‘बुलिस ट्रेण्ड’ मा बढ्दो जोखिम, अस्वभाविक वृद्धिपछि कुथेली बुखारीको शेयर मूल्य लाग्यो ओरालो

‘बुलिस ट्रेण्ड’ मा बढ्दो जोखिम, अस्वभाविक वृद्धिपछि कुथेली बुखारीको शेयर मूल्य लाग्यो ओरालो


काठमाडौं – कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर लगातार दोस्रो दिन नकारात्मक सर्किट लागेको छ । २०८१ वैशाख ३० गते प्रतिकित्ता १ हजार ७ रुपैयाँ रहेको कम्पनीको शेयर मूल्य निरन्तर बढेर २७ सय २६ रुपैयाँसम्म पुगेको थियो ।

३ महिनाको अवधिमा १२ सय १९ रुपैयाँको वृद्धिमा पुगेपछि लगातार दोस्रो दिन कम्पनीको शेयर मूल्य घटेको हो । गत साताको बिहीबार कम्पनीको शेयर मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो मितिमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता २७ सय २६ रुपैयाँ कायम भएको थियो ।

त्यसयता हिजो आइतबार बजार खुलेदेखि नै कम्पनीको शेयर मूल्य घट्न थाल्यो र १० प्रतिशतको सर्किट लाग्यो । १० प्रतिशत मूल्य घटेसँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता २४ सय ५३ रुपैयाँमा आयो । यो एकै दिन प्रतिकित्ता २७३ रुपैयाँको गिरावट हो ।

यस्तै, कम्पनीको शेयर मूल्यमा आज सोमबार पनि लगातार नकारात्मक सर्किट लागेको छ । आज पनि १० प्रतिशतले घटेसँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता २२ सय ८ रुपैयाँमा आइपुगेको छ । यो एकै दिन आएको २५५ रुपैयाँको गिरावट भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ ।

नेप्सेमा यो कम्पनीको १२ लाख १८ हजार कित्ता शेयर सूचीकृत छ । यसअनुसार कम्पनीको ‘पेड अप भ्यालू’ १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ छ । २०८० सालमा नेप्सेमा यो कम्पनीको शेयर सूचीकृत हुँदा पहिलो कारोबार ४७९ रुपैयाँ कायम भएको थियो । जबकी दुई दिन लगातार सर्किट ब्रेक लाग्दा पनि जलविद्युततर्फ सबैभन्दा उच्च मूल्य यही कम्पनीको छ ।

आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १ करोड ४२ लाख रुपैयाँ मात्रै छ । तर, यो कम्पनीको शेयर मूल्य निरन्तर बढेर फेरी लगातार घट्दा नवप्रवेशी लगानीकर्ता फस्ने डर पैदा भएको छ । ‘बुलिस ट्रेण्ड’मा उत्साहित बनेर लगानीकर्ता आउँदा यही समयमा ट्र्यापमा पर्ने जोखिम समेत बढेको सरोकारवाला बताउँछन् ।

लगानीकर्ता फसेका हुन् ?

कम्पनीको शेयर मूल्य उच्च बिन्दु २७ सय २६ रुपैयाँ प्रतिकित्ताबाट २२ सय ८ रुपैयाँमा आइसकेको छ । यो दुई दिनमा नै आएको ५१८ रुपैयाँको गिरावट हो । गत साताको अर्थात् बिहीबार उच्च मूल्य हुँदा कम्पनीको शेयर किन्ने लगानीकर्ताले त्यसताका २ कारोबार दिनमा नै ठुलो रकम गुमाइसकेका छन् ।

यही विषय प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाइरहेका छन् । पूर्व अर्थमन्त्रीद्वय डा. प्रकाशरण महत र वर्षमान पुनले वित्तीय सूचक कमजोर भएका कम्पनीको शेयर मूल्य अत्याधिक बढ्नु चिन्ताको विषय भएको बताएका थिए । यस्तै, सांसदद्वय डा. अमरेशकुमार सिंह र राजन दाहालले समेत केही कम्पनीको शेयर मूल्य अचाक्लि बढेको बताएका थिए ।

यसबाहेक शेयर बजारमा अन्य धेरै कम्पनीको मूल्य अत्याधिक बढेको छ । नेपाल फाइनान्स लिमिटेडको समेत यतिबेला चर्को विरोध भइरहेको छ । विगत १४ वर्षदेखि लाभांश दिन नसकेको यो कम्पनीको शेयर मूल्य २४ सय १८ रुपैयाँ पुगेको छ । यसको वित्तीय सूचक समेत उत्कृष्ट छैनन् ।

वित्तीय सूचकहरु न्यून भएका कम्पनीको शेयर मूल्य तीव्र गतिमा बढ्दा नवप्रवेशी लगानीकर्ता डुब्ने जोखिम समेत बढ्दै गइरहेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्व अध्यक्ष निरज गिरी बजारमा नयाँ लगानीकर्ता फस्ने जोखिम बढ्दै गइरहेको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘सेबोन र नेप्से मुकदर्शक बनिरहेका छन् । यस्तो अवस्थामा नियामकीय भूमिकामा रहेको सेबोनले केही गर्न सकेको छैन ।’

अनुभवी लगानीकर्ता र खेलाडीले मूल्य निरन्तर बढाउँदै नयाँ लगानीकर्तालाई डुबाउन सक्ने जोखिम बढेको गिरीको भनाइ छ । यसअघि ३२ सयको उच्च बिन्दुमा पुग्दा समेत नवप्रवेशी लगानीकर्ता फसेको गिरीको भनाइ छ । यस्तै, यसपटक पनि उच्च बिन्दुमा पुग्न साथ नयाँ लगानीकर्ता बजार पस्ने र फस्ने सम्भावना बढ्दै गएको उनको भनाइ छ ।

यस्तै शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुलेल वित्तीय सूचक उत्कृष्ट भएका कम्पनीमा मात्रै लगानी गर्नुपर्नेमा जोड दिन्छन् । नवप्रवेशी लगानीकर्तालाई राम्रो अनुभव नहुने भएकाले हल्लाको पछाडि दौडिनुको साटो सूचक राम्रो भएका कम्पनी किन्न जोड दिनुपर्छ,’ उनले भने ।