प्रधानमन्त्री र अर्थमन्त्रीको श्रृङ्खलाबद्ध भाषणले धानेन शेयर बजारको वृद्धि, ‘बुल’ सकिएको हो ?

प्रधानमन्त्री र अर्थमन्त्रीको श्रृङ्खलाबद्ध भाषणले धानेन शेयर बजारको वृद्धि, ‘बुल’ सकिएको हो ?

लगानीकर्ताले गुमाए ६ खर्ब सम्पत्ति


काठमाडौं – नयाँ सरकार गठनपछि ‘बुल’मा चलेको शेयर बजार १३ प्रतिशतको ‘करेक्सन’पछि पनि लय समात्न विफल भएको छ । असार १७ गते दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सम्झौतापछि शेयर बजारमा एकाएक ‘बुलिस ट्रेण्ड’ सुरु भएको थियो ।

दुई राजनीतिक दलबीच सम्झौता सम्पन्न हुनुअघि २ हजार अंकको बिन्दुमा रहेको शेयर बजार निरन्तर बढेर ३ हजार अंकको बिन्दुसम्म पुग्यो । त्यसपछि निरन्तर घटेर परिसूचकमा १३ प्रतिशतसम्म ‘करेक्सन’ आएको थियो । १३ प्रतिशतको ‘करेक्सन’सँगै परिसूचक २६ सय १० अंकसम्म झर्यो ।

२६ सय १० अंकको बिन्दुमा आइपुगेर गत साताको बिहीबार ७८ अंक बढेपछि शेयर बजारको ‘करेक्सन’ सकिएको विश्लेषण सुरु भएको थियो । लगानीकर्ताहरू शेयर बजारको ‘बिग करेक्सन’ सकिएको भाषणबाजीमा मस्त रहे । तर, बजारले लगानीकर्ताहरुको विश्लेषणलाई नै मात खुवाउने गरी अनिश्चिततालाई निरन्तरता दिएको छ ।

आज आइतबारको कारोबार रकम र बजारको घटाइले शेयर बजारको ‘बुलिस ट्रेण्ड’को भविष्य नै अन्योलमा पारिदिएको हो । कारोबार सुरु हुँदै गर्दा ४५ अंकसम्म बढेको परिसूचक अन्तिम समयसम्म ५० अंक घट्यो । यस क्रममा ९५ अंकसम्मको तलमाथि भयो । जसले बजार अझै पनि बढ्ने तरखरमा नरहेको देखाउँछ ।

खासगरी नयाँ सरकार गठन भएपछि प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पूर्व अर्थमन्त्रीसम्मले शेयर बजार चलायमान बनेको भाषण गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनेक्रममा नयाँ सरकार गठन लगत्तै शेयर बजार चलायमान बनेको बताएका थिए । सोक्रममा उनले आफ्नो नेतृत्वमा सरकार गठन भइसकेपछि शेयर बजार जस्तै सबै क्षेत्र चलायमान बन्ने उद्घोष नै गर्न भ्याए ।

तर, प्रधानमन्त्री ओलीले भनेजस्तै शेयर बजारमा सुरु भएको चलायमान धेरै लामो चलेन । २ हजार अंकको बिन्दुमा रुमल्लिरहेको शेयर बजार ३ हजार अंकसम्म त पुग्यो । ३ हजार अंकसम्म पुगेपछि भने सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री तथा अर्थमन्त्रीको भाषणबाजीले शेयर बजारको गिरावट थाम्न सकेको छैन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन ३१ गते पदबहाली गर्दै शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका थिए । सोहीकारण शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा विकास गर्दै लैजाने उनको भनाइ थियो । त्यसयताका विभिन्न सार्वजनिक मञ्चमा अर्थमन्त्री पौडेलले निरन्तररुपमा शेयर बजारको दिगो विकासका लागि काम गर्ने उद्घोष गरेका थिए ।

तर, प्रधानमन्त्री र अर्थमन्त्रीको श्रृङ्खलाबद्ध भाषणले शेयर बजारको वृद्धिलाई निरन्तरता दिन सकेन । अहिलेको गिरावटलाई ‘करेक्सन’का रुपमा लिइएपनि लगातार १६/१७ कारोबार दिनसम्म बजार घट्दो अवस्थामा छ । यसलाई ‘करेक्सन’ मात्रै भन्न नसकिने अवस्थामा बजार विश्लेषकहरु पुगेका छन् ।

यद्यपि शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल बजार घट्नुपर्ने कारण नै नरहेको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीका क्रममा फुलेलले बजार घट्नुपर्ने कारण नरहेको बताएका हुन् । यतिबेला बैंकको ब्याजदर ३० महिनायताकै न्यून बिन्दुमा छ । दुई तिहाई बहुमतसहितको सरकार छ ।

‘बैंकहरुमा पर्याप्त लगानी योग्य रकम छ भने प्रधानमन्त्री र अर्थमन्त्री नै शेयर बजारमैत्री छन्,’ फुल्लेल भन्छन्, ‘अहिलेको गिरावट करेक्सन नै हो भन्नुपर्छ । बजार कहिलेबाट माथि उठ्न सुरु हुन्छ भन्ने मात्रै हो ।’ शेयर बजारका लागि चाहिने सबैजसो सूचक सकरात्मक भएको बताउँदै उनी बजारले ‘अल टाइम हाइ’को कीर्तिमान तोड्ने बताउँछन् । यसअघिको उच्च कीर्तिमान  ३१ सय ९८ अंक थियो ।

यस्तै, शेयर लगानीकर्ता छोटेलाल रौनियारले समेत बजारमा घट्नुपर्ने कारण नै नरहेको बताए । बैंकिङ्ग समाचारसँगको कुराकानीमा रौनियारले बजारमा सबैजसो सूचक सकरात्मक रहेको बताए । ‘सबै सूचक सकरात्मक हुँदा पनि बजार घटिरहेको छ,’ उनले भने, ‘यो करेक्सन भएको हाम्रो आँकलन छ ।’

बजार घटाउने अस्त्र – सरकार परिवर्तन हल्ला

शेयर बजार बढ्न थालेपछि लगानीकर्ताहरू नेप्से निरन्तर बढ्ने बताउन थालेका थिए । परिसूचक ५ हजार अंकसम्म पुग्ने अन्यथा ४ हजार अंकको बिन्दुमा पुग्ने लगानीकर्ताको दाबी थियो । तर, यतिबेला तीनै लगानीकर्ता सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् । लेखा समितिमा नेपाली काँग्रेस र नेकपा एमालेका सांसदबीच देखिएको मतभेदलाई आधार बनाउँदै सरकार परिवर्तनको हल्ला फैलाइएको छ ।

लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा दुई राजनीतिक दलका सांसदबीच मतभिन्नता देखिएको थियो । एमालेका सांसद घिसिङलाई कारबाही गर्ने पक्षमा देखिँदा कांग्रेसका सांसद कारबाही गर्न नहुने पक्षमा देखिएका थिए । यही विषयलाई लिएर सरकार ढल्ने हल्ला बजारमा व्याप्त बनिरहेको छ ।

२४ अर्ब रुपैयाँसम्म घट्यो कारोबार रकम

शेयर बजार बढ्न थालेपछि नेप्सेमा दैनिक ३० अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको थियो । साउनको पहिलो साता दैनिक २ देखि ३ अर्ब रुपैयाँमा सीमित कारोबार रकम बढेर ३० अर्बसम्म पुगेको थियो । यससँगै लगानीकर्ताले दैनिक कारोबार रकमको सीमा बढेर ५० अर्ब रुपैयाँसम्म पुग्ने आँकलन गरेका थिए । जबकि, यतिबेला बजारका विश्लेषकको भविष्यवाणी विपरीत ६ अर्ब रुपैयाँसम्ममा कारोबार रकम घटेको छ ।

गत साता नेप्सेमा दैनिक ६ अर्ब रुपैयाँको ‘रेञ्ज’मा कारोबार आइपुग्यो । जसबाट लगानीकर्ताको मनोबल घट्न थालेको र बजार भित्रिएको रकम समेत घटेको देखिन्छ । ३ हजार अंकको बिन्दुमा परिसूचक पुग्दा नेप्सेको पुँजीकरण ४७ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो । जबकि, आज कारोबार बन्द हुँदासम्ममा पुँजीकरण ४१ खर्ब रुपैयाँमा आइपुगेको छ । यो ६ खर्ब रुपैयाँले बजारको लगानी घटेको स्थिति हो ।