४७ खर्ब ११ अर्ब पुग्यो शेयर बजारको पुँजिकरण, बैंक तथा वित्तीय संस्थाको हिस्सा सबैभन्दा धेरै

४७ खर्ब ११ अर्ब पुग्यो शेयर बजारको पुँजिकरण, बैंक तथा वित्तीय संस्थाको हिस्सा सबैभन्दा धेरै


काठमाडौं – धितोपत्र बजारमा पछिल्लो एक वर्षमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०८१ असार मसान्तसम्मा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । पुँजी बजार २०८० असार मसान्तमा २०९७.१० रहेको नेप्से सूचकाङ्क २०८१ असार मसान्तमा २२४०.४१ कायम भएको छ ।

जुन, यो साताको आइतबारसम्मको अवधिमा २९ सय ६६ अंकमा पुगेर रोकिएको छ । आइतबार बजार ३४.४७ अंकले घटेपनि पछिल्लो समय नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ ।

२०८१ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड कायम थियो । २०८० असार मसान्तमा बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रहेको थियो । यो साताको आइतबारसम्ममा बजार पुँजिकरण ४७ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । यो २०८१ असार मसान्तको तुलनामा नै ११ खर्ब ५८ अर्ब रुपैयाँले बढी हो ।

२०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा २०८१ असार मसान्तसम्म ५८.६ प्रतिशत थियो । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत थियो ।

नेप्सेमा २०८१ असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २५ अर्ब ५ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०८०/८१ मा ८ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड रूपैयाँ बराबरको एफपीओ गरी कुल १ खर्ब ३० अर्ब ४७ करोड रूपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड रूपैयाँ बराबरको साधारण शेयर ७ अर्ब ६५ करोड रूपैयाँ बराबरको हकप्रद शेयर, ६ अर्ब २ करोड रूपैयाँ बराबरको डिबेन्चर र ४ अर्ब ७० करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड रूपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति थियो ।