काठमाडौं – नेपालका ७६ प्रतिशतभन्दा बढी घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने गरेको तथ्यांक राष्ट्रिय तथ्यांक कार्यलयले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७९/८० अनुसार ७६.८ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको छ । र यो वृद्धि अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । सो अवधिसम्म नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।
अघिल्लो आर्थिक वर्षभरीमा २३.२ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको थियो । यस्तै अमेरिकी डलरमा गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा १० अर्ब ८६ करोड र रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ ।
ठूलो मात्रामा भित्रिने रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको संख्या धेरै रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । यसको अर्थ नेपालको कूल घरपरिवारमध्ये ७६.८ प्रतिशत घरका प्रतिनिधि रोजगारी वा शिक्षाका नाममा विदेश पुगेका छन् ।
यस्तै प्राप्त हुने कूल रेमिट्यान्समध्ये ७२.४ प्रतिशत रेमिट्यान्स दैनिक उपभोगमा नै खर्च हुने गरेको देखिन्छ । गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्सलाई २०७९/८० मा हुने गरेको खर्चसँग हिसाब गर्दा १० खर्ब ४६ अर्ब रुपैयाँ दैनिक उपभोगमा नै सकिने गरेको देखिएको छ ।
यसबाहेक १५.८ प्रतिशत रेमिट्यान्स विदेश जाँदा लिइएको वा पुरानो ऋण तिर्न प्रयोग हुने गरेको छ । ४.६ प्रतिशत हिस्सा भने शिक्षामा, १.९ प्रतिशत घरायसी दिगो सरसामान खरिदमा, १.९ प्रतिशत बचत र १.८ प्रतिशत रेमिट्यान्स मात्रै पूँजी निर्माणमा खर्च हुने गरेको देखिएको छ ।
यसबाट नेपालको ठूलो जनशक्तिले कमाएको खबौं रुपैयाँ दैनिक उपभोग्य वस्तुको किनमेलमा नै खर्च हुने गरेको देखिएको छ । जसबाट पूँजीनिर्माणमा महत्वपूर्ण योगदान गर्नुपर्ने रेमिट्यान्स विभिन्न बाहानामा वस्तुको आयातमा नै विदेश जाने गरेको तथ्यांकले देखाउँछ । किनकी नेपालमा उपभोग हुनेमध्ये अधिकांश वस्तु विदेशबाटै आउने गर्छ ।
प्रतिक्रिया