मौद्रिक आधार के हो ?

मौद्रिक आधार के हो ?


काठमाडौं – कुनैपनि देशभित्र कारोबार (प्रचलन) मा रहेको र ‘रिजर्भ’मा रहेको कूल पैसा नै मौद्रिक आधार हो। प्रचलनमा रहेको भन्नाले सर्वसाधारणले राखेको र प्रयोग गरिरहेको रकम हो। मौद्रिक आधारलाई सामान्य भाषामा भन्दा ‘रिजर्भ’ पैसा पनि भनिन्छ ।

समग्रमा वाणिज्य बैंकको पैसा र केन्द्रीय बैंकको पैसालाई मौद्रिक आधार भनिन्छ। अर्को भाषामा भन्नुपर्दा वाणिज्य बैंकमा संकलन निक्षेपहरू र केन्द्रीय बैंकमा विभिन्न संस्थाहरूद्वारा भण्डारमा राखिएको कुनै पनि पैसा नै मौद्रिक आधार हो। राष्ट्रको पैसा आपूर्तिका लागि पनि मौद्रिक आधारको भूमिका महत्वपूर्ण रहन्छ। जसले नोटहरू, सिक्काहरू र बैंकमा संकलन भएका निक्षेपहरूसहित अत्याधिक तरल कोषहरूलाई जनाउँछ। जसबाट केन्द्रीय बैंकले वाणिज्य बैंकहरुबाट बन्ड खरिद गर्न नयाँ कोष सृजना गर्छ ।

तर मौद्रिक आधार मुद्रा आपूर्तिभन्दा फरक हो। यसमा केन्द्रीय बैंक भित्र वाणिज्य बैंकको भण्डारण अंशको अतिरिक्त चलनमा रहेको मुद्राको कूल आपूर्ति समावेश हुन्छ। मौद्रिक आधारलाई प्रणालीमा निर्भर गर्दै ‘एम ०’, ‘एम वान्’, ‘एम टु’, ‘एम थ्रि’का रुपमा विभाजन गरिएको छ। एम वान् मुद्रा आपूर्तिको एक मापन हो जसमा भौतिक मुद्रा र रिजर्भहरूमा रहेका मुद्रा समावेश रहेका हुन्छन्।

यो उपायले ‘डिमान्ड डिपोजिट’हरुको गणना गर्छ। एम टु पैसा आपूर्तिको गणना हो। एम टुले बचतमा संकलन भएका निक्षेपहरू, धितोहरू, म्युचुअल फण्डहरू र अन्य निक्षेपहरूलाई जनाउँछ। एम थ्रि पैसा आपूर्तिको मापन हो। जसमा ठूला–समय निक्षेपहरू, संस्थागत फण्डहरू, छोटो अवधिको पुनः खरिद सम्झौताहरू (रिपो), र ठूला तरल सम्पत्तिहरू समावेश हुन्छन् ।

यसरी हुन्छ गणना
व्यक्तिसँगको सबै रकमको हिसाबकिताब नआउने भनिएपनि राष्ट्र बैंकले हरेक व्यक्तिसँग भएको रकमको लेखाजोखा राखेको हुन्छ। केन्द्रीय बैंकले विभिन्न देशबाट विदेशी मुद्रा ल्याएको खण्डमा, राष्ट्रले नोट निष्कासनको अनुमति दिएको खण्डमा, सरकारले राष्ट्र बैंकबाट सापटी लिएको खण्डमा र वाणिज्य बैंकहरुले सापटी मागेको खण्डमा आफूबाट नोट निष्कासन गर्ने गर्छ र केन्द्रीय बैंकले छापेको सबैजसो नोटको हिसाब राखेकै हुन्छ ।

केन्द्रीय बैंकले नोट निष्कासन गरेको मध्येबाट वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको भल्टमा रहेको रकम र केन्द्रीय बैंकको बैंकिङ्ग ‘ट्राजेक्सन’का लागि संकलन रकम घटाउँदा बजारमा रहेको रकमको हिसाब किताब निकाल्छ ।