काठमाडौं – नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत विक्री सम्झौता (पीएसए) लाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ । ऐतिहासिक मानिएको यस सम्झौता काठमाडौंमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, र बंगलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्पन्न भएको हो ।
सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत व्यापार निगमका प्रमुख कार्यकारी अधिकृत रेनु नारङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरे। यो सम्झौताले नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा ऐतिहासिक परिवर्तन ल्याएको छ ।
यो सम्झौता नेपालको विद्युत व्यापारमा नयाँ युगको सुरुवात मानिएको इप्पानले जनाएको छ । सन् २०१४ मा नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता (पीटीए) भएकोमा हाल बंगलादेशसँगको यस सम्झौताले नेपालको विद्युत बजारलाई थप विस्तार गरेको छ ।
बंगलादेशले सन् २०३९ सम्म नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्ने लक्ष्य राखेको छ, भने नेपाल सरकारले आगामी १० वर्षभित्र ५ हजार मेगावाट विद्युत निर्यात गर्ने योजना बनाएको छ । यसलाई कार्यान्वयन गर्न नेपालका निजी क्षेत्रहरू पनि पूर्ण रूपमा तयार रहेको इप्पानले जनाएको छ ।
इप्पानले निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका र योगदानलाई ध्यानमा राख्दै, नेपाल विद्युत प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता पूर्णरूपमा खुला गर्नुपर्ने माग गरेको छ । साथै, ऊर्जामा थप लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहन गर्न र सरकारद्वारा ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
बंगलादेशसँगको यस सम्झौताले निजी क्षेत्रबीच सहकार्य र साझेदारीका अवसरहरू पनि बढाएको छ । बंगलादेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आह्वान गर्दै, नेपालका निजी क्षेत्रले निर्माण, परामर्श, उपकरण आपूर्ति जस्ता क्षेत्रमा सहकार्य गर्न सकिने ठूलो सम्भावना रहेको इप्पानले जनाएको छ ।
हाल निजी क्षेत्रका ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १४ हजार मेगावाट बराबरका आयोजना निर्माणमा जान लागेकाे इप्पानले जनाएको छ ।
प्रतिक्रिया