिम रणनीतिले समग्र क्रेडिट पोर्टफोलियोको संरचना र गुणस्तरमा हुने परिवर्तनहरूको विचार गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । क्रेडिट नीतिहरूले माइक्रोफाइनान्सका गतिविधिहरूमा सबै क्रेडिट जोखिमलाई व्यक्तिगत र पोर्टफोलियो स्तरमा सम्बोधन गर्नुपर्ने हुन्छ ।
तरलता जोखिम व्यवस्थापन
केन्द्रीय बैंकले तरलतालाई वित्तीय प्रणालीको समुचित कार्यको लागि अनिवार्य तत्वको रुपमा लिएको छ । केन्द्रीय बैंकले तरलता जोखिम व्यवस्थापनलाई प्राथमिक महत्त्व दिनुपर्ने बताएको छ । तरलता जोखिम व्यवस्थापन रणनीतिले विशेषगरी वास्तविक र लक्षित तरलता अवस्थालाई समावेश गर्नुपर्छ । तरलता जोखिम इच्छाशक्ति विभिन्न तनाव परिदृश्यहरूमा न्यूनतम जीवित रहनु पर्ने अवधिहरूको रूपमा प्रस्तुत हुनुपर्छ ।
अपरेशनल जोखिम व्यवस्थापन
नेपाल राष्ट्र बैंकले अपरेशनल जोखिम सधैं वित्तीय संस्थाहरूमा निहित रहने र तिनीहरूको सबै गतिविधिहरूमा संलग्न हुने बताएको छ । अपरेशनल जोखिम वित्तीय संस्थाको सबै विभाग र उत्पादनहरूमा विद्यमान रहेको छ भने अपरेशनल जोखिममा प्राविधिक र सूचना प्रणालीहरूको अपर्याप्तता, सञ्चालन समस्या, अपर्याप्त मानव स्रोतहरू, वा इमान्दारीको उल्लङ्घनमा समावेश रहेने केन्द्रीय बैंकले जनाएको छ ।
अपरेशनल जोखिम व्यवस्थापन संरचनाले तीनवटा रक्षा रेखाहरूमा भर पर्नुपर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले व्यापार रेखा व्यवस्थापन, एक स्वतन्त्र अपरेशनल जोखिम व्यवस्थापन कार्य र आन्तरिक अडिटमा अपरेशनल जोखिम व्यवस्थापनले ध्यान दिनुपर्ने बताएको हो ।
बजार जोखिम व्यवस्थापन
नेपाल राष्ट्र बैंकले बजार जोखिमलाई तिनीहरूको मूल्यमा नकारात्मक चलनको परिणामस्वरूप ‘अन्ब्यालेन्स’ र ‘अफ–ब्यालेन्स शीट’को स्थितिहरूमा भएको हानिको जोखिमको रूपमा परिभाषित गरेको छ । राष्ट्र बैंककाअनुसार बजार जोखिममा ब्याजदर जोखिम र विदेशी मुद्रादर जोखिम समावेश रहेका छन् । लघुवित्तमा सबैभन्दा ठूलो ब्याजदर जोखिम कोषको लागत छिटो बढ्दा उत्पन्न हुने गर्छ । कोषको लागतले ऋण र लगानीहरूबाट प्राप्त ब्याजलाईभन्दा बढी हुँदा संस्थालाई नकारात्मक असर समेत गर्छ । ब्याजदर जोखिम व्यवस्थापन लघुवित्तका लागि महत्त्वपूर्ण रहेको छ ।
त्यस्तै, लघुवित्तले विदेशी मुद्रामा नगद वा अन्य लगानी वा ऋण राख्दा विदेशी मुद्रा जोखिम सिर्जना हुन्छ । वित्तीय संस्थाहरूले बजार जोखिमको पहिचान, व्यवस्थापन, अनुगमन र रिपोर्ट गर्नको लागि स्पष्ट संगठनात्मक संरचना सहित मजबूत शासन व्यवस्था कायम गर्नुपर्छ । विदेशी मुद्रा जोखिमको भोक निर्धारण भएपछि, संस्थाले पूर्वनिर्धारित स्तरमा विदेशी मुद्रा जोखिमलाई अधिकतम लाभ प्राप्त गर्नका लागि विदेशी मुद्रा जोखिमको रणनीति विकास गर्नुपर्छ ।
रिक्स म्यानेजमेन्ट गाइडलाइन्सको आवश्यकता किन ?
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सबै स्तरका लघुवित्त संस्थाहरूमा जोखिम व्यवस्थापन अभ्यासका लागि, संस्थाहरूको वित्तीय स्थिरता र समग्र वित्तीय क्षेत्रको स्थिरता सुधार गर्न र लघुवित्तहरूलाई उचित जोखिम व्यवस्थापन ढाँचा अपनाउन र कार्यान्वयन गर्न प्रोत्साहन गर्र्नुका साथै विभिन्न जोखिमहरूको मूल्यांकन व्यवस्थापनका उपकरण र प्रविधिहरूको परिचय दिनका लागि जोखिम व्यवस्थापन मार्गदर्शन जारी गरेको बताएको छ ।
नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विमलराज खनाल लघुवित्त संस्थामा संस्थापिच्छे विभिन्न खालका जोखिमहरु हुने भन्दै त्यस्ता जोखिको राम्रोसँग व्यवस्थापन गर्नलाई सो गाइडलाइन्स जारी गरिएको बताउँछन् । ‘हरेक संस्थाको छुट्टाछुट्दै रिक्सहरु क्रेडिट रिक्स, अपरेसन रिक्स, मार्केट रिक्स, लिक्विडिटि रिक्स हुन्छ ।
ती सबैलाई व्यवस्थापन गर्ने लक्ष्यसहित यो गाइडलाइन्स ल्याइएको हो’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘म्यानेजमेन्ट बोर्डलाई पनि रिक्स म्यानेजमेन्ट गर्दा कता फोकस गर्ने भन्ने पनि आइडिया दिन इन्टरनेसनल प्राक्टिसलाई लिएर नै सो गाइडलाइन्स जारी गरिएको हो ।’
प्रतिक्रिया