साताको शेयर बजारः परिसूचक एक सय अंक घट्यो, कारोबार रकम २६ अर्बमा सिमित

साताको शेयर बजारः परिसूचक एक सय अंक घट्यो, कारोबार रकम २६ अर्बमा सिमित


काठमाडौं – पछिल्लो दिनयता निरन्तर ओरालो यात्रा तय गरिरहेको शेयर बजारले यो साता पनि लय समात्न सकेन । बजारमा लागि आवश्यक सूचकहरू सकारात्मक रहँदा पनि बजारले खासै प्रगति हात पार्न सफल भएको छैन । जसकारण दिनानुदिन लगानीकर्ताहरुको मनोबल गिरिरहेको छ ।

यो साता शेयर बजारमा ५ दिन नै कारोबार भयो । ५ दिन खुलेको बजार २ दिन बढ्दा ३ दिन घट्यो । फलस्वरुपः यो साता समग्रमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  बजारमा १ सय १ दशमलव ५९ अंकले घटेको छ ।

कारोबारको पहिलो दिन ११ दशमलव ५८ अंकले बढेर  २५ सय ८८  बिन्दुमा सुरु भएको बजार कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २४ सय ८६ विन्दुमा सीमित भयो । साताको ५ दिन खुलेको बजारले २६ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यो साता घटेको नेप्से परिसूचक गत साता पनि घटेको थियो । गत साता शेयर बजारमा तीन दिन मात्रै कारोबार हुँदा परिसूचक १११ दशमलव ७६ अंकले घटेको थियो । सोक्रममा कारोबारको पहिलो दिनमै ५० दशमलव ७३ अंकले घटेर २६३९ को बिन्दुबाट कारोबार सुरु गरेको बजार कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २५७६ को विन्दुमा सीमित भएको थियो ।

गत साता २३ अर्ब ३७ करोड ४ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कुन दिन कति अंकले घट्यो बजार ?

आइतबार – ११ दशमलव ५८ अंकको वृद्धि
सोमबार – ५९.०२ अंकको गिरावट
मंगलबार – ५८.९३ अंकको गिरावट
बुधबार–  ४९.१८ अंकको वृद्धि
बिहीबार – ३१.८१ अंकको गिरावट

यो साताको कारोबार रकम

आइतबार –  ५ अर्ब ९ करोड रुपैयाँ
सोमबार–    ५ अर्ब ६६ करोड रुपैयाँ
मंगलबार–  ५ अर्ब ६८ करोड रुपैयाँ
बुधबार–  ४ अर्ब ८१ करोड रुपैयाँ
बिहीबार –  ४ अर्ब ८४ करोड रुपैयाँ

३ हजार अंकमा पुगेको नेप्से यो साता पनि निरन्तर घटेपछि अप्राकृतिक रूपले घटेको बजारसम्बन्धी छानबिन गर्न लगानीकर्ताहरूले माग नै राखे । बजार घट्नुपर्ने ठोस् कारणविनै निरन्तर ओरालो लागेर यतिबेला २४ सय अंकको बिन्दुमा आइपुगेको भन्दै बुधबार लगानीकर्ता संघहरुले छानबिनको माग गरे । 

पुँजी बजार घट्नुपर्ने मौलिक कारण नरहे पनि करिब १ महिनाको अवधिमा ६ सय अंक हाराहारीले घटिसकेको छ । बजार घट्न थालेपछि लगानीकर्ताहरूको संघले अर्थ मन्त्रालय, धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा पुगेर गुनासो समेत गरिसकेका छन् । लगानीकर्ताहरूको गुनासोपछि अर्थमन्त्री स्वयम् नेप्सेको कार्यालय पुगेर शेयर बजारबारे चासो राखेका थिए ।