चलनचल्तीको साढे ६ खर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीभन्दा बाहिर, घट्यो ‘क्यास सर्कुलेशन’

चलनचल्तीको साढे ६ खर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीभन्दा बाहिर, घट्यो ‘क्यास सर्कुलेशन’


काठमाडौं – चालु आर्थिक वर्षको भदौ मसान्तसम्म वित्तीय क्षेत्रभन्दा बाहिर साढे ६ खर्ब बढी रकम चलनचल्तीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार ६ खर्ब ६५ अर्ब ३३ करोड चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) रहेको देखिएको हो ।

एक महिनामा सरकारी खाताबाट ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौंमा उक्त रकम ७५ अर्ब ५ करोड रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो २ महिनामा यस्तो चलनचल्तीमा रहेको रकम १५ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तसम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा भदौमसान्तसम्म आइपुग्दा ६ खर्ब ६५ अर्ब ३३ करोडमा झरेको हो।

यसैगरी राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब १ अर्ब ७८ करोड ९९ रुपैयाँ सञ्चित रहेको छ । पछिल्लो २ महिनामा सञ्चित रकम २८ अर्ब रुपैयाँले बढेको हो । गत असारको अन्त्यसम्ममा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा रहेको थियो ।

हालसम्म राष्ट्र बैंकको दायित्व २१ खर्ब ४४ अर्ब रुपैयाँ छ । दायित्व पनि गत असारको तुलनामा ८८ अर्बले रुपैयाँले बढेको छ । गत असारसम्म २० खर्ब ५६ अर्ब दायित्व रहेको देखिन्छ ।

त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति ८७ अर्ब ४६ करोड ६२ लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम २० खर्ब ५६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ रहेको थियो । उक्त सम्पति चालु आवमा आइपुग्दा ४.२५ प्रतिशतले बढेर २१ खर्ब ४४ अर्ब ६१ लाख रुपैयाँ पुगेको छ ।