सर्वसाधारणको विश्वास गुमाउँदै बीमा कम्पनी, प्राधिकरणमा उजुरीको चाङ

सर्वसाधारणको विश्वास गुमाउँदै बीमा कम्पनी, प्राधिकरणमा उजुरीको चाङ

नमुना के. सी.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चेतना बढाउँदै लगेर पहुँच बढाउनुपर्ने समयमा बीमा कम्पनीले सर्वसाधारणको विश्वास नै जित्न नसकेको तथ्यांकले देखाएको छ । बीमा कम्पनीहरुविरुद्ध बीमा प्राधिकरणमा परेको उजुरीको चाङलाई हेर्दा कम्पनीहरूले सर्वसाधारणको विश्वास जित्न नसकेको देखिएको हो ।

कुल जनसङ्ख्याको ४४ प्रतिशत हाराहारी मात्रै बीमाको पहुँच पुगेको छ । यस्तो अवस्थामा सर्वसाधारणको विश्वास जित्दै बीमा कम्पनीहरूले व्यवसायको दायरा र पहुँच विस्तार गर्नुपर्नेमा झनै विश्वास गुमाउँदै गएको तथ्यांकले देखाउँछ । बीमा कम्पनीविरुद्ध नियामकीय निकाय बीमा प्राधिकरणमा परेको उजुरीको चाङले यस्तै देखाउँछ ।

सर्वसाधारणको असन्तुष्टि बढ्दै, बढ्दै उजुरी प्राधिकरणमा ३८ वटा जीवन र निर्जीवन बीमा कम्पनीविरुद्धको उजुरी साढे ५७ प्रतिशत बढेको छ । प्राधिकरणले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा उजुरी ५७ प्रतिशतले बढेको हो । गत आर्थिक बर्सभरिमा प्राधिकरणमा बीमा कम्पनीविरुद्ध विभिन्न प्रकारका २४४ वटा उजुरी परेको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५७.४१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीविरुद्ध १५५ वटा उजुरी परेको थियो । एक वर्षको अवधिको मात्रै नभएर पछिल्लो ६ आर्थिक वर्षको उजुरीको तथ्यांकले समेत बीमा कम्पनीप्रति सर्वसाधारणले विश्वास गुमाउँदै गइरहेको पुष्टि गर्छ । आव २०७५/७६ मा प्राधिकरणमा १०० वटा उजुरी परेका थिए।

आव २०७६/७७ मा १२६, आव २०७७/७८ मा १३७, आव २०७८/७९ मा १५५, आव २०७९/८० मा १५५ वटा उजुरी परेको थियो। जुन गत आवसम्म आइपुग्दा २४४ वटा पुगेको प्राधिकरणले जानकारी दिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा मात्रै ८९ वटा उजुरी बढेको तथ्यांकले देखाउँछ ।

यो बीमा कम्पनीहरुले आपसमा अस्वस्थ प्रतिस्पर्धा गर्दै सर्वसाधारणलाई सन्तुष्टी पार्न नसक्दाको परिणाम देखिन थालेको हो । बीमा कम्पनीहरुबीच स्वस्थ प्रतिस्पर्धा गराउने र स्थायीत्व कायम गर्ने लक्ष्यसहित मर्जरको रणनीति लिइएको थियो । मर्जरको नीतिपछि यतिबेला बजारमा जीवन र निर्जीवन बीमा गरी ३८ वटा कम्पनी सञ्चालनमा छन् । तर यी कम्पनी नै अस्वस्थ प्रतिस्पर्धामा उत्रिँदा सर्वसाधारणको विश्वास झनै गुमाउँदै गएको देखिन्छ ।


सबैभन्दा धेरै विवाद दाबी भुक्तानीमा

कम्पनीहरूले बीमा भविष्यको लगानी र आर्थिक जोखिम न्यूनीकरणको माध्यमका रुपमा परिभाषित गर्दै आइरहेका छन् । तर बीमितले भइपरिआउने दुर्घटनाकाक्रममा पाउनुपर्ने दाबी भुक्तानीमा समस्या ब्यहोर्ने गरेका छन् । यो क्षेत्रमा विगतको तुलनामा केही परिवर्तन भएको मानिन्छ । तर कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भाष्यबाट पन्छिन भने सकेका छैनन् । प्राधिकरणमा पर्ने उजुरीको शीर्षस्थानमा दाबी भुक्तानीबारे हुने प्राधिकरणका निर्देशक शुशिलदेव सुवेदी बताउँछन् ।


‘बिमितले दाबी गरेको रकममा चित्त नबुझ्दा बढी उजुरी पर्ने गरेका छन्,’ उनी भन्छन्, ‘कम्पनीहरूले समयमा दाबी भुक्तानी नगर्दा वा ढिलासुस्ती गर्दा उजुरी परेको देखिन्छ ।’ अघिल्लो आर्थिक वर्षमा फर्छ्यौट गर्न बाँकी १०२, गत आवमा परेको २४४ वटा नयाँ र पुनरावेदनबाट आएका १ गरी कुल ४३७ वटा उजुरी थिए । प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १४९ वटा मुद्दा फर्छ्यौट गरेको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा १५२ वटा, आव २०७७/७८ मा ९३ वटा मुद्दा फर्छ्यौट भएको प्राधिकरणले जानकारी दिएको छ ।