काठमाडौं – नेपाल र बगलादेशबीच ४० मेगावाट विद्युत किनबेचको सम्झौतासँगै बिजुली किनबेचका लागि नयाँ ढोका खुलेको छ । उत्तरमा चीन र दक्षिणमा भारतबाट घेरिएको नेपालका लागि यो सम्झौतासँगै नयाँ सम्भावनाको ढोका खुलेको हो ।
नेपाल र बंगलादेश विगत ३/४ वर्षदेखि बिजुली किनबेचको सम्झौता गर्न लालायित थिए । तर, यी दुई मुलुकबीच आपसमा सिमाना जोडिएको छैन । यहीकारण, नेपाल र बंगलादेशबीच बिजुली किनबेचको सम्झौताका लागि भारतीय स्वीकृती चाहिन्थ्यो ।
भारतीय भूमि र प्रसारणलाईनको प्रयोग गर्दै नेपाल र बंगलादेशबीच बिजुली किनबेच गर्नुपर्ने बाध्यात्मक स्थिती सृजना भएपछि दुवै मुलुक भारतलाई मनाउनतर्फ लागे र अन्ततः भारत राजी भयो । यससागै, भारतीय प्रसारणलाईनको प्रयोगमार्फत नेपालबाट बंगलादेशतर्फ ४० मेगावाट बिजुली निर्यात हुने भएको छ ।
यससँगै वर्षायाममा खेर जाने बिजुलीबाट अमेरिकी डलर भित्र्याउन सहयोग पुग्ने भएको छ । यतिबेला नेपालको कुल जडित क्षमता ३२ सय मेगावाटभन्दा माथि पुगिसक्यो । यो बिजुली वर्षायाममा खेर जान्छ । भारततर्फ ६ सय मेगावाट हाराहारी बिजुली निर्यात भइरहेकाले थप ६०० मेगावाट बिजुली खेर गइरहेको थियो ।
अब खेर गइरहेकोमधये ४० मेगावाट बिजुलीबाट भने बंगलादेशबाट विदेशी मुद्रा आर्जन हुने भएको छ । बंगलादेशलाई बेच्न सम्झौता भएको ४० मेगावाट बिजुली ठूलो परिमाण नभएपनि यसबाट बिजुली निर्यातको नयाँ ढोका खुलेको छ ।
अब नेपाल र बंगलादेशले भावी दिनमा विद्युत व्यापारका लागि सहजीकरण र नयाँ पूर्वाधार निर्माण गर्दै जान सक्नेछन् । बंगलादेश बिजुलीको ठूलो खपतकर्ता हो । उसले भारतबाहेक अन्य मुलुकबाट बिजुली किन्न भारतकै अनुमति लिनुपर्छ ।
यस्तै, नेपालले समेत चीनतर्फ बिजुली बेच्ने सम्भावना न्यून छ । किनकी, नेपाल र चीनबीच जोडिएको सिमानामा रहेको भौगोलिक स्थितीले साथ दिँदैन । चीनको नेपालसँग सिमाना जोडिएको क्षेत्रमा मानवीय बस्ती समेत छैन ।
प्रतिक्रिया