बैंकमा पैसा थुप्रिएपछि धमाधम तान्दै केन्द्रीय बैंक, साउनमा कति तान्यो ?

बैंकमा पैसा थुप्रिएपछि धमाधम तान्दै केन्द्रीय बैंक, साउनमा कति तान्यो ?


काठमाडौं – वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले साउन महिनामा नै २ खर्ब १० अर्ब रुपैयाँ तानेको छ । लगानीयोग्य रकम थुप्रिएर कर्जा प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले साउन महिनामा पटक–पटक गरी सो रकम तानेको हो ।

यस्तै, केन्द्रीय बैंकले भदौ महिनामा पनि वाणिज्य बैंकहरुबाट पैसा तानिरहेको छ । राष्ट्र बैंकले भदौ २ गते एकैपटक १०० अर्ब (१ खर्ब) रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोलबारे सूचना निकालेको थियो । यो सूचना २१ दिनसम्मका लागि हो ।

केन्द्रीय बैंकले एकै महिना २ खर्ब १० अर्ब रुपैयाँ तानेपछि वाणिज्य बैंकहरुमा कूल लगानीयोग्य रकम ५ खर्ब ८८ अर्ब रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले बैंकहरुमा लगानी थुप्रिएर अन्तर बैंक ब्याजदर घट्न थालेपछि बजारबाट पैसा तानेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट साढे ६ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैंकले निक्षेप संकलनको ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत तोकेको छ । राष्ट्र बैंककाअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप ६४ खर्ब १९ अर्ब र कुल कर्जा लगानी ५१ खर्ब ७४ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार हाल अन्तरबैंक ब्याजदर न्यूनतम ३ प्रतिशत कायम भएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकहरूले ७८.७८ प्रतिशत सीडी रेसियो कायम गरेका छन् । 

बैंकिङ्ग प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस हुने गर्छ । सोही सकसलाई न्यूनीकरण गर्नकै लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणहरुको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा खिच्ने गर्छ । अहिले हरेक हप्ताको आइतबार, बुधबार र बिहीबार गरी ३ दिन बैंकहरुले निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न पाउने सुविधा दिएको छ ।

बैंकहरुले स्थायी निक्षेप सुविधाको उपयोग गरिसकेपछि पनि बजारमा अधिक तरलता भएको खण्डमा राष्ट्र बैंकले निक्षेप संकलन औजार प्रयोग गरी आफै निक्षेप प्रशोचन गर्दै आएको छ ।

साउनमा राष्ट्र बैंकले ५ पटक पैसा तानेकाे थियाे:

३० गते – ४० अर्ब रुपैयाँ

२३ गते – ४० अर्ब रुपैयाँ

१६ गते – ४० अर्ब रुपैयाँ

२ गते – ५० अर्ब रुपैयाँ

९ गते – ४० अर्ब रुपैयाँ

निक्षेप संकलन बोलकबोल

बैंकिङ्ग क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक महत्वपूर्ण उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण गरी बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप तान्ने गर्ने गर्दछ जसबाट वित्तीय प्रणालीमा रहेको अधिक तरलता प्रशोचन हुन जान्छ ।