काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना मझौला उद्योगमा रहेको भन्दै यस्ता उद्योेगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सिंहदरबारमा भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघको सम्बन्ध परस्पर रुपमा अगाडि बढ्न सके मात्रै मुलुकको उद्योग क्षेत्र माथि उठ्ने बताए ।
आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको भन्दै उनले भने, ‘घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कषि उद्योग छ, विभिन्न उत्पादनमूलक उत्पादन छ, हर्बलसँग जोडिएको छ नेपालको स्रोतसाधन सबैसँग जोडिएको हुन्छ । यसलाई माथि उठाउने काम गर्नुस । त्यसका लागि नीति कानुनको सहजीकरण गर्न मन्त्रालय तयार छ ।’
सरकारले नीतिमा सहुलियत दिने हो । उद्योग त उद्योगी व्यवसायीले चलाउने हो । त्यसैले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिवद्ध रहेको उद्योग मन्त्री भण्डारीको भनाई थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरुकै लागि स्टार्टअप कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए ।
उद्योग क्षेत्रको विकासका लागि लघु घरेलु तथा साना उद्योगीहरुको भूमिका महत्वपूर्ण भएको भन्दै उनले मन्त्रालयले वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेको भन्दै सोही अनुरुप साथ दिन महासंघलाई आग्रह गरे । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले संघीय संरचना अनुरुप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुृमा गर्न आवश्यक देखिएको बताए ।
विगतमा तीन तहकै सरकार संचालनका क्रममा भोगेका अनुभवहरुको आधारमा औद्योगिक व्यवसाय ऐनमा समसामयिक परिमार्जनको आवश्यकता रहेको उनले बताए । स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुहरु आम जनमानस तथा विदेशी पर्यटकहरुले खरीद गर्न परेमा एकै थलोमा नपाइने हुनाले उपभोक्ताहरु भौतारिनु पर्ने अवस्थाको अन्त्यका लागि स्वदेशी वस्तुहरु मात्र रहने गरी केन्द्रीय स्तरमा एउटा अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन उनले अनुरोध गरे ।
स्वदेशमै उपलब्ध हुन सक्ने वस्तु पनि विदेशबाट आयात गर्ने परिपाटीले स्वदेशी उद्योगका उत्पादनहरुले बजार नपाइरहेकोले हाम्रा उद्योगहरु धराशायी हुँदै गइरहेकाले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । लघु, घरेलु तथा साना उद्योग दर्ता र नविकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्ट्रार समेतमा कागजात र राजश्व बुझाउनु पर्ने झण्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै यसलाई एकद्वार प्रणालीमार्फत दर्ता र नविकरण गर्ने व्यवस्था गर्नुपर्ने अध्यक्ष सिंहको भनाई छ ।
प्रतिक्रिया