प्रविधिको बढ्दो प्रयोगले फेर्दैछ बीमाको ‘कर्पोरेट कल्चर’

प्रविधिको बढ्दो प्रयोगले फेर्दैछ बीमाको ‘कर्पोरेट कल्चर’


काठमाडौं – बीमा क्षेत्रमा युवाहरुको आकर्षणसँगै प्रविधि प्रयोगको ‘ग्राफ’ उकालो लाग्न थालेको छ । पछिल्ला तथ्यांकहरुले युवापुस्तामा बीमाको आकर्षण र कम्पनीहरुमा प्रविधिको प्रयोगको ‘ग्राफ’ उकालो यात्रामा देखाएको हो । कम्पनीहरूले एक वर्षमा अनलाइन परीक्षामार्फत ९० हजार जनालाई दिलाएको बीमा अभिकर्ताको इजाजत पत्रले पनि यसलाई पुष्टि गर्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमकले अनलाइन परीक्षामा सहभागी गराएर ८९ हजार ९०६ अभिकर्ता उत्पादन गरेका छन् । बीमा क्षेत्रमा युवापुस्ताको आकर्षणसँगै प्रविधिको समेत प्रयोग बढ्दो स्थितिमा छ । एकै वर्षमा ९० हजार जनाले बीमा अभिकर्ताको इजाजत पाउनुले युवाको आकर्षण बढ्दो देखाउँछ भने उनीहरुले इजाजत लिन अनलाइनमार्फत दिएको परीक्षाले प्रविधिको बढ्दो प्रयोग झल्काउँछ ।

विश्वव्यापीरुपमा बढ्दै गइरहेको प्रविधिलाई अँगाल्न थालेसँगै यतिबेला बीमा क्षेत्रका सबैजसो काम समेत अनलाइनमार्फत नै हुन थालेका छन् । यतिबेला सबै किसिमको पोलिसी अनलाइनमार्फत नै किन्न सकिन्छ । यसलाई नियामकीय बीमा प्राधिकरणले समेत अंगिकार गर्न थालेको छ । प्राधिकरणले बढ्दो प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै यसतर्फ आफ्नो ध्यान मोड्न थालेको हो । यसले परम्परागत शैलीमा काम गरिरहेका अभिकर्ताको पेसा नै जोखिममा पर्न सक्ने आँकलन समेत गर्न थालिएको छ ।

कसको कति जना अभिकर्ताहरू थपिए ?

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल लाइफले सर्वाधिक १७ हजार ३९९ नयाँ अभिकर्ता थपेको छ । यसैगरी हिमालयन लाइफले ९ हजार ६७० अभिकर्ता उत्पादन गर्दा नेश्नल लाइफले ९ हजार १४३ नयाँ अभिकर्ता उत्पादन गरेको छ । सूर्यज्योति लाइफले ८ हजार ६८२, सिटिजन लाइफले ८ हजार १११ र एसियन लाइफले ७ हजार २११ नयाँ अभिकर्ता थपेका छन् । प्राधिकरणका अनुसार आइएमई लाइफले ५ हजार ६६३, रिलायबल नेपाल लाइफले ५ हजार ४९३, सानिमा रिलायन्स लाइफले ४ हजार ७७५, एलआईसी नेपालले ३ हजार ६०१, सन नेपाल लाइफले ३ हजार ३९२ अभिकर्ता र मेट लाइफले १ हजार ७७७ अभिकर्ता उत्पादन गरेका छन् ।

यस्तै निर्जीवन बीमकले गत आर्थिक वर्षमा जम्मा १ हजार ४७ नयाँ अभिकर्ता उत्पादन गरेका थिए । निर्जीवन बीमकको तुलनामा जीवन बीमकको अभिकर्ता उत्पादन संख्या उल्लेख छ । निर्जीवन बीमकले गत आर्थिक वर्षमा जम्मा १ हजार ४७ नयाँ अभिकर्ता उत्पादन गरेका छन् । निर्जीवन बीमा विशेष गरी संस्थागत ग्राहक र मोटर बीमा केन्द्रित हुने भएकाले यो व्यवसायमा अभिकर्ताको संख्या जीवन बीमा व्यवसायको तुलनामा निक्कै कम हुने गरेको छ । २०८० कात्तिक १७ गतेदेखि नेपाल बीमा प्राधिकरणले अनलाइन परीक्षाको प्रावधान कार्यान्वयनमा ल्याएको थियो ।

प्रविधि अँगाल्दै प्राधिकरणले ल्यायो ‘गाइडलाइन्स’
नेपाल बीमा प्राधिकरणले डिजिटलाईजेसनमा जोड दिँदै बीमा कारोबार विद्युतीय माध्यमबाट गर्ने व्यवस्था सुचारु गरेको छ । प्राधिकरणले केही समय अघि ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स डीआईपीडी–२०२४’ नै जारी गर्यो । डीआईपीडी लागू भएसँगै बीमा कम्पनीहरुले अभिकर्ताको संलग्नता बिनै डिजिटल माध्यमबाट बीमा पोलिसी बिक्री गर्न मिल्ने भएको छ ।

यसमा बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारी भन्छिन्, ‘वर्तमान समयमा बीमा बजारलाई प्रविधिमय बनाउनको लागि समय अनुसार परिवर्त गर्नुपर्ने हुन्छ । यसमा सबैलाई सहज हुने किसिमले सोचिएको हुनुपर्छ ।’ प्रविधिलाई अंगाल्दा अभिकर्ताहरूले बीमा क्षेत्रमा झनै सहज तरिकाले काम गर्न सक्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणको कुनैपनि अभिकर्ताहरुकाे पेसामा हानी पुर्‍याउने योजना नरहेको ढुंगेल बताउँछिन् ।

यता, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्सले अभिकर्ताहरूलाई झनै राम्रो हुने बताउँछन् । उनी भन्छन्, ‘बीमा क्षेत्रले परिवर्तन खोजेको हो, तर अभिकर्ताहरूलाई हटाउन खोजेको भने होइन यसले झनै सबै जनालाई सहज हुन्छ । नागरिकहरूलाई पनि बीमाको दायरामा संलग्न गर्न सहज हुन्छ ।’